हत्या प्रयासबाट जोगिए अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प

पेन्सिलभेनियामा र्‍यालीलाई सम्बोधन गरिरहेका बेला गोली प्रहार, कानमा चोट

असार ३१, २०८१

बुद्धिसागर मरासिनी

Former US President Trump survived an assassination attempt

काठमाडौँ — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पेन्सिलभेनियामा आयोजित एक चुनावी र्‍यालीका क्रममा गोली प्रहार गरिएको छ । अमेरिकी अधिकारीहरूले ‘ट्रम्पको हत्या गर्ने उद्देश्यले’ उनीमाथि गोली प्रहार गरिएको जनाएका छन् ।

रिपब्लिकन पार्टीबाट आगामी नोभेम्बरमा हुने चुनावका उम्मेदवार ट्रम्पले ‘स्विइङ स्टेट’ पेन्सिलभेनियाको बट्लरमा समर्थकलाई सम्बोधन गरिरहेका बेला आक्रमणको निसानामा परेका हुन् । पूर्वराष्ट्रपति ट्रम्पलाई करिब १३० मिटर टाढाको औद्योगिक भवनको छतबाट २० वर्षीय युवाले गोली प्रहार गरेका हुन् । गोली प्रहारपछि ट्रम्पको कानबाट रगत बगेको देखिन्थ्यो । त्यसलगत्तै सुरक्षा अधिकारी उनलाई बचाउन दौडादौड गरेको दृश्य टेलिभिजनहरूले प्रत्यक्ष देखाएका थिए ।

Former US President Trump survived an assassination attemptघटनालगत्तै ‘सिक्रेट सर्भिस’ का अधिकारीहरूले ट्रम्पलाई घेरा हालेर राखेका थिए । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो । स्थिति नियन्त्रणमा आएसँगै ट्रम्पलाई र्‍याली आयोजना स्थलबाट बाहिर निकालिएको थियो । त्यस क्रममा ट्रम्पले मुट्ठी उचाल्दै समर्थकलाई हौसला दिएका थिए । ट्रम्पका प्रवक्ताका अनुसार उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो । त्यसपछि उनलाई न्युजर्सीस्थित घर पुर्‍याइएको छ ।

Former US President Trump survived an assassination attemptतस्बिरहरू : एपी

अधिकारीहरूका अनुसार गोली प्रहारका कारण एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते छन् । सुरक्षा अधिकारीका अनुसार तीनै जना वयस्क पुरुष हुन् । अमेरिकी गुप्तचर संस्था एफबीआईले ट्रम्पलाई गोली प्रहार गर्ने सन्दिग्ध व्यक्तिको नाम थोमस क्रुक्स रहेको जनाएको छ । सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीका अनुसार सन्दिग्ध आक्रमणकारी अधिकारीको गोली प्रहारमा मारिएका छन् । २० वर्षीय ती युवा पेन्सिलभेनियाको बेथल पार्क निवासी रहेको जनाइएको छ । बेथल पार्क घटनास्थलबाट करिब ७० किलोमिटर टाढा छ ।

आक्रमणका बेला सन्दिग्ध व्यक्तिले आफूसँग कुनै परिचयपत्र नबोकेको र अनुसन्धानकर्ताहरूले डीएनएमार्फत औपचारिक रूपमा उनको पहिचान गरेका हुन् । घटनापछि कानुन कार्यान्वयन अधिकारीले क्रुक्सको घरमा छापा मारेका छन् । उनको घर र गाडीबाट केही विस्फोटक उपकरण भेटिएको अधिकारीलाई उद्धृत गर्दै सीएनएन र एपीले जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आक्रमणकारी क्रुक्स सैन्य पृष्ठभूमिको नभएको उल्लेख गरेको छ । 

Former US President Trump survived an assassination attempt२००३ को सेप्टेम्बर २० मा जन्मिएका क्रुक्सको यसअघि कुनै आपराधिक रेकर्ड नरहेको जनाइएको छ ।क्रुक्सका बुबा ५३ वर्षीय म्याथ्यु क्रुक्सले सीएनएनसँग कुरा गर्दै आफूले पछिल्लो वस्तुस्थितिबारे बुझ्ने प्रयास गरिरहेको बताएका छन् । क्रुक्स २०२२ मा बेथल पार्क हाईस्कुलबाट ग्य्राजुएट भएका थिए । ‘हाम्रो विद्यालयले घटनाको अनुसन्धानका लागि अधिकारीलाई पूर्ण रूपले समन्वय गर्नेछ,’ स्कुलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पिट्सवर्ग ट्रिवियुन–रिभ्यु अखबारका अनुसार क्रुक्सले यसअघि ‘नेसनल म्याथ एन्ड साइन्स इनिसिएटिभ’ बाट ‘स्टार अवार्ड’ सहित ५०० अमेरिकी डलर पुरस्कारसमेत प्राप्त गरेका थिए ।

Former US President Trump survived an assassination attemptअधिकारीहरूले घटनास्थलबाट ‘एआर–१५’ बरामद भएको जनाएका छन् । उक्त हतियार क्रुक्सका बुवा म्याथ्युले कानुनतः खरिद गरेका जनाइएको छ । अर्धस्वचालित हलुका राइफल अमेरिकामा हुने धेरै सामूहिक गोलीकाण्डमा प्रयोग हुँदै आएकाले यसलाई ‘अमेरिकाको राइफल’ पनि भन्ने गरिन्छ ।

सामान्यतः ५.५६ एमएम राउन्ड फायर गर्ने राइफल नेटो मापदण्डको हो । अधिकारीहरूका अनुसार अर्धस्वचालित राइफल बोकेका क्रुक्सले घटनास्थलभन्दा केही परको एउटा अग्लो स्थानमा चढेर गोली प्रहार गरेका थिए । एफबीआईले एक विज्ञप्ति जारी गर्दै ट्रम्पमाथिको आक्रमणलाई ‘हत्या प्रयास’ का रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । एक पत्रकार सम्मेलनमा एफबीआईका फिल्ड अफिसर केभिन रोजेकले गोली प्रहारको घटनालाई ट्रम्पको हत्या गर्ने प्रयासका रूपमा लिइएको बताएका हुन् ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा ट्रम्पले गोलीले आफ्नो दायाँतर्फको कानको ‘माथिल्लो भाग’ छेडेको जनाएका छन् । ‘सुइय गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड भयो भन्ने लाग्यो । मेरो कानको छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो,’ उनले लेखेका छन्, ‘धेरै रगत बगेपछि बल्ल के भएको हो भन्ने थाहा पाएँ ।’

ट्रम्पले एक विज्ञप्ति जारी गर्दै आफूहरू उक्त घटनाबाट ‘भयभीत नहुने’ बताएका छन् । उनले अमेरिकीहरूलाई ‘एकताबद्ध रहन’ आग्रह गरेका छन् । अमेरिकी संसद्को एक निगरानी समितिले भने, ‘अमेरिकालाई जवाफ चाहिएको’ भन्दै सिक्रेट सर्भिसका निर्देशकलाई सोधपुछका लागि बोलाएको जनाइएको छ । पेन्सिलभेनिया प्रहरीले गोली प्रहारको घटनापछि थप जोखिम भने नरहेको जनाएको छ । यद्यपि, उपराष्ट्रपति कमला ह्यारिसले आफ्नो चुनावी अभियान स्थगन गरेकी छन् । पेन्सिलभेनियामा भएको भयानक आक्रमणका कारण फ्लोरिडामा मंगलबारका लागि निर्धारित चुनावी अभियान स्थगित गरिएको जनाइएको हो ।

Former US President Trump survived an assassination attemptअमेरिकामा राष्ट्रपति वा राजनीतिज्ञमाथि गोली प्रहारका घटना खासै नौला भने होइनन् । १७७६ मा स्वतन्त्र भएयता अमेरिकामा राष्ट्रपति, पूर्वराष्ट्रपति, उपराष्ट्रपति तथा राजनीतिज्ञमाथि गोली प्रहारका घटना भएका छन् । तीमध्ये केहीको मृत्यु भएको छ भने कोही घाइते भएका छन् । हालसम्म चार जना अमेरिकी राष्ट्रपतिको गोली प्रहारबाट हत्या भएको छ । अब्राहम लिंकन हत्या गरिएका पहिलो अमेरिकी राष्ट्रपति हुन् । १८०९ फेब्रुअरी १२ मा जन्मिएका लिंकनको १८६५ अप्रिल १४ मा हत्या भएको थियो । अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित फोडर््स थिएटरमा ‘आवर अमेरिकन कजन’ नाटक हेर्न पुगेका लिंकनमाथि कलाकार जोन विल्क्स बुथले टाउकामा गोली प्रहार गरेका थिए ।

त्यसलगत्तै लिंकनलाई बचाउन ९ घण्टासम्म प्रयास गरिएको भए पनि त्यो असफल भएको थियो । लिंकनको स्थानीय समयअनुसार आक्रमणको भोलिपल्ट बिहान निधन भएको थियो । अमेरिकाका १६ औं राष्ट्रपति लिंकनले गरेका सुधार तथा कतिपय निर्णयप्रति अभिनेता बुथलगायत समाजको एउटा वर्गमा ठूलो असन्तुष्टि थियो । जसका कारण योजनाबद्ध रूपमा उनको हत्या गरिएको थियो । विल्क्सको नेतृत्वमा सरकारका तीन प्रमुख व्यक्तित्वको सफाया गरेर कन्फेडरेट स्टेट अफ अमेरिका ब्युँताउन चाहन्थे ।

त्यसका लागि विदेशमन्त्री विलियम एच सेवार्डको हत्याका लागि लेविस पावल र डेभिड हेराल्डलाई स्क्रेटरी अफ स्टेट र उपराष्ट्रपति एन्ड्रु जोन्सनको हत्याका लागि जर्ज एटजरोड्टलाई जिम्मा दिइएको थियो । तर, उक्त योजना पूर्ण रूपमा भने सफल हुन सकेन । विदेशमन्त्री सेवार्ड घाइते भए भने जोन्सनको हत्या गर्ने जिम्मा पाएकाले साहस जुटाउन नसकेको बताइएको थियो । लिंकनमाथि गोली प्रहार गरेपछि भागेका बुथ १२ दिनपछि प्रहरी कारबाहीमा मारिएका थिए । योजनामा संलग्न पावेल, हेराल्ड, एटजरोड्ट र मेरी सुराटलाई भने मृत्युदण्ड दिइएको थियो ।

लिंकनले अमेरिकाको संविधानबाट दास प्रथा हटाएर सबैलाई स्वतन्त्र बनाएका थिए । त्यसका साथै, उनकै विवेकसम्मत निर्णयका कारण गृहयुद्धका कारण विभाजनको संघारमा पुगेको अमेरिका एकीकृत नै रह्यो । संघीय सरकारलाई बलियो बनाउन र अमेरिकी अर्थतन्त्रलाई आधुनिकीकरण गर्न लिंकनले ठूलो भूमिका खेलेका थिए ।

त्यस्तै, अमेरिकाका २० औं राष्ट्रपति जेम्स ए गारफिल्डको पनि हत्या भएको थियो । १८३१ मा जन्मिएका गारफिल्ड १८८१ मार्च ४ मा राष्ट्रपति बनेका थिए । तर राष्ट्रपति बनेको चार महिना नहुँदै उनीमाथि गोली प्रहार गरिएको थियो । वासिङ्टन डीसीस्थित ‘बाल्टिमोर एन्ड पोटोम्याक रेलरोड स्टेसन’ मा उनीमाथि गोली प्रहार भएको थियो । त्यसको साढे दुई महिनापछि १८८१ सेप्टेम्बर १९ मा उनको मृत्यु भएको थियो । गारफिल्डमाथि गोली प्रहार गर्ने चार्ल्स जे गुइटेउलाई एक वर्षपछि मृत्युदण्डको सजाय दिइएको थियो ।

पदमा बहाल रहेकै बेला मारिने अर्का अमेरिकी राष्ट्रपति हुन् विलियम म्याककिन्ली । २५ औं अमेरिकी राष्ट्रपति म्याककिन्ली १८९७ मार्च ४ देखि १९०१ सेप्टेम्बर १४ सम्म राष्ट्रपति थिए । १८४३ जनवरी २९ मा जन्मिएका म्याककिन्लीको न्युयोर्कको बफेलोमा हत्या गरिएको थियो । दोस्रो कार्यकालका लागि निर्वाचित भएको ६ महिनापछि उनको हत्या भएको थियो । सर्वसाधारणसँग हात मिलाइरहेका बेला लिओन चोल्गोसले राष्ट्रपति म्याककिन्लीको पेटमा दुई पटक गोली प्रहार गरेका थिए । उनको एक सातापछि मृत्यु भएको थियो ।

अमेरिकाका ३५ औं राष्ट्रपति जोन एफ केनेडीको पनि हत्या भएको थियो । १९१७ मे २९ जन्मिएका जोन एफ केनेडी ४३ वर्षको उमेरमा १९६० नोभेम्बर ८ मा अमेरिकी राष्ट्रपति निर्वाचित भएका थिए । १९६१ को जनवरी २० देखि राष्ट्रपतिको कार्यभार सम्हालेका केनेडीको १९६३ नोभेम्बर २२ मा हत्या गरिएको थियो । टेक्सास राज्यको डालसमा सार्पसुटर ली हार्भी ओस्वाल्डले गोली हानी केनेडीको हत्या गरेका थिए । उनी अमेरिकाका हालसम्मकै सर्वाधिक लोकप्रिय राष्ट्रपति मानिन्छन् । त्यस्तै, अमेरिकाका ३२ औं राष्ट्रपति फ्रांकलिन डी रुजभेल्टमाथि पनि हत्या प्रयास भएको थियो । मियामीमा भाषण दिइरहेका बेला उनलाई लक्षित गर्दै गोली प्रहार गरिएको थियो । घटनामा रुजभेल्टलाई केही नभए पनि सिकागोका मेयर एन्टन सर्माक मारिएका थिए ।

३३ औं राष्ट्रपति हारी एस ट्रुमन पनि हत्या प्रयासबाट जोगिएका थिए । राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा बसिरहेका बेला उनीमाथि आक्रमण गरिएको थियो । आक्रमणमा ह्वाइटहाउसका एक प्रहरी र आक्रमणकारी मारिएका थिए । 

अमेरिकाका पूर्वराष्ट्रपति गेराल्ड फोर्ड भने दुई पटक हत्या प्रयासबाट जोगिएका थिए । ३८ औं राष्ट्रपति फोर्डलाई १९७५ मा केही साताभित्रै दुई पटक मार्ने प्रयास भएको थियो ।

त्यस्तै, अमेरिकाका ४० औं राष्ट्रपति रोनाल्ड रेगनमाथि १९८१ मा मार्च ३० मा रेगनमाथि गोली प्रहार भएको थियो । वासिङ्टनस्थित हिल्टन होटलको कार्यक्रमबाट फर्कंदै गर्दा रेगनमाथि जोन हिंकली जुनियरले गोली प्रहार गरेका थिए । गोली प्रहारका कारण राष्ट्रपति रेगन घाइते भएका थिए । हिंकलीले प्रहार गरेका ६ राउन्ड गोलीमध्ये रेगनलाई एउटा मात्र लागेको थियो । उनी जर्ज वासिङ्टन युनिभर्सिटी अस्पतालमा १२ दिनको उपचारपछि काममा फर्किएका थिए । त्यस्तै, अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसमाथि २००५ मा जर्जियामा हत्या प्रयास भएको थियो ।

(एजेन्सीहरूको सहयोगमा)

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully