सन् १९९२ मा आजकै दिन : नेपालमा थाई एयरको विमान दुर्घटना

श्रावण १६, २०८१

कान्तिपुर संवाददाता

On this day in 1992: Thai Air crash in Nepal

काठमाडौँ — सन् १९९२ मा आजकै दिन (जुलाई ३१) मा थाई एयरवेजको विमान नेपालमा दुर्घटना भएको थियो । थाई एयरको ‘एयरबस ए–३१०’ नुवाकोटको घ्याङफेदीमा दुर्घटनामा परेको थियो । 

दुर्घटनामा विमानमा सवार सबै ११३ जनाको ज्यान गएको थियो । तीमध्ये ९९ यात्रु र १४ जना चालक दलका सदस्य थिए । मानवीय क्षतिका आधारमा यो नेपाली आकाशमा भएको दोस्रो ठूलो दुर्घटना हो । १९९२ सेप्टेम्बर २८ मा पाकिस्तान एयरलाइन्सको जहाज ललितपुरको भट्टेडाँडामा ठोक्किँदा १६७ जनाको मृत्यु भएको थियो । 

नेपालमा मानवीय क्षति हुने गरी हालसम्म एक सयभन्दा बढी हवाई दुर्घटना भइसकेका छन् । ती दुर्घटनामा अहिलेसम्म ९ सय ५९ जनाले ज्यान गुमाइसकेका छन् । आन्तरिकतर्फका दुर्घटनामा ज्यान गुमाउनेको संख्या करिब साढे ४ सय छ । त्यस्तै, अन्तर्राष्ट्रिय उडान दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि चार सयभन्दा बढी छ । आन्तरिकतर्फ यती समूहले सञ्चालन गरेका यती एयरलाइन्स र तारा एयरका जहाज सबैभन्दा बढी दुर्घटनामा परेका छन् । 

नेपालमा पछिल्लो पटक गत साउन ९ गते त्रिभुवन विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । दुर्घटनामा क्याप्टेन बच्न सफल भए पनि १८ जनाको ज्यान गएको थियो । विमान चालकको क्षमता वा त्रुटि, विमानस्थलको भौगोलिक अवस्थिति र मौसमलाई नेपालमा हवाई दुर्घटनाका मुख्य कारण मान्ने गरिएको छ ।

कान्तिपुर

Link copied successfully