कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

उत्तराखण्डको सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार

काठमाडौँ — उत्तराखण्डको उत्तरकाशीमा भत्किएको सिल्कियारा सुरुङमा १७ दिनदेखि फसेका ४१ कामदारलाई सकुशल उद्धार गरिएको छ । मंगलबार साँझ सुरुङबाट उनीहरूलाई सकुशल उद्धार गरिएको हो । अस्पताल भर्ना गरी उनीहरूको स्वास्थ्य जाँचसमेत गरिएको छ । 

उत्तराखण्डको सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार

दुई हप्ताभन्दा बढीको लगातारको प्रयासपछि उनीहरूलाई बाहिर निकालिएको हो । सुरुङ बनाउने विशेषज्ञहरूले कामदारको उद्धारका लागि सोमबारदेखि म्यानुअल ड्रिलिङ सुरु गरेका थिए । म्यानुअल तेर्सो ड्रिलिङ गरेर उद्धारका लागि पाइप राखिएको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार कामदारहरूलाई निकाल्न ८ सय एमएमको पाइप राखिएको थियो । विदेशी प्राविधिकसहितको टोलीले मजदुरहरूलाई बाहिर निकालेको हो ।

मंगलबार दिउँसो भारतीय समय अनुसार करिब १:३० बजे प्रदेश सरकारको सूचना विभागका वंशीधर तिवारीले ड्रिलिंग सम्पन्न भएको जानकारी दिएका थिए । त्यसको केही समयपछि मुख्यमन्त्री पुष्करसिंह धामीले सामाजिक सञ्जालमार्फत ड्रिल गरिएको बाटोमा एस्केप पाइप बिछ्याइएको पुष्टि गर्दै सबै कामदारलाई छिट्टै बाहिर ल्याउने आशा व्यक्त गरेका थिए ।

उत्तराखण्डको चार धाम मार्गमा निर्माणाधीन सुरुङको भत्किएपछि तेर्सो रूपमा उद्धार सुरुङ खन्नका लागि कम्तीमा १२ जना सुरुङ विशेषज्ञहरूलाई काममा लगाइएको थियो । शुक्रबार उद्धारका लागि सुरुङ खनिरहेको ठूलो मेसिन अड्किएपछि वैकल्पिक रुपमा म्यानुअल ड्रिलिङ सुरु गरिएको थियो । उनीहरूको उद्धारका लागि प्रदेश तथा संघीय सरकारले विभिन्न उपायहरू अप्‍नाए पनि त्यो सफल हुन सकेको थिएन । उद्धारका लागि बिच्छाइएको पाइपबाट एक-एक जना गरेर कामदारहरू बाहिर निक्लिएका थिए ।

काम गरिरहेका बेला गत नोभेम्बर १२ मा पहिरोले सुरुङ पुरिएपछि कामदारहरू भित्रै थुनिएका थिए । उक्त सुरुङ प्रधानमन्त्री मोदीको सडक परियोजनाको एउटा भाग हो । उक्त परियोजनाको उद्देश्य केही प्रसिद्ध तीर्थस्थल र चीनसँग सीमा जोडिएका क्षेत्रहरूबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ ।

प्रकाशित : मंसिर १३, २०८० ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×