दक्षिण कोरिया बन्यो ‘सुपर एज्ड’ समाज

२० प्रतिशत अर्थात् १ करोड २ लाख कोरियाली ६५ वर्ष वा सोभन्दा माथिको उमेरका

पुस १०, २०८१

प्रविना पौडेल

South Korea has become a 'super aged' society

काठमाडौँ — कुल जनसंख्याको २० प्रतिशत मानिस ६५ वर्ष वा त्यो भन्दा बढी उमेर समूहका भएसँगै दक्षिण कोरिया ‘सुपर एज्ड’ समाज बनेको छ । आन्तरिक तथा सुरक्षा मन्त्रालयको तथ्यांकअनुसार एक करोडभन्दा बढी कोरियाली ‘सुपर एज्ड’ समूहमा छन् । 

हरेक पाँच जनामा एक जना बुढ्यौली समूहका रहेको आधिकारिक तथ्यांक सार्वजनिक भएसँगै दक्षिण कोरिया गम्भीर जनसांख्यिक संकटमा फसेको देखिएको छ । कोरियाको जनसंख्या ५ करोड १० लाख छ । यसको २० प्रतिशत अर्थात् १ करोड २ लाख जनता ६५ वर्ष वा त्यसभन्दा माथिका छन् । २२ प्रतिशत महिला र १८ प्रतिशत पुरुष ६५ वर्ष वा त्योभन्दा बढी उमेरका छन् । 

संयुक्त राष्ट्रसंघले कम्तीमा ७ प्रतिशत जनता ६५ वर्ष वा त्योभन्दा बढी उमेरका रहेको देशलाई कुनै पनि देशलाई ‘एजिङ’ समाजको वर्गमा राखेको छ । त्यस्तै, उक्त समूहको जनसंख्या १४ प्रतिशत भएमा ‘एज्ड’ र २० प्रतिशतभन्दा धेरै भएमा ‘सुपर एज्ड’ समाजमा वर्गीकरण गरेको छ । 

दक्षिण कोरियामा पछिल्ला वर्षहरूमा ६५ वर्ष वा त्यो भन्दा बढी उमेर समूहका जनताको संख्या बर्सेनि बढ्दै आएको छ । सन् २००८ मा यो उमेर समूहका मानिस कुल जनसंख्याको १० प्रतिशत थिए । सन् २०१९ मा १५ प्रतिशत नाघेको थियो र, यस वर्षको सुरुआतमा १९ दशमलव ५ प्रतिशत पुगेको थियो । जुन अहिले बढेर २० प्रतिशत भएको हो । 

दक्षिण कोरियामा मात्र नभई पछिल्लो समय पूर्वी एसियाली अधिकांश राष्ट्रहरु गम्भिर जनसांख्यिक संकटमा फसेको तथ्यांकहरूले देखाएका छन् । राष्ट्रसंघका अनुसार ६५ वर्ष वा त्योभन्दा बढी उमेरका मानिसको संख्या अन्य उमेरका मानिसको तुलनामा तीव्र गतिमा बढ्दैछ । 

सन् २०२२ मा ६५ वर्ष वा त्यो भन्दा बढी उमेर समूहका मानिस विश्व जनसंख्याको १० प्रतिशत थियो । सन् २०५० सम्ममा त्यस्तो संख्या १६ प्रतिशत पुग्ने राष्ट्रसंघको अनुमान छ । सन् २०५० सम्ममा विश्वभर यो उमेर समूहका मानिस ५ वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या भन्दा दोब्बर पुग्ने प्रक्षेपण गरिएको छ । 

त्यस्तै, विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा विश्वभर प्रत्येक ६ जनामा एक जना ६० वर्ष वा त्यो भन्दा बढी उमेर समूहका हुनेछन् । सन् २०५० सम्ममा यस्तो संख्या दोब्बर हुनेछ । साथै, ८० वर्ष वा त्यो भन्दा बढी उमेर समूहको जनसंख्या तीन गुणाले वृद्धि हुने अनुमान संगठनको छ ।   

संगठनका अनुसार धेरै युरोपेली देशहरूमा पनि यस्तो समस्या देखिन थालेको छ । तर ती देशहरू आप्रवासनमा निर्भर छन् । आप्रवासनमा निर्भर नरहेका दक्षिण कोरिया, जापान र चीनजस्ता राष्ट्रहरूमा भने काम गर्ने जनशक्ति कम हुँदा भयावह समस्या आउने देखिएको छ । 

पछिल्लो समय दक्षिण कोरियामा जन्मदर निकै न्यून छ । सन् २०२३ मा दक्षिण कोरियाको जन्मदर ० दशमलव ७२ मा झर्यो । यो विश्वकै सबैभन्दा कम जन्मदर हो । विज्ञहरूका अनुसार कार्यस्थलको दबाबपूर्ण संस्कृति, स्थिर तलब, महँगी, विवाह र लैंगीक समानतासम्बन्धी बदलिँदो दृष्टिकोण र युवा पुस्तामा बढ्दो निराशा जनसख्या घट्नुका प्रमुख कारण हुन् ।  

त्यसका साथै, आर्थिक कारणले पनि जनसंख्या घटेको जनाएको थियो । त्यसलाई समाधान गर्न कोरिया सरकारले ठूलो पैसासमेत खर्च गर्ने गरेको छ । तर त्यसले पनि सोचेअनुसारको नतिजा नदेखिएको कोरियाली अधिकारीहरूको भनाइ छ । 

