दिल्लीकी नवनियुक्त मुख्यमन्त्री आतिशीले लिइन् शपथ

आश्विन ५, २०८१

एजेन्सी

Delhi's newly appointed Chief Minister Atishi took oath

नयाँदिल्ली — भारतको दिल्ली राज्यकी नवनियुक्त मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिएकी छन् । आतिशीले दिल्लीस्थित राज निवासमा शनिबार आयोजित समारोहमा पद तथा गोपनियताको शपथ लिएकी हुन् । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गत मंगलबार पदबाट राजीनामा दिएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्रीमा चयन गरेको थियो । उनी पार्टीको विधायक दलको बैठकबाट मुख्यमन्त्रीमा सर्वसम्मत भएकी थिइन् । 

आतिशी  दिल्लीकी तेस्राे महिला मुख्यमन्त्री हुन् । यसअघि  दिल्लीमा सुष्मा स्वराज र शिला  दिक्षित मुख्यमन्त्री भएका  थिए । ४३ वर्षीया अतिशी  दिल्लीकी सबैभन्दा कम उमेरकी मुख्यमन्त्री समेत हुन् । यसअघि केजरीवाल ४५ वर्षको उमेरमा मुख्यमन्त्री भएका थिए । 

मुख्यमन्त्री केजरीवाल जेलमा रहेका बेला आतिशीले सरकारको मुख्य 'पोर्टफोलियो' सम्हालेकी थिइन् । शिक्षासमेत मुख्य विभाग सम्हालेकी आतिशीलाई केजरीवालको विश्वासपात्रका रूपमा हेरिन्छ । 

कथित दिल्ली मदिरा भ्रष्टाचार प्रकरणमा जेल परेका केजरीवाल सर्वोच्च अदालतको आदेशपछि रिहा भएलगत्तै राजीनामाको घाेषणा गरेका थिए । केजरीवालले आइतबार दिल्लीमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनभित्र राजीनामा दिने र जनताले ‘इमान्दारीको प्रमाणपत्र’ नदिएसम्म मुख्यमन्त्रीको पदमा नफर्कने बताएका  थिए । 

भारतीय जनता पार्टी (भाजपा) ले भने केजरीवालको राजीनामालाई ‘प्रचारबाजी’ काे संज्ञा दिएको छ । दिल्लीमा आगामी फेब्रुअरीमा विधानसभा चुनाव हुँदै छ ।

एजेन्सी

Link copied successfully