राष्ट्रपतिको शपथग्रहणमा सहभागी भई तेहरानस्थित पूर्वसैनिक अधिकारी बस्ने भवनमा रहेका बेला हानियामाथि क्षेप्यास्त्र प्रहार
काठमाडौँ — प्यालेस्टिनी पूर्वप्रधानमन्त्री तथा हमास नेता इस्माइल हानिया इरानी राजधानी तेहरानमा मारिएका छन् । उनी ६२ वर्षका थिए । प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्ना प्रमुख नेता हानिया तेहरानको एक आक्रमणमा मारिएको पुष्टि गरेको छ । आक्रमणमा हानियाका एक अंगरक्षक पनि मारिएको इरानको रेभलुस्नरी गार्ड कोर्प्सले जनाएको छ ।
त्यस्तै साउदी सञ्चारमाध्यम ‘अल हदत’ ले हानियाको हत्याका लागि ‘निर्देशित क्षेप्यास्त्र’ (गाइडेड मिसाइल) प्रहार भएको जनाएको छ । हानिया बसेको तेहरानस्थित भवनमा स्थानीय समयअनुसार बिहान २ बजे उक्त क्षेप्यास्त्र प्रहार गरिएको अल हदतमा प्रकाशित समाचारमा उल्लेख छ । इरानी रेभलुस्नरी गार्डसँग आबद्ध ‘फार्स न्युज’ का अनुसार आक्रमणका बेला हानिया तेहरानको उत्तरी क्षेत्रमा पूर्व सैनिकहरू बस्ने भवनमा थिए । हानियाको मृत्यु ‘आकाशबाट आएको क्षेप्यास्त्र’ का कारण भएको फार्स न्युजले जनाएको छ ।
हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको शपथग्रहण समारोहमा सहभागी हुन इरान गएका थिए । उक्त समारोह मंगलबार भएको थियो । हानियाले मंगलबार नै इरानी सर्वोच्च नेता खामनेई र राष्ट्रपति पेजेस्कियानसँग भेटवार्ता गरेका थिए । त्यस्तै उनले तेहरानस्थित संसद् भवनको भ्रमणका क्रममा विभिन्न सांसदहरूलाई पनि भेटेका थिए ।
मंगलबार इरानी सर्वोच्च नेता खामनेईसँग भेटवार्ताका क्रममा हानियालगायत ।
हमासले विज्ञप्ति जारी गर्दै उनको हत्या इजरायलले गरेको दाबी गरेको छ । हमासले हानिया ‘छलकपटपूर्ण यहुदी आक्रमण’ मा मारिएको जनाएको छ । हमासको राजनीतिक विभागका उपाध्यक्ष मुसा अबु मार्जुकले आक्रमणलाई ‘कायर कार्य’ को संज्ञा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् । त्यस्तै, हमासका अर्का नेता समी अबु जुहरीले हमास आफ्नो उद्देश्यमा अडिग रहिरहेको बताएका छन् । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले पनि हानियाको हत्याको निन्दा गरेका छन् । उनले प्यालेस्टिनीहरूलाई ‘इजरायलले अतिक्रमण गरे पनि एकजुट, धीर र कटिबद्ध’ रहन आग्रह गरेका छन् । अब्बास नेतृत्वको प्यालेस्टिनी प्राधिकरणले हाल ‘वेस्ट ब्यांक’ मा शासन गरिरहेको छ ।
तर ‘वेस्ट बैंक’ को अधिकांश क्षेत्र भने इजरायल प्रशासित छ । हानियाको हत्यापछि इरानले इजरायललाई गम्भीर चेतावनी दिएको छ । इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामनेईले ‘हानियाको हत्याको प्रतिशोध लिनु तेहरानको कर्तव्य भएको’ बताएका छन् । इजरायलले दण्ड पाउने काम गरेको उनको भनाइ छ । त्यस्तै, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले ‘इजरायललाई पछुतो लाग्ने बनाउने र इरानले आफ्नो भूमिको अखण्डता, प्रतिष्ठा र सम्मानको प्रतिरक्षा गर्ने’ उनको भनाइ छ । पेजेस्कियानले ‘हानिया एक साहसी नेता’ भएको बताएका समाचार संस्था एएफपीले जनाएको छ । इरानी विदेश मन्त्रालयले हानिया एक ‘स्वाभिमानी योद्धा’ भएको बताउँदै उनको बलिदान खेर नजाने जनाएको छ । उनको मृत्युबारे इरानले अनुसन्धान गरिरहेको बताउँदै विदेश मन्त्रालयका प्रवक्त नासेर कनानीले इरान र प्यालेस्टिनीहरूबीच गहिरो र अटुट सम्बन्ध रहेको बताए । रुस र टर्कीले पनि आक्रमणको निन्दा गरेका छन् ।
इजरायलले भने उक्त घटनाको जिम्मेवारी लिइसकेको छैन । इजरायली सेनाले विदेशी सञ्चारमाध्यममा आएका समाचारका विषयमा कुनै पनि प्रतिक्रिया नदिने बताएको छ । यसअघि इजरायली उच्च अधिकारीहरूले ‘हमासलाई निमिट्यान्न पार्ने’ बताउँदै आएका थिए । हमासले गत वर्ष असोज २० (अक्टोबर ७) मा इजरायलविरुद्ध इतिहासकै भयानक आक्रमण गरेको थियो । आक्रमणमा १ हजार २ सय जना तत्काल मारिएका थिए भने सय जनाभन्दा बढीले आक्रमणको केही दिनमा ज्यान गुमाएका थिए ।
आक्रमणपछि हमासले २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै क्रुद्ध इजरायलले हमासविरुद्ध सुरु गरेको आक्रमण हालसम्म जारी छ । अक्टोबर ७ यताको इजरायली आक्रमणमा करिब ४० हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ । मारिएकामध्ये अधिकांश महिला र बालबालिका भएको हमासद्वारा गाजामा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हरकत अल–मुक्वामा अल–इस्लामिया (हमास) प्यालेस्टिनी विद्रोही समूह हो । इजरायलको अस्तित्व नामेट पार्नुपर्ने बताउँदै आएको हमासले २००७ यता गाजापट्टीमा शासन गर्दै आएको छ । २३ लाख मानिसको बसोबास रहेको गाजापट्टी इजरायल, इजिप्ट र भूमध्यसागरबीचको ४१ किलोमिटर लामो र ६ देखि १२ किलोमिटर चौडा क्षेत्र हो । गाजाको आकाश (हवाई क्षेत्र) र समुद्री तटमाथि भने इजरायलको नियन्त्रण छ ।
इजरायल र इजिप्टले सन् २००७ यता गाजापट्टीमाथि नाकाबन्दी गर्दै आएको छ । सन् १९८७ को आन्दोलनका क्रममा शेख अहमद यासिनले गठन गरेको हमास प्यालेस्टाइनबाट इजरायललाई धपाउन चाहन्छ । इजरायललाई देशका रूपमा मान्यता नदिने हमासले प्यालेस्टाइनमा स्वतन्त्र इस्लामिक राज्य स्थापनाको लक्ष्य लिएको छ । हमासले १९८८ मा जारी गरेको बडापत्रमा यहुदी समुदाय र इजरायललाई पूर्ण रूपमा नष्ट गरेर मात्रै हमासको अन्त्य हुने उल्लेख गरिएको थियो । त्यसयता हमासले कैयौं पटक इजरायलसँग लडाइँ गरिसकेको छ ।
इजरायली विदेशमन्त्री इजरायल काट्जले भने आफ्नो देशले युद्ध नचाहेको प्रतिक्रिया दिएका छन् । ‘इजरायल युद्धका लागि इच्छुक छैन । तर, त्यसका लागि संयुक्त राष्ट्रसंघको प्रस्ताव नम्बर १७०१ लागू गर्नुपर्छ,’ उनले भने । २००६ को लेबनान युद्ध अन्त्यका लागि ल्याइएको उक्त प्रस्तावमा हेजबुल्लाहलगायतका हतियारधारी विद्रोही समूहलाई निःशस्त्र बनाउनुपर्ने उल्लेख छ । इजरायलका सम्पदामन्त्री एमिकाई एलियाहुले हानियाको मृत्युको कारण विश्व राम्रो ठाउँ बन्ने दाबी गरेका छन् । ‘संसारबाट फोहोर हटाउने यो उपयुक्त तरिका हो,’ उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन् । चरम दक्षिणपन्थी पार्टीका नेता एलियाहुले ‘शत्रुहरूमाथि काल्पनिक शान्ति वा आत्मसमर्पण सम्झौता’ गर्न नहुने बताएका छन् ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भने आफूलाई ‘मध्यपूर्वमा द्वन्द्व चर्किन्छ भन्ने नलागेको’ बताएका छन् । उनले हानियाको मृत्युका विषयमा सिधा टिप्पणी भने गरेका छैनन् । ‘मलाई युद्ध अवश्यम्भावी छ जस्तो लाग्दैन । कूटनीतिका लागि सधैं स्थान र अवसर हुन्छ जस्तो लाग्छ,’ अस्टिनले भनेका छन् ।
तर हमास नेता हानियाको हत्याका कारण उक्त क्षेत्रमा पूर्ण स्तरको युद्ध सम्भावना देखिएको विश्लेषकहरूको भनाइ छ । जर्जटाउन विश्वविद्यालयमा मध्यपूर्व मामिला विषयका प्राध्यापक नदिर हासिमीले बीबीबीसँग ‘हानियाका कारण सो क्षेत्रमा पूर्ण स्तरको युद्ध फैलिने अभूतपूर्व सम्भावनाको संघारमा पुगेको’ बताएका छन् । पछिल्लो घटनाका कारण पूर्ण रूपमा युद्ध भएको खण्डमा त्यसको असर लेबनानमा पनि पर्ने देखिन्छ । हानियाको हत्या हुनुभन्दा केही घण्टाअघि हेजबुल्लाहका एक वरिष्ठ नेताको लेबनानमा हत्या भएको थियो । इजरायलले राजधानी बेरुतमा गरेको आक्रमणमा हेजबुल्लाह नेता फौद सुकर मारिएको जनाएको हो ।
प्यालेस्टाइनमाथि इजरायलको अमानवीय आक्रमणयता गाजापट्टीमा युद्धविरामका लागि विभिन्न प्रयासहरू हुँदै आएका थिए । तर, युद्धविरामका लागि प्रमुख वार्ताकारमध्येका एक हानियाको हत्याले उक्त क्षेत्रमा तनाव थप गहिरिने निश्चित छ । युद्धविरामका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए । हमास र इजरायलबीच मध्यस्थता गर्दै आएको कतारले पनि हानियाको हत्याले वार्ता प्रक्रियालाई जोखिममा पारेको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । ‘वार्ता जारी रहेका बेला राजनीतिक हत्या र गाजामा नागरिकलाई लक्षित गरी भएका निरन्तरका घटनाले हामीलाई यो प्रश्न सोध्न बाध्य बनाएका छन्– एक पक्षले अर्को पक्षका वार्ताकारको हत्या गर्दा मध्यस्थता कसरी सफल हुन्छ ?’
कतारका प्रधानमन्त्री मोहम्मद विन अब्दुल रहमान विन जसिम अल थानीले भनेका छन् । शान्ति कायम गर्नका लागि दुवै पक्षहरू गम्भीर हुनुपर्ने र मानव जीवनको बेवास्ताविरुद्ध विश्वव्यापी अडान आवश्यक पर्ने थानीको भनाइ छ ।
हानियाको मृत्युलाई कारण देखाउँदै इजरायलले प्यालेस्टाइनमाथिको आक्रमणमा कमी ल्याउने अनुमान पनि गरिएको छ । बेलायतका भूतपूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार लर्ड पिटर रिकिट्सले बीबीसीसँग भनेका छन्, ‘इजरायलले अब हानियाको नेतृत्वलाई ठूलो आघात पुर्याएको भन्न पाउँछ ।’ तर, हमासले भने अब युद्धविराम वार्तालाई प्राथमिकतामा नराख्ने भएकाले त्यो मध्यपूर्वकै लागि निकै खतरनाक अवस्था हुने उनको भनाइ छ ।
को हुन् हानिया ?
सन् २०१७ मे ६ यता हमासको राजनीतिक विभाग प्रमुख रहेका हानियाको पूरा नाम इस्माइल अब्देल सलाम अहमद हानिया हो । उनी अबु अल–अब्द नामले पनि चिनिन्छन् । उनी १९६२ मे ८ मा गाजास्थित साती शरणार्थी शिविरमा जन्मिएका थिए । हानिया १९८३ मा विश्वविद्यालयमा अध्ययन गर्दाको समयमा इस्लामिक विद्यार्थी संगठन हमासमा आबद्ध भएका थिए । इजरायली सैनिकद्वारा पक्राउ परेका हानियाले १९८० को दशकमा कैयौं पटक इजरायली जेल परेका थिए ।
उनी १९८७ मा २५ वर्षको उमेरमा पहिलो पटक १८ दिन जेल परेका थिए । त्यसपछि १९८८ मा ६ महिना जेल बसेका हानिया १९८९ मा तीन वर्षका लागि जेल परे । १९९२ मा उनलाई हमासका धेरै नेताहरूसँगै इजरायल र लेबनानबीचको ‘नो–म्यान्स ल्यान्ड’ का रूपमा रहेको मार्ज अल–जुहुरमा निर्वासनमा पठाइएको थियो । निर्वासन अवधि पूरा गरेपछि उनी गाजा फर्किएका थिए ।
हानिया १९९७ मा हमास संस्थापक शेख अहमद यासिनको कार्यालयका प्रमुख नियुक्त भएका थिए । त्यसपछि उनको राजनीतिक हैसियत उचाइमा पुगेको थियो । २००६ मा हमासले उनलाई प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त गरेको थियो । तर, एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमुद अब्बासले उनलाई पदमुक्त गरिदिएका थिए ।
इज्ज अल–दिन अल–कसम ब्रिगेडले गाजा क्षेत्र नियन्त्रणमा लिएपछि अब्बासको फतह आन्दोलनका प्रतिनिधिहरू निष्कासन भएका थिए । जसका कारण उनले पनि पद गुमाएका थिए । हानियाले आफ्नो बर्खास्ती असंवैधानिक भएको भन्दै आफ्नो सरकारले नियमित कामलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको जिम्मेवारी नछाड्ने बताएका थिए ।
त्यसयता हानियाले फतहसँग मेलमिलापका लागि पटकपटक आग्रह गरेका थिए । अमेरिकी विदेश मन्त्रालयले उनलाई २०१८ मा आतंकवादी घोषणा गरेको थियो । २०१९ मा गाजापट्टी छाडेका हानिया त्यसयता टर्की र कतारमा बस्दै आएका थिए । यसअघि हानियामाथि २००३ मा हत्या प्रयास भएको थियो । हमास संस्थापक यासिन र हानियाबीच गाजामा भइरहेको एक बैठकका क्रममा इजरायली जेटले बम प्रहार गरेको थियो । तर, उक्त आक्रमणमा दुवै नेता बच्न सफल भएका थिए । त्यसको ६ महिनापछि यासिनको हत्या भएको थियो ।
(एजेन्सीको सहयोगमा)
