भारतका वित्तीय सुधारकको 'मौन प्रस्थान'

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षमा निधन 

पुस १२, २०८१

बुद्धिसागर मरासिनी

'Silent departure' of India's financial reformer

काठमाडौँ — भारतका पूर्वप्रधानमन्त्री तथा अर्थशास्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री र त्यसअघि अर्थमन्त्री रहेका सिंह भारतमा उदारीकरण र आर्थिक सुधारहरूका योजनाकार मानिन्छन् । 

सिंहको भारतीय समयअनुसार बिहीबार राति ९.५१ बजे उपचारका क्रममा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा निधन भएको हो । घरमै बेहोस भएका सिंहलाई उपचारका लागि एम्स पुर्‍याइएको थियो । 

'उहाँमा उमेरसँग सम्बन्धित चिकित्सकीय समस्याहरू देखिएपछि उपचार भइरहेको थियो र सन् २०२४ डिसेम्बर २६ मा घरमा अचानक बेहोस हुनभएको थियो,' एम्सले भनेको छ, 'त्यसलगत्तै उहाँलाई निको पार्न घरमै प्रयास गरिएपनि सम्भव नभएपछि एम्सको इमर्जेन्सीमा ल्याइएको थियो ।'  तर विभिन्न प्रयासका बाबजुद सिंहलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंह भारतकै 'सबैभन्दा प्रतिष्ठित नेता' भएको जनाउँदै उनको निधनमा देशले शोक व्यक्त गरेको जनाएका छन् । 'भारतका प्रधानमन्त्रीको रूपमा उहाँले जनताको जीवनस्तर सुधार्न व्यापक प्रयास गर्नुभयो,' मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 

पूर्वप्रधानमन्त्री राजीव गान्धीकी छोरी तथा भारतीय कंग्रेस पार्टीकी सदस्य प्रियंका गान्धीले सिंह 'अन्तसम्म साँच्चै समतावादी, बुद्धिमान्, दृढ इच्छाशक्ति र साहसी' नेता भएको जनाएकी छन् । कंग्रेस नेता तथा प्रियंकाका भाई राहुलले 'एक गुरु र मार्गदर्शक गुमाएको' जनाएका छन् । 

सिंह जवाहरलाल नेहरू पछि पहिलो कार्यकाल पुरा गरेर पुन: निर्वाचित हुने भारतका पहिलो प्रधानमन्त्री हुन् । उनी भारतमा शीर्ष पदमा पुग्ने सिख समुदायका पहिलो नेतासमेत हुन् । उनले तीन हजार सिखहरूले ज्यान गुमाएको सन् १९८४ को दंगाका लागि संसदमा सार्वजनिक माफीसमेत मागेका थिए । 

सिंहको दोस्रो कार्यकाल भने भ्रष्टाचारका कारण निकै विवादित बनेको थियो । कतिपयले सन् २०१४ को आमचुनावमा उनको कंग्रेस पार्टीको हारका लागि उनको कार्यकाल जिम्मेवार रहेको बताउने गरेका छन् । 

सन् १९३२ सेप्टेम्बर २६ मा विभाजन हुनुअघिको पञ्जाब प्रान्तको गाह (हालको पाकिस्तान) मा जन्मिएका हुन् सिंह । १९४७ मा भारत र पाकिस्तान विभाजित भएसँगै उनको परिवार भारतको हल्दवानी सरेको हो । तर १९४८ मा सिंहको परिवार अमृतसर सर्‍यो । 

सिंहले पञ्जाब विश्वविद्यालयबाट सन् १९५२ मा स्नातक र १९५४ मा स्नातकोत्तर सके । त्यसपछि उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे । त्यसपछि भारत फर्केर केही समय शिक्षक बनेका सिंह १९६० मा अक्सफोर्ड विश्विद्यालय पुगे र १९६२ मा बिद्याबारिधी सके । 

त्यसलगत्तै भारत फर्केर पञ्जाब विश्विद्यालयमा पढाउन सुरू गरेका सिंह प्राध्यापक भए । सन् १९६६ देखि तीन वर्ष उनले संयुक्त राष्ट्रसंघ अन्तर्गत काम गरे । १९६९ देखि दुई वर्ष उनी दिल्ली विश्वविद्यालयमा अन्तर्राष्ट्रिय व्यापारका प्राध्यापक थिए । 

त्यसपछि भारतीय अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार, अर्थ सचिव बनेका सिंह भारतीय रिजर्भ बैंकका गभर्नर भए । त्यसपछि तीन वर्ष कामको सिलसिलामा विदेशमा रहेका सिंह १९९० मा भारतीय प्रधानमन्त्री चन्द्र शेखरको आर्थिक सल्लाहकार बने । 

भारतीय राजनीतिमा भने सिंहको प्रवेश सन् १९९१ मा भएको हो । सन् १९९१ जुनमा भारतका प्रधानमन्त्री पीभी नरसिंह रावले सिंहलाई अर्थमन्त्रीमा चयन गरे । तर उनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका बेला भारतको आर्थिक अवस्था भने निकै खराब थियो । 

१९९१ मा भारतको बजेट घाटा कुल ग्राहस्थ उत्पादनको ८ दशमलव ५ प्रतिशत थियो । भुक्तानी सन्तुलन नकारात्मक थियो भने चालू खाता जीडीपीको ३ दशमलव ५ प्रतिशत नजिक थियो । त्यस्तै, विदेशी मुद्रा सञ्चिति मुश्किलले एक अर्ब अमेरिकी डलर मात्र थियो । जुन त्यतिबेलाको अवस्थामा २ साताका लागि मात्र आयत धान्न प्रर्याप्त थियो । 

