भारतीय अर्बपति अडानीमाथि अमेरिकामा दायर मुद्दा के हो ? 

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीनिकट गौतम अडानीविरुद्ध २५ करोड अमेरिकी डलर घूस दिने योजना बनाएको आरोप

मंसिर ६, २०८१

कान्तिपुर संवाददाता

What is the lawsuit against Indian billionaire Adani in America?

काठमाडौँ — भारतीय अर्बपति तथा अडानी ग्रुपका मालिक गौतम अडानीलाई घुस तथा धोखाधडीको योजनामा संलग्न रहेको अभियोगमा अमेरिकामा मुद्दा दायर गरिएको छ । अडानीविरुद्ध २५ करोड अमेरिकी डलर बराबरको घुस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोपमा न्यूयोर्कमा अभियोगपत्र दर्ता गरिएको हो । 

उनी र उनका भतिज सागर अडानीसहितका ७ जनामाथि सौर्य उर्जा प्लान्ट परियोजना निर्माणको ठेक्का हात पार्न भारतका सरकारी अधिकारीलाई घुस दिन सहमति जनाएको अभियोग लगाइएको हो । नवीकरणीय उर्जासम्बन्धी अडानीको कम्पनीले उक्त परियोजनाबाट २० वर्षको अवधिमा २ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा कमाउने अपेक्षा गरिएको थियो । 

अडानी र उनको अडानी ग्रीन इनर्जी कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृत विनित जैन मिलेर भ्रष्टाचारका कुरा गोप्य राख्दै अमेरिकी फर्म लगायतका लगानीकर्ताबाट ३ अर्ब डलर लगानी उठाएको समेत अभियोगपत्रमा  उल्लेख छ । 

अडानीको कम्पनीका कार्यकारीहरूले आफ्नो समूहका घुसविरोधी नीति तथा घुससम्बन्धी अनुसन्धानका प्रतिवेदनका नक्कली कागजात पेस गरेर अमेरिकीसहित विभिन्न फर्मबाट ३ अर्ब डलर बराबरको कर्जा र बन्डहरू उठाएको अभियोजनकर्ताहरूको दाबी छ । यसबारे अडानी समूहले भने हालसम्म कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ । 

६२ वर्षे अडानीले बन्दरगाह र विमानस्थल निर्माण तथा सञ्चालनदेखि नवीकरणीय ऊर्जाको विस्तारसम्म व्यापार– व्यवसायको साम्राज्य खडा गरेका छन् । विभिन्न कम्पनीहरूलाई संलग्न गरी अमेरिकामा चलिरहेको अडानी ग्रीन एनर्जी सन् २०२३ देखि शंकाको घेरामा रहँदै आएको छ । अमेरिकाले सन् २०२२ देखि अडानीको कम्पनीमाथि अनुसन्धान सुरु गरेको थियो । 

अडानी समूहले जालसाजी गरेको आरोप लगाउँदै न्यूयोर्कस्थित उच्च प्रतिष्ठित कम्पनी हिन्डेनबर्ग रिसर्चले प्रतिवेदन सार्वजनिक गरेपछि समूहमाथि शंका उत्पन्न भएको थियो । प्रतिवेदनमा गरिएका दाबीहरूलाई अडानीले अस्वीकार गरेका थिए । 

उक्त प्रतिवेदन सार्वजनिक भएसँगै अडानी ग्रुपको सेयर र अन्य कारोबारमा ठूलो गिरावट आएको थियो । हिन्डेनबर्गले सार्वजनिक गरेको रिपोर्टको जवाफमा अडानी ग्रुपले ४ सय १३ पेजको खण्डन प्रकाशन गरेको थियो । त्यसपछि दुई पक्षबबीच वाकयुद्ध नै चलेको थियो । खण्डनमा अडानी समूहले हिन्डेनबर्गलाई ‘म्याड्स अफ म्यानह्याटन’ भन्दै कम्पनीको रिपोर्टलाई ‘भारत, यसको स्वतन्त्रता, अखण्डता एवं आर्थिक वृद्धि तथा महत्त्वाकांक्षा माथिको नियोजित आक्रमण’ भनेको थियो ।

कतिपयले भारतको आर्थिक वृद्धिको ‘मोदी मोडल’ को अडानीले प्रतिनिधित्व गरेका र हिन्डेनबर्गको प्रतिवेदनले ‘कुलीन वर्ग र पक्षपाती लोकतान्त्रिक शक्तिबीचको साँठगाँठलाई नाफामा बदल्ने अडानी ग्रुपको अभियानमा धक्का पुर्‍याएको’ बताएका थिए । 

अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी हुन् । लामो समयदेखि मोदीसँगको राजनीतिक सम्बन्धबाट अडानीले फाइदा लिएको भारतका विपक्षी राजनीतिज्ञहरूको आरोप छ । तर ती आरोपलाई उनले खण्डन गर्दै आएका छन् । 

अडानीले एकपटक अपहरणमा परी फिरौती तिरेर बाँचेको बताउने गरेका छन् । त्यसका साथै, सन् २००८ नोभेम्बर २६ को ताज आक्रमणमा पर्दा बेसमेन्टमा लुकेर बाँच्न सफल भएको उनको दाबी छ । अडानीले गत साता सामाजिक सञ्जालमार्फत नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका थिए । त्यस्तै, उनले अमेरिकामा १० अर्ब डलर बराबरको लगानी गर्ने वाचासमेत गरेका थिए ।

कान्तिपुर

Link copied successfully