जापानमा अक्टुबर २७ मा आम निर्वाचन

मंगलबार संसद्‌बाट प्रधानमन्त्रीमा अनुमोदन हुने सत्तारुढ दलका प्रमुख सिगेरु इसिबाद्वारा चुनाव घोषणा

आश्विन १४, २०८१

एजेन्सी

General election in Japan on October 27

काठमाडौँ — जापानको सत्तारुढ दलको नयाँ नेतामा निर्वाचित भएको तीन दिनपछि सिगेरु इसिबाले निर्वाचनको घोषणा गरेका छन् । जापानी सञ्चार माध्यमहरूका अनुसार उनले अक्टुबर २७ का लागि निर्वाचन घोषणा गरेका हुन् ।

६७ वर्षीय इसिबाले शुक्रबार लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) प्रमुखको रूपमा निवर्तमान प्रधानमन्त्री फुमियो किसिदालाई प्रतिस्थापित गरेका थिए । एलडीपीको बहुमत रहेको संसद्ले उनलाई मंगलबार प्रधानमन्त्रीमा अनुमोदन गर्दैछ । 

समाचार संस्था रोयटर्सका अनुसार चुनाव घोषणाका विषयमा इसिबाले ‘नयाँ प्रशासनले जनताका लागि जतिसक्दो चाँडो कार्य गर्न महत्वपूर्ण भएको’ बताएका छन् । एक वर्ष अगावै हुन लागेको निर्वाचनले जापानी संसद्को तल्लो सदनमा कुन दलको नियन्त्रण गर्ने भन्ने निर्णय गर्नेछ ।

यसअघि इसिबाले सरकार र पार्टी पदाधिकारीहरू चयन गरेका थिए । उनले प्रभावशाली पूर्व प्रधानमन्त्रीहरू तारो आसोलाई सल्लाहकार र योसिहिदे सुगालाई पार्टीको उपप्रमुख चयन गरेका छन् । 

इसिबाले शुक्रबार नेतृत्वको दौडमा रहेका लोकप्रिय प्रतिद्वन्द्वी सिन्जिरो कोइजुमीलाई पनि चुनावी रणनीतिकारको नेतृत्व गर्न आग्रह गरेका छन् । तर उनले शुक्रबारको चुनावमा पराजित कट्टरपन्थी महिला रूढिवादी सानई ताकाइचीलाई कुनै जिम्मेवारी दिएका छैनन् । 

शुक्रबार पार्टी नेतृत्वमा विजयी भएपछि इसिबाले जापानको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने, सुरक्षा खतराहरूलाई सम्बोधन गर्ने र एलडीपीलाई सफा गर्ने बताएका थिए । पछिल्लो समय एलडीपी विभिन्न सार्वजनिक घोटाला र आन्तरिक द्वन्द्वको विवादमा तानिएको छ । 

त्यस्ता घोटालाहरूमध्ये जापानको विवादास्पद युनिफिकेशन चर्चले एलडीपीलाई पारेको प्रभाव र पार्टीका गुटहरूलाई गरिएको सहयोग मुख्य छन् । विभिन्न घोटालाहरूको बावजुद एलडीपी जापानमा अधिकांश समय शासन गर्ने सबैभन्दा लोकप्रिय राजनीतिक दल हो 

पछिल्लो विवादले ठूलो जनआक्रोश निम्तिएपछि तत्कालीन प्रधानमन्त्री किसिदाको राजनीतिक करिअर नै धरापमा परेको हो । जसका कारण गत अगष्टमा उनले एलडीपीको नेतृत्वका लागि पुनः प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए । ‘एलडीपी प्रमुखका लागि हुने आगामी चुनावमा जनतालाई नेतृत्व परिवर्तन हुनेछ भनेर देखाउन आवश्यक छ,’ त्यतिबेला उनले भनेका थिए । 

एजेन्सी

Link copied successfully