दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो, १७७ को मृत्यु भएको पुष्टि 

पुस १४, २०८१

कान्तिपुर संवाददाता

'Black box' of crashed South Korean passenger plane found, 177 confirmed dead

काठमाडौँ — दक्षिण कोरियाको यातायात मन्त्रालयले आइतबार आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त यात्रुवाहक विमानबाट दुवै ‘ब्ल्याक बक्स’ सुरक्षित निकालेको जनाएको छ । ‘ब्ल्याक बक्स’ विमान उडानका समय भएका गतिविधिहरूको रेकर्ड गर्ने उपकरण हो । 

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले स्थानीय टेलिभिजनलाई दिएको जानकारीमा ‘दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडानसम्बन्धी तथ्यांक (डाटा) र भ्वाइस रेकर्डर दुवै भेटिएका’ बताएका छन् । 

विमानमा १७३ दक्षिण कोरियाली र दुई थाइल्याण्डका नागरिकसहित १७५ यात्रु रहेका थिए भने छ जना चालक दलका सदस्य थिए । 

दुर्घटनाग्रस्त विमान राजधानी सियोलबाट करिब २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समयअनुसार आइतबार बिहान ९:०७ बजे दुर्घटनाग्रस्त भएको थियो । थाइल्याण्डको बैंककबाट उडेको जेजु एयरको विमान ७सी२२१६ रनवेबाट चिप्लिँदा धावनमार्गको बाहिरी भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । 

विमानमा सवार १८१ जनामध्ये ३३ र २५ वर्षका दुई जना चालक दलका सदस्यबाहेक सबैको मृत्यु भएको अनुमान गरिएको छ । अहिलेसम्म १ सय ७७ जनाको शव भेटिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जसमध्ये ५७ जनाको पहिचान भइसकेको छ । 

अग्नि नियन्त्रक अधिकारीहरूले चरा ठोक्किएर विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् । पहिलो अवतरण प्रयासपछि, विमान अवतरण गियरको अनुमानित खराबीको कारण विमानले पुनः आकाशमा फर्किएको र दोस्रो अवतरण प्रयास ‘बेली–ल्यान्डिंग’को साथ गरिएको थियो । 

स्थानीय टेलीभिजनले प्रशारण गरेको एउटा फुटेजमा बोइङ ७३७–८०० विमानबाट कालो धुवाँको मुस्लो निस्केको देखिएको छ । अर्को फुटेजमा विमानको दायाँ पखेटामा रहेको इन्जिनमा अवतरण गर्नुअघि आगोको ज्वालासहितको धुवाँ निस्किरहेको देखिएको छ । 

यातायात मन्त्रालयले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन समय लाग्न सक्ने बताएको छ ।

कान्तिपुर

Link copied successfully