अस्ट्रेलियाकी सांसदले चार्ल्सलाई भनिन्, ‘तपाईं हाम्रो राजा होइन’ 

कार्तिक ५, २०८१

एजेन्सी

Australian MP tells Charles, 'You are not our king'

क्यानबेरा — बेलायती राजा चार्ल्स तृतीय हाल अस्ट्रेलिया भ्रमणमा छन् । आइतबार अस्ट्रेलिया पुगेका उनले भ्रमणको दोस्रो दिनमा भने नसोचेको व्यवहारको सामना गर्नुपरेको छ । राजा चार्ल्सले सोमबार बिहान अस्ट्रेलियाको संसद्लाई सम्बोधन गर्ने कार्यक्रम थियो ।

११ मिनेट लामो सम्बोधन सक्ने बित्तिकै माथिल्लो सदन सिनेटकी एक सदस्यले चार्ल्स अस्ट्रेलियाको राजा नभएको भन्दै चिच्चाइन् । ‘दिस इज नट योर ल्यान्ड । यू आर नट माइ किङ । (यो तपाईंको भूमि होइन, तपाईं हाम्रो राजा होइन),’ भिक्टोरिया राज्यबाट निर्वाचित सिनेट सदस्य लिडिया थोर्पले चार्ल्सलाई भनिन् । 

अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संसद् भवनमा भएको समारोहमा करिब एक मिनेट आफ्ना असन्तुष्टि पोख्दै चिच्याएपछि आदिवासी सांसदलाई सुरक्षाकर्मीले संसद् भवनबाहिर निकालेका थिए । 

त्यसअघि राजा चार्ल्स र रानी क्यामिलालाई स्वागत गर्ने आदिवासी अगुवा आन्टी भायोलेट सेरिडनले भने थोर्पको विरोध अपमानजनक भएको बताएकी छन् । थोर्पलाई सुरक्षाकर्मीले भवनबाहिर निकालेलगत्तै स्थिति सामान्य बन्यो र शाही दम्पतीले आफूहरूलाई स्वागत गर्न बाहिर पर्खिरहेका सयौं मानिसलाई भेट्न अगाडि बढे ।Australian MP tells Charles, 'You are not our king'

अस्ट्रेलिया राष्ट्रमण्डलको एक देश हो र त्यहाँ राजाले राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्छन् । तर अस्ट्रेलियामा हालै राजालाई भूमिकाबाट हटाउनेबारे बहस सुरू भएको छ । भिक्टोरिया राज्यबाट स्वतन्त्र रूपमा सिनेटरमा निर्वाचित थोर्पले अस्ट्रेलिया सरकार र यसका आदिवासीबीचको सन्धिको वकालत गर्नेहरूमध्ये एक हुन् । 

चार्ल्सलाई विरोध जनाएपछि थोर्पले बीबीसीसँग आफूले राजालाई स्पष्ट सन्देश दिन चाहेको प्रतिक्रिया दिएकी छन् । ‘सार्वभौम हुनका लागि तपाईं कुनै भूमिको हुनुपर्छ,’ उनले भनिन्, ‘यो उनको देश होइन ।’ 

राजाले आदिवासीसँग शान्ति सन्धिबारे छलफल गर्न संसदलाई निर्देशन दिनुपर्ने थोर्पको भनाइ छ । ‘हामीले त्यसको नेतृत्व गर्न सक्छौं, हामी त्यो गर्न सक्छौं, हामी राम्रो देश बन्न सक्छौं । तर सामूहिक हत्या र सामूहिक नरसंहारका लागि जिम्मेवार रहेका उपनिवेशकर्ताका पुस्तासँग हामी झुक्न सक्दैनौं,’ थोर्पले भनेकी छन् । 

बिग्रँदो स्वास्थ्य, सम्पत्ति र शिक्षाका कारण अस्ट्रेलियामा आदिवासी र अन्य नागरिकबीचको असमानता कसरी सम्बोधन गर्ने भन्नेबारेमा लामो समयदेखि बहस जारी छ । गत वर्ष ‘भ्वाइस’ भनेर चिनिने आदिवासी जनजातिलाई बृहत्तर राजनीतिक अधिकार र मान्यता दिने सम्बन्धमा भएको जनमतसंग्रह अस्वीकृत भएको थियो । Australian MP tells Charles, 'You are not our king'

ग्रीन्सको सदस्यका रूपमा संसद्‌मा निर्वाचित भएकी थोर्पले भ्वाइसको समर्थनका लागि पार्टी छाडेकी थिइन् । उनले विगतमा पनि आदिवासीको पक्षमा बाह्य दुनियाको ध्यान आकर्षित गर्ने विरोध प्रदर्शनहरू गरेकी थिइन् । 

थोर्पको विरोधका बावजुद अस्ट्रेलियालीहरू भने शाही परिवारलाई भेट्न पाएर खुसी देखिन्थे । उनीहरू क्यानबेराको घाममा अस्ट्रेलियाको झण्डा फहराउँदै संसद् भवनबाहिर बिहानै लामबद्ध थिए । 

त्यसमध्येकी २० वर्षीया जेमी कार्पासले भनेकी छिन्, ‘म धेरै उत्साहित छु । मलाई लाग्छ शाही परिवार अस्ट्रेलियाको संस्कृतिको हिस्सा हो । तिनीहरू हाम्रो जीवनको ठूलो हिस्सा हुन् ।’ तर संसद् भवनअगाडि सानो संख्यामा असन्तुष्ट व्यक्तिहरू पनि भेला भएका थिए ।

आइतबार अस्ट्रेलिया पुगेका राजारानीलाई विभिन्न राजनीतिज्ञ, विद्यार्थी र आदिवासी जनजातिको प्रतिनिधि नगुन्नवाल एल्डर आन्टी सेरेना विलियम्सले स्वागत गरेका थिए । बेलायती राजदरबार बकिङ्घम प्यालेसले भने थोर्पको विरोधबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन । 

अस्ट्रेलियाले राजतन्त्रबाट छुट्टिएर गणतन्त्र बन्ने विषयमा लामो समयदेखि बहस गर्दै आएको छ । तर १९९९ को जनमतसंग्रहमा जनताले त्यसलाई अस्वीकार गरिदिएका थिए । तर पछिल्लो समय प्रधानमन्त्रीमा एन्थोनी अल्बानिजीको प्रवेश भएसँगै यो मुद्दा बलियो भएको ठानिएको छ । 

एजेन्सी

Link copied successfully