काठमाडौँ — दक्षिण कोरियाले युक्रेनविरुद्धको लडाइँमा उत्तर कोरियाका १ सय जना सैनिक मारिएको दाबी गरेको छ । दक्षिण कोरियाका एक सांसदले रुसको तर्फबाट युक्रेनविरुद्धको युद्ध लड्ने क्रममा कम्तीमा उत्तर कोरियाका सय सैनिक मारिएको दाबी गरेका हुन् ।
दक्षिण कोरियाका सांसद ली सुङ क्वोनले पत्रकारहरूसँग राष्ट्रिय जाँच एजेन्सीले संसद्लाई यसबारेमा जानकारी दिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । सांसद क्वोनले युद्धका क्रममा १ हजारभन्दा बढी उत्तर कोरसियाली सैनिक घाइते भएको समेत दाबी गरेका छन् । मारिनेमा उत्तर कोरियाली सेनाका वरिष्ठ अधिकारीसमेत रहेको उनको भनाइ छ ।
हालै प्रकाशित एक रिपोर्टका अनुसार युक्रेनविरुद्ध रुसबाट युद्धमा उत्तर कोरियाका १० हजारभन्दा बढी सैनिक सहभागी रहेको दाबी गरिएको थियो । यद्यपि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
युक्रेनविरुद्धको लडाइँमा रुसी सेनाका तर्फबाट विभिन्न देशका नागरिक सहभागी छन् । केही समयअघि भारतले रुसी सेनामा सहभागी भएका २ जना आफ्ना नागरिकको मृत्यु भएको बताएको थियो । भारतीय विदेश मन्त्रालयले रुसी सेनामा भारतीय नागरिकको भर्तीमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
रुसी सेनामा ठूलो संख्यामा नेपाली नागरिक भर्ती भएका छन् । रुसी सेनामा भर्ती भई युक्रेनविरुद्धको युद्धमा होमिएका नेपालीको यकिन तथ्यांक सरकारसँग छैन । त्यहाँ गएका नेपालीहरूका अनुसार करिब १५ सय सेनामा भर्ना भएको अनुमान छ । जसमध्ये ४६ नेपालीको ज्यान गएको परराष्ट्र मन्त्रालयले पुष्टि गरिसकेको छ । लोकेन्द्रजस्तै सम्पर्कविहीन भएका १ सय १८ जनाका परिवारले खोजबिनका लागि कन्सुलर विभागमा निवेदन दिएका छन् ।
नेपाल सरकारको पहलपछि रुसले नेपालीलाई भर्ना गर्न छाडेको परराष्ट्रको दाबी छ । त्यसयता करार नवीकरण गर्न नचाहनेका लागि रुसी सरकारले नीति खुकुलो बनाएको छ । करारपत्र रद्द गरेर नेपाली युवा युक्रेनको युद्धग्रस्त क्षेत्रबाट रुसको राजधानी मस्को फर्कन थालेका छन् ।