सिंहले प्रधानमन्त्री र पार्टीलाई भारतले अभूतपूर्व संकटको सामना गरिरहेको बताए । पी. चिदम्बरम र सिंहले अर्थतन्त्रको विनियमन आवश्यक भएको बताए । तर पार्टीको नेतृत्व पंक्तिले विरोध गर्‍यो । तर राव भने त्यसमा सकारात्मक देखिए । 

उनले महत्वाकांक्षी र अभूतपूर्व आर्थिक सुधारका कार्यक्रम अघि सारे । कर कटौती गरे र भारतीय रुपैयाँको अवमूल्यन गरे । राज्यद्वारा सञ्चालित कम्पनीहरूलाई निजीकरण गरे र विदेशी लगानीलाई प्रोत्साहित गरे ।सन् १९९० को दशकमा भारतीय अर्थतन्त्र पुनर्जीवित भयो । ‍औद्यौगिक गतिबिधिमा बढोत्तरी भयो, मुद्रास्फीति नियन्त्रणमा आयो र आर्थिक वृद्धिदर बढ्यो । 

मनमोहन सिंह आफ्नो राजनीतिक आधारको अभावबारे भने सधैं सचेत थिए । ‘राजनेता बन्नु राम्रो कुरा हो, तर लोकतन्त्रमा राजनीतिज्ञ हुनका लागि सबैभन्दा पहिले चुनाव जित्नुपर्छ,’ उनले एकपटक भनेका थिए । तर उनी सन् १९९९ मा भारतको तल्लो सदनमा चुनाव जित्ने प्रयास गर्दा पराजित भए । त्यसपछि आफ्नै पार्टीले रोजेको माथिल्लो सदनमा बसे । उनी १९९८ देखि २००४ सम्म भारतीय जनता पार्टि सत्तामा रहेका बेला उनी माथिल्लो सदन राज्यसभामा भारतीय कंग्रेसको नेता थिए । 

सन् २००४ मा पनि जनताबाट निर्वाचित हुने उनको प्रयास असफल भयो । तर उक्त निर्वाचनमा कंग्रेस विजयी भएसँगै कंग्रेस अध्यक्ष सोनिया गान्धीले प्रधानमन्त्री पद अस्वीकार गरिन् । खासगरी इटालियन मूलकी भएको भन्दै आफूमाथि विपक्षीहरूले आक्रमण गर्ने डरले गान्धीले प्रधानमन्त्री पद अस्वीकार गरेकी थिइन् । 

त्यससँगै गान्धीले प्रधानमन्त्रीका रूपमा सिंहलाई अघि सारिन् । त्यसैले सिंहलाई 'एक्सिडेन्टल' प्रधानमन्त्री समेत भन्ने गरिन्छ । आलोचकहरूले गान्धीले शक्ति अभ्यास गरेकी र सिंह वास्तविक प्रधानमन्त्री नभएको बताउने गरेका छन् । 

तर प्रधानमन्त्रीको रूपमा सिंहले अर्थमन्त्री पी. चिदम्बरमसँग मिलेर भारतीय अर्थतन्त्र तीव्र गति दिए । सन् २००७ मा कुल ग्राहस्थ उत्पादन ९ प्रतिशतले बढ्यो र भारत विश्वको दोस्रो तीव्र आर्थिक बृद्धि हुने राष्ट्र बन्यो ।

सन् २००९ मा सिंह दोस्रोपटक प्रधानमन्त्री बने । तर उनका मन्त्रीहरू संलग्न भएका विभिन्न घोटालाहरू सार्वजिनक भए । विपक्षीद्वारा संसद अवरुद्ध भयो र भारत गम्भीर आर्थिक मन्दीमा फस्यो । विपक्षी दल भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीले सिंहलाई भारतको 'कमजोर प्रधानमन्त्री' भने ।

तर मनमोहन सिंहले आफ्नो बचाउ गर्दै सरकारले 'देश र जनताको हितका लागि अत्यन्त प्रतिबद्धता र समर्पणका साथ काम गरिरहेको' बताए । तर थोरै बोल्ने सिंहको शान्त व्यवहारले धेरै प्रशंसकहरूको मन जित्यो ।

सिंहले 'स्थायी दुस्मन' पाकिस्तानसँग शान्ति प्रक्रिया जारी राखे । चीनसँगको सीमा विवाद अन्त्य गर्ने प्रयास गरे र ४० वर्षभन्दा बढी समयदेखि बन्द रहेको तिब्बतमा नाथुला नाका खोल्ने सम्झौता गरे । उनले अफगानिस्तानको लागि आर्थिक सहयोग बढाए र झण्डै ३० वर्षमा देशको भ्रमण गर्ने पहिलो भारतीय नेता बने । त्यस्तै, भारतको पुरानो सहयोगी इरानसँगको सम्बन्ध तोडेको देखाएर धेरै विपक्षी राजनीतिज्ञहरूलाई रूष्ट बनाए । 

नेपालको राजनीतिक मामिलामा पनि सिंह विर्सन नसकिने पात्र हुन् । उनी प्रधानमन्त्री भएकै बेला नेपालका प्रमुख दल र तत्कालीन विद्रोही माओवादीबीच भारतको राजधानी नयाँदिल्लीमा १२ बुँदे सम्झौता भयो । सम्झौतापछि सुरू आन्दोलनले नै नेपालमा राजसंस्था अन्य भएको हो ।

सन् १९८७ मा भारतकै दोस्रो सर्वोच्च नागरिक सम्मान प्राप्त गरेका सिंहका श्रीमती गुरशरण कौर र तीन छोरी छन् ।

बुद्धिसागर मरासिनी मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully