युद्धविराम र बन्दी आदानप्रदानसम्बन्धी धेरैजसो बुँदामा सहमति भइसकेको हमासको भनाइ
काठमाडौं — करिब १५ महिनायता युद्धरत इजरायल र हमासबीचको युद्धविराम वार्ता हालसम्मकै निकट पुगेको जनाइएको छ । शनिबार हमास र दुई अन्य प्यालेस्टिनी लडाकु समूहहरूले इजरायलसँगको गाजा युद्धविराम सम्झौताका लागि 'पहिले भन्दा नजिक' पुगेको जनाएका हुन् । इजरायलले नयाँ सर्तहरू अघि नसारेको खण्डमा युद्धविराम हुने उनीहरूको भनाइ छ ।
हमास, प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) र वामपन्थी पपुलर फ्रन्ट फर लिबरेसन अफ प्यालेस्टाइन (पीएफएलपी)ले संयुक्त विज्ञप्ति जारी गर्दै 'शत्रुले नयाँ सर्तहरू नलगाएको खण्डमा युद्धविराम र कैदी आदानप्रदान सम्झौता टुंगोमा पुग्ने सम्भावना पहिलेभन्दा नजिक पुगेको' जनाएको छ ।
समाचार संस्था एएफपीका अनुसार हमासका एक नेताले हालका दिनहरूमा युद्धविराम वार्तामा 'महत्त्वपूर्ण प्रगति भएको' जनाएका छन् । ‘युद्धविराम र बन्दी आदानप्रदानका विषयमा धेरैजसो बुँदामा सहमति भइसकेको छ,’ एएफपीसँग उनले भनेका छन् । 'तर केही विषय भने समाधान हुन बाँकी छन् । तर तिनीहरूले युद्धविरामका लागि बाधा पुर्याउँदैनन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबाट नयाँ सर्तहरू नआएको खण्डमा यसवर्षको अन्त्यअघि नै सम्झौतालाई अन्तिम रूप दिन सकिन्छ,' ती हमास नेताले भनेका छन् ।
केही साता यता अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा भएका वार्ताहरू सकारात्मक देखिएका थिए । गत साता तीन देशको मध्यस्थतामा कतारको दोहामा इजरायल र हमासबीच भएको अप्रत्यक्ष वार्ताले सहमतिको आशा जगाएको हो । गत बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले युद्धविराम सम्झौताका लागि आफू आशावादी रहेको बताएका थिए । तर सम्झौता कहिले हुन्छ भनेर अनुमान गर्न भने नसक्ने उनको भनाइ थियो । 'म सम्भाव्यता के हुन्छ भनेर अनुमान लगाउन भने चाहन्न,' उनले भनेका थिए ।
त्यस्तै, उनले बन्धकहरूको रिहाका लागि पनि युद्धविराम सम्झौता आवश्यक भएको बताएका थिए । 'यो हुनुपर्छ । यो हुनु आवश्यक पनि छ । हामीले मानिसहरूलाई घर पुर्याउन आवश्यक छ ।' यसअघि गत अक्टोबर मध्यमा भएको वार्ताले कुनै सम्झौता गर्न असफल भयो, हमासले छोटो अवधिको युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको थियो । तर पछिल्लो वार्ता भने इजिप्टको कायरोमा भएको हो ।
हमासले शनिबार सामाजिक सञ्जाल टेलिग्राममा विज्ञप्ति सार्वजनिक गर्दै पीआईजे र पीएफएलपीका प्रतिनिधिहरूसँग शुक्रबार कायरोमा बैठक गरेको जनाएको हो । त्यसलगत्तै दुई पक्षबीच वार्ता भएको हो । एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीसँग पनि गाजा युद्धविराम र इजरायल र हमासबीच बन्धक रिहाई सम्झौतामा पुग्न विषयको वार्ता ९० प्रतिशत पूरा भएको जनाएका छन् । तर केही मुख्य मुद्दाहरू बाँकी रहेका उनको भनाइ छ ।
त्यसको अर्थ, फिलाडेल्फी करिडोरमा इजरायली सेनाको उपस्थिति के हुने भन्ने विषयका कारण सहमति हुन नसकेको जनाइएको छ । फिलाडेल्फि करिडोर इजिप्ट र दक्षिणी गाजाको सीमामा पर्ने रणनीतिक रूपमा महत्त्वपूर्ण भूमि हो । उक्त क्षेत्र हाल इजरायली सेनाको नियन्त्रणमा रहेको छ । 
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बारम्बार फिलाडेल्फी करिडोरबाट इजरायली सेना फिर्ता गर्न नचाहेको बताउँदै आएका छन् । त्यस्तै, युद्धपछिको गाजाको शासनको विषयका कारण पनि सम्झौता टुंगोमा पुग्न नसकेको बताइएको छ । प्यालेस्टिनी नेतृत्वमा समेत यो मुद्दा निकै विवादास्पद बनेको छ । इजरायली अधिकारीहरूले पनि त्यस क्षेत्रमा सैन्य उपस्थिति कायम रहने बताएका छन् ।
यी मुद्दाहरू समाधान भएपछि युद्धविराम सम्झौता हुने र तीन चरणमा कार्यान्वयन हुने बताइएको छ । पहिलो चरणमा रिहा गरिने प्रत्येक महिला सैनिकका लागि २० प्यालेस्टिनी कैदीहरूको आदानप्रदान समावेश हुनेछ । कैदीहरूको नाममा सहमति हुन बाँकी छ तर इजरायलमा २५ वर्ष वा सोभन्दा बढी जेल सजाय भोगिरहेका करिब ४ सय जनाबाट छानिनेछ । यसमा वरिष्ठ फतह नेता मारवान बारघौटी भने समावेश नहुने ठानिएको छ । इजरायली बन्धकहरूलाई विभिन्न चरणमा रिहा गरिने जनाइएको छ ।
त्यस्तै, इजिप्ट र कतारको निगरानी प्रणालीअन्तर्गत उत्तरी गाजा क्षेत्रका सर्वसाधारणहरू घर फर्कन पाउनेछन् । ती क्षेत्रमा प्रतिदिन करिब ५ सय ट्रकले सहायता सामग्री पुर्याउने समेत जनाइएको छ । अन्तिम चरणमा १४ महिना लामो युद्धको अन्त्य हुने र गाजा क्षेत्रलाई यसअघि कुनै पनि राजनीतिक आवद्धता नभएका विज्ञहरूको एक कमिटिले निरीक्षण गर्ने जनाइएको छ ।
प्यालेस्टिनी सशस्त्र समूह हमासले सन् २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि गाजा क्षेत्रमा युद्ध चर्केको हो । हमासको आक्रमणमा करिब १ हजार २ सय जनाको ज्यान गएको थियो । त्यसका साथै, हमासले इजरायली भूमिबाट २ सय ५१ जनालाई अपहरण गरेर लगेको थियो ।तीमध्ये सय भन्दा बढी बन्धक वार्ताका रिहा गरिएको छ भने केहीलाई इजरायली सेनाले मुक्त गरिसकेको छ । ९६ जना भने अझै हमासको नियन्त्रणमै छन् । तीमध्ये ६२ जना जीवितै रहेको इजरायली अधीकारीहरूको अनुमान छ । 
१४ महिना लामो युद्धका क्रममा गाजामा कम्तीमा ४६ हजार जनाले ज्यान गुमाइसकेका छन् । गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार मारिनेमध्ये अधिकांश महिला र बालबालिका छन् । १ लाख ७६ हजार भन्दा बढी घाइते भइसकेका छन् । करिब ११ हजार हराइरहेका जनाइएको छ ।
अस्पताल, विद्यालयलगायत गाजाका अधिकांश संरचना ध्वस्त भएका छन् । गाजा क्षेत्रका कम्तीमा ५० प्रतिशत आवासीय घर ध्वस्त भएका छन् भने करिब २० लाख जना विस्थापित भएको जनाइएको छ । अन्तर्राष्ट्रिय मानवअधिकार समूहहरूले इजरायलले गाजामा नरसंहार गरेको आरोप लगाउँदै आएका छन् ।
अतिक्रमित वेस्ट ब्यांकमा ८ सय १७ जना मारिएका छन् भने ६ हजार २ सय सय ५० घाइते भएका छन् । इजरायलतर्फ ज्यान गुमाउनेको संख्या ११ सय ३९ पुगेको छ भने ८ हजार ७ सय ३० घाइते भएका जनाइएको छ । गाजामा युद्ध सुरू भएसँगै हमासलाई लेबनानको लडाकु समूह हेजबुल्लाहले सहयोग गरेको थियो । जसका कारण इजारायल र हेजबुल्लाहबीच पनि युद्ध चर्केको थियो । तर दुई पक्षबीच भने गत नोभेम्बर २७ मा युद्धविराम भइसकेको छ ।
अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुने उल्लेख छ । त्यस्तै, इजरायल र हेजबुल्लाहलाई लेबनान र इजरायलबीचको अनौपचारिक सीमा ‘ब्लु लाइन’ र लिटानी नदीबाट करिब ३० किलोमिटरभित्रको क्षेत्रबाट आफ्ना लडाकु तथा हातहतियार हटाउन दुई महिनाको समय दिइएको छ ।
(एजेन्सीहरूको सहयोगमा)