दक्षिण कोरिया सरकारले सन् २०२२ मा सरकारले जनसंख्या बढाउनका लागि विगत १६ वर्षमा २ सय अर्ब डलर खर्च गरेको जनाइएको छ । उक्त रकम बाबुआमालाई आर्थिक सहयोग दिने, भत्ता वितरण गर्ने, सुत्केरी बिदा बढाउने, पुरुषलाई घरायसी काम र बालबच्चाको हेरचाहमा लगाउने अभियान लगायतमा खर्च गरिएको थियो । 

दक्षिण कोरिया सरकारले जनसांख्यिक संकट समाधान गर्न अन्य प्रयास पनि गरिरहेको छ । राष्ट्रपति युन सुक यओलले गत मे महिनामा संसद्मा‌ संम्बोधन गर्दै कोरिया ‘राष्ट्रिय संकट’बाट गुज्रिरहेको र त्यसको समाधान गर्न नयाँ मन्त्रालय स्थापना गर्न आव्हान गरेका थिए ।

बुढ्यौलीको मात्र होइन, पछिल्लो समय कोरियामा एक्लोपन पनि राष्ट्रिय समस्या नै बनेको छ । हरेक वर्ष आफ्नो घरपरिवार, आफन्त र साथीहरूबाट अलग भएका हजारौं दक्षिण कोरियालीहरू एक्लै मर्ने गरेका छन् । कतिपय अवस्थामा त मृतकहरूको शव फेला पार्न पनि केही सातासम्म लाग्ने गरेको जनाइएको छ । 

हालै सार्वजनिक एक अध्ययनअनुसार सन् २०२२ मा २ लाख ४४ हजार मानिस एक्लै रहने/बस्ने गरेको देखिएको थियो । त्यसरी बस्ने गरेकामध्ये अघिल्लो वर्ष ३ हजार ६ सय ६१ जनाले एक्ले मृत्युवरण गरेका थिए । कोरियाली स्वास्थ्य तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार २०२२ मा त्यस्तो संख्या ३ हजार ५ सय ५९ र २०२१ मा ३ हजार ३ सय ७८ थियो । गत वर्ष एक्लै मृत्युवरण गरेकामध्ये ८४ प्रतिशत पुरुष रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये आधाभन्दा बढी ५० र ६० को दशकका पुरुषहरू छन् ।

एक्लोपनको समस्या पनि सरकारका लागि निकै चुनौतीपूर्ण बन्दै गएको छ । करिब दुई महिनाअघि राजधानी सोललाई ‘कोही पनि एक्लो नहुने सहर बनाउन’ अधिकारीहरूले पाँच वर्षका लागि ४५१.३ अर्ब वन (३२ करोड ७० लाख अमेरिकी डलर) विनियोजन गरिएको जनाएका थिए । 

यसअन्तर्गत २४ सै घण्टा हटलाइनमा ‘एक्लोपन परामर्शदाता’ उपलब्ध गराइने र एक्लो रहेका व्यक्तिहरूलाई भेट्ने परामर्शदाताको पनि व्यवस्था गरिएको छ । अधिकारीहरूले एक्लोपनको समस्यामा परेका मानिसहरूलाई निको पार्ने र समाजमा फर्कन मद्दत गर्ने अपेक्षा राखेका छन् ।

मध्यम उमेरका र बुढ्यौलीमा रहेका नागरिकका लागि विस्तारित मनोवैज्ञानिक सेवा र पोषणयुक्त भोजन उपलब्ध गराउने र हरियालीजन्य क्षेत्रको विकास गरिने जनाइएको छ । त्यसका साथै एक्लै रहने/बस्ने नागरिकलाई पहिचान गर्न खोजी प्रणालीको व्यवस्था गर्ने र मानिसहरूलाई बाहिर उद्यम गर्न र समुदायमा अन्य मानिसहरूसँग घुलमिलको वातावरण बनाउन बगैंचा, खेलकुद, पुस्तक क्लब लगायतको पनि व्यवस्था गरिने जनाइएको छ ।

पछिल्लो समय दक्षिण कोरियामा बढी भए पनि यो समस्या अन्य देशमा पनि देखिएको छ । जापानी भाषामा ‘हिकीकोमोरी’ भनिने यस्तो अवस्था जापानमा सन् २०२१ मा पहिलोपटक पहिचान भएको थियो । त्यसको अर्को वर्ष जापान सरकारले २४ सै घण्टा परामर्श सेवा तथा सामाजिक कार्यको विस्तारका लागि मन्त्रालयको व्यवस्था गरेको थियो ।

त्यस्तै, बेलायतलगायत देशहरूले पनि एक्लोपनसम्बन्धी मन्त्री नै नियुक्त गर्ने गरेका छन् । अमेरिका सन् २०२३ मा एक्लोपन आफैंमा महामारीका रूपमा रहेको चेतावनी दिइएको थियो । विश्व स्वास्थ्य संगठनले पनि २०२३ मा एक्लोपनविरुद्ध लड्न एक आयोग गठन गरेको थियो । तर भौतिकवादी जीवनशैलीका कारण  एक्लोपनको समस्या समाधान गर्न भने कठिन रहेको विज्ञहरू बताउँछन् । 

(एजेन्सीहरूको सहयोगमा)

प्रविना प्रविना कान्तिपुरकी मल्टीिमिडिया रिपाेर्टर हुन् । उनी युवा पुस्ता, प्रविधी र मनाेस्वास्थ्यका बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully