कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

ग्रेटवालमा दाहालको सन्देश

लक्ष्मी लम्साल

बेइजिङ — चीनको परिचायक ग्रेटवालमा विश्वका नेताहरूको आरोहणसम्बन्धी सामग्री चिनियाँ इन्टरेनटमा खोज्ने हो भने सन् १९५४ देखि यता १७० भन्दा बढी देशका ५२५ भन्दा बढी राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको सूचि भेटिन्छ।

ग्रेटवालमा दाहालको सन्देश

बेइजिङको केन्द्रबाट ७० किलोमिटर उत्तरतिर अवस्थित पातालिङ ग्रेटवालले त्यति ठूलो संख्यामा विदेशी राजनेताहरूलाई स्वागत गरेर नयाँ चीनको कूटनीतिक इतिहासका उत्कृष्ट क्षणहरू संग्रह गरेको छ। तीमध्ये तीनपटक ग्रेटवाल आरोहीको सूचिमा भर्खरै नेपालको प्रधानमन्त्री पदमा 'ह्याट्रिक' गरेका पुष्पकमल दाहालको नाम पनि आउँछ।

राजनीतिक भ्रमण गर्नका लागि मात्रै नभएर साहसिकताको परिचय दिनुपर्यो भने चिनियाँहरूले अध्यक्ष माओ च तुङको एउटा भनाइलाई दोहोर्याउने गर्दछन्, 'जसले ग्रेटवाल चढ्न सक्दैन, त्यो बहादुर हुन सक्दैन ।'

१३ अक्टोबर २००९ मा संयुक्त नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र उनका चार जनाको टोलीले बडालिङ ग्रेटवालको भ्रमण गरे ।

सायद त्यही चुनौतीको सामना गराउन चीनले आफ्ना राजकीय अतिथिहरूलाई एक न एक पटक ग्रेटवालमा लगेर स्याँ स्याँ गराएरै फर्काउने प्रयास गर्दछ। त्यति मात्रै नभएर २ हजार वर्ष लगाएर ५० हजार किलोमिटर पर्खाल बनाउन सानोतिनो धैर्यशक्तिले पुग्दैन भन्ने सन्देश पनि दिन खोजेको हुनसक्छ। जे होस्, तिनै नेताहरूले आरोहण गरेको र माओले बखान गरेको ग्रेटवाललाई बुझ्नका लागि संसारभरका पर्यटकहरू त्यहाँ जसरी पनि पुग्न चाहन्छन्।

मार्च २६, २०१७ मा दाहालको नोट

ग्रेटवालका बारेमा संसार उति अपरिचित त होइन। सन् १९८७ मा युनेस्को विश्वसम्पदामा सूचिकृत र विश्वका मानव निर्मित सात आश्चर्यमध्ये एक भएकाले यसको महिमा धेरै छ। त्यसमाथि एकपछि अर्को राजवंशले निरन्तर निर्माणको 'म्याराथुन' हाँकेको यो संरचना जो कोहीका लागि उत्सुकताको विषय हो ।

तस्बिरहरू : भिजिट बेइजिङ अनलाइन

गणतन्त्र स्थापनापछिका प्रथम प्रधानमन्त्री दाहाललाई चिनियाँ भाषामा फु-ला-छाङ्-ता भनिन्छन्। सन् १९४९ मा जनगणतन्त्र स्थापनाका लागि नेतृत्व गरेका माओको विचारधाराबाट जन्मिएको नेपालको माओवादीप्रति चिनियाँहरू धेरथोर परिचित छन्, यद्यपि नेपालका माओवादीहरूको नीतिप्रति चीन स्वयं भने असंलग्नता नीति अख्तियार गर्दछ। माओको नामसँग जोडिने बाहेक चिनियाँ कम्युनिष्ट पार्टीसँग मेल खाने दाहालको माओवादमा अन्य धेरै कुरा छैन ।चिनियाँ कम्युनिस्ट पार्टी चीनमा जनगणतन्त्र स्थापित गर्दै अविरल सत्ता सम्हालिरहेको पार्टी हो ।

सन् २००८ मा नेपालमा गणतन्त्र स्थापना गरेर प्रथम प्रधानमन्त्री बनेका दाहालले सोही वर्षको अगस्टमा चीनको भ्रमण गरेका थिए। बेइजिङ ग्रीष्मकालीन ओलम्पिकको समापन समारोहमा भाग लिन चीन आउँदा ताका गणतन्त्र नेपालका प्रधानमन्त्री दाहालमा नयाँ रापताप थियो। गर्विलो भावभंