रुसले आवश्यक परे शक्तिशाली नयाँ क्षेप्यास्त्र प्रयोग गर्छ : पुटिन

मंसिर ८, २०८१

एजेन्सी

Russia Will Use Powerful New Missiles If Necessary: ​​Putin

मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशसँग दुश्मनविरूद्ध प्रयोग गर्नका लागि शक्तिशाली नयाँ क्षेप्यास्त्रहरू तयारी अवस्थामा रहेको बताएका छन् । रुसले युक्रेनको डिनिप्रो क्षेत्रमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट पुटिनले चेतावनीमूलक अभिव्यक्ति दिएका हुन् ।

एक टेलिभिजन सम्बोधनमा पुटिनले युक्रेनमा 'ओरेश्निक' क्षेप्यास्त्र प्रहार गरको जनाउँदै त्यसलाई निस्तेज बनाउने कुनै उपाय नभएको दाबी गरेका छन् । यसअघि युक्रेनले रुसविरुद्ध अमेरिका र बेलायतमा निर्मित क्षेप्यास्त्र प्रयोग गरेको थियो । त्यसपछि चर्किएको रुस–युक्रेन युद्ध रुसले 'ओरेश्निक' क्षेप्यास्त्र प्रहार गरेसँगै केही मत्थरजस्तो देखिएको बीबीसीले जनाएको छ । 

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पुटिनका कदमबारे गम्भीर जवाफ दिन विश्व नेताहरूलाई आह्वान गरेका छन् । उनको देशले पश्चिमा साझेदार देशहरूसँग परिस्कृत रक्षा प्रणालीहरू माग गरिरहेको उनले बताएका छन् । 

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसविरुद्ध 'गम्भीर प्रतिक्रिया जनाउन' विश्व नेताहरूलाई आह्वान गरेका छन् । पुटिनलाई उनको कार्यको वास्तविक परिणाम महसुस गराउनुपर्ने जेलेन्स्कीको भनाइ छ । जेलेन्स्कीका अनुसार युक्रेनले पश्चिमी साझेदारहरूसँग अद्यावधिक रक्षा प्रणालीको माग गरेको छ । 

समाचार संस्था इन्टरफ्याक्सका अनुसार किभले यूएस टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) प्राप्त गर्न वा आफ्नो प्याट्रियट एन्टी-बलिस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई अद्यावधिक गर्न खोजिरहेको छ । शुक्रबारको सम्बोधनमा पुटिनले ओरेश्निक हाइपरसोनिक क्षेप्यास्त्र आवाजको १० गुणा गतिमा उडेको र यसको थप उत्पादनका लागि आदेश दिएको बताए । युक्रेनले रुसमा स्ट्रोर्म स्याडो र एट्क्याम्पस क्षेप्यास्त्र प्रयोग गरेको र त्यसको प्रतिक्रियामा ओरेश्निक क्षेप्यास्त्र हानेको पुटिनको भनाइ छ । 

रुसले प्रहार गरेको क्षेप्यास्त्र 'सिडर' भएको युक्रेनको दाबी छ । तर विज्ञहरूले उक्त कुरा अस्वीकार गरेका छन् । पुटिनले ओरेश्निक मध्यम दूरीको क्षेप्यास्त्र भएको बताएका छन् । यस्ता क्षेप्यास्त्रको क्षमता १ हजारदेखि ५५ सय किलोमिटरसम्म हुन्छ । यो हतियार मस्को इन्स्टिट्यूड अफ थर्मल टेक्नोलोजी (एमआईटी) ले बनाएको हुनसक्ने ठानिएको छ । रुसमा यस्ता क्षेप्यास्त्र मेकेयेभ रकेट सेन्टर र एमआईटीले बनाउने गरेका छन् । 

बीबीसीका अनुसार मेकेयेभले तरल इन्धनबाट चल्ने क्षेप्यास्त्रहरू बनाउँछ । विशेष संरचनाबाट प्रक्षेपण गरिने यस्ता क्षेप्यास्त्रहरूले निकै लामो दूरीसम्म प्रहार गर्न सकिन्छ । मस्को इन्स्टिच्युट अफ थर्मल टेक्नोलोजीले भने साना क्षेप्यास्त्रहरू बनाउँदै आएको छ । त्यस्ता क्षेप्यास्त्रमा ठोस इन्धनबाट चल्ने इन्जिन जडान गरिएको हुन्छ । त्यसका साथै, यस्ता क्षेप्यास्त्र एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने लञ्चरहरूबाट प्रक्षेपण गर्न मिल्छ । 

एजेन्सी

Link copied successfully