काठमाडौँ — केही महिनायता अचाक्ली सम्पत्ति वृद्धि भएर ५ खर्ब अमेरिकी डलर आसपास पुगेका विश्वकै धनी टेक खर्बपति इलन मस्कको राजनीतिक प्रभाव पनि अकासिएको छ । नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उनले डोनाल्ड ट्रम्पलाई शक्तिशाली रूपमा व्हाइट हाउस फर्काउन उल्लेख्य भूमिका खेलेका थिए ।
अब उनलाई अमेरिकी तल्लो सदन कङ्ग्रेसको सभामुख बनाउनुपर्ने चर्चा जीओपी भनिने रिपब्लिकन पार्टी वृत्तमा बाक्लै चल्न थालेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । अमेरिकी संविधानमा संसद्को तल्लो सदनमा सभामुख हुन सांसद हुनैपर्ने प्रावधान राखिएको छैन ।
जर्जिया राज्यकी प्रभावशाली रिपब्लिकन सांसद मर्जोरी टेलर ग्रीनले मस्कको लागि संसदको सभामुख पद उत्तम उरहेको र कुरा मिलेमा आफू त्यसबारे सोच्न तयार रहेको प्रतिकृया एक्समा पोस्ट गरेकी थिइन् । राष्ट्रपति ट्रम्पले यसअघि नै घोषणा गरेको सरकारको प्रभावकारिता बढाउने मन्त्रालयभन्दा सभामुख पद मस्कका लागि बढी उपयुक्त भएको उनको भनाइ छ । अहिलेका सभामुखलाई हटाउन यसअघि नै प्रयास गरिसकेकी ग्रीनले मस्कको सभामुख नियुक्तीबारे एक्समा राखेको पोलमा झन्डै ५२ हजारले कमेन्ट गरेका छन् ।
मस्कलाई सभामुख बनाउनको प्रस्तावमा मिश्रित प्रतिक्रियाहरू देखिएका छन् । टेक्ससका रिपब्लिकन सांसद टोनी गोन्जालेसले त मस्कले बोल्ने आवाज धेरै हदसम्म जनताको आवाजको प्रतिबिम्ब भएको बताउँदै आएका छन् ।गोन्जालेसजस्ता मस्कको समर्थन गर्ने धेरैले उनलाई वासिङ्टनमा नयाँ दृष्टिकोण ल्याउनसक्ने एक विद्रोही शक्तिका रूपमा हेर्छन् । आलोचकहरूले भने यस कदमले मस्कका व्यापारिक चासो र राजनीतिक भूमिकाबीच स्वार्थको द्वन्द्व निम्तिन सक्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् ।
मस्कको राजनीतिक प्रभाव केबल आर्थिक सहयोग र सामाजिक सञ्जालमा मात्र सीमित छैन । पछिल्ला दिनमा उनलाई सञ्चार माध्यम र राजनीतिक अभियानका बलिया हस्ती जर्ज सोरोससँग तुलना गर्न थालिएको छ ।
तर उनका समर्थकहरूले मस्कको दृष्टिकोण फरक भएको र उनले प्राविधिक उन्नति र आर्थिक वृद्धिमा मात्र केन्द्रित रहेर काम गर्न खोजेको बताउने गरेका छन् । पछिल्लो प्रस्ताव अहिलेलाई हल्लाकै रूपमा रहे पनि मस्कको सभामुख बन्नसक्ने सम्भावनाले उनको अकासिँदो राजनीतिक शक्ति देखाउँछ । ट्रम्पको निर्वाचनपछि उनका मुख्य राजनीतिक भेटघाट र नीतिनिर्माणमा सधैं उपस्थित हुने र बाक्लो उठबस भएका देखिने मस्कलाई ट्रम्पले सभामुखका रूपमा अघि सारे आश्चर्य नहुने विशलेषकहरू बताउँछन् ।
सन् २००८ मा तत्कालीन राष्ट्रपति बाराक ओबामा निर्वाचित हुने बेला घोषित रूपमै डेमोक्र्याटहरूलाई सघाउने र चन्दा दिएका मस्क त्यसको केही समयसम्म पनि उदार आर्थिक र राजनीतिक नीतिको समर्थक थिए । सन् २०१६ मा ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि उनले रिपब्लिकन मुद्दाहरूको समर्थन शुरू गरेका थिए । सन् २०२२ मा ट्वीटर खरीद गरेपछि मस्कले खुल्ला रूपमै ट्रम्प र उनीजस्ता कट्टरपन्थी रिपब्लिकनहरूका दृष्टिकोणको प्रचार गर्न थालेका हुन् ।
अमेरिकी नवनिर्वाचित संसद्को पहिलो बैठकमा सभामुखबारे छिनोफानो हुनुपर्ने प्रावधान छ । ट्रम्पकी नातिनी काइ ट्रम्पले आफ्नो पारिवारिक जमघट र माहोलमा इलनलाई 'काका'को मान्यता पाएको भनेर व्याख्या गरेकी छन् । उनको राजनीतिक यात्रा नवनिर्वाचित राष्ट्रपतिको पदभार ग्रहणपछि कता सोझिन्छ भन्नेमा धेरैको चासो देखिन्छ ।
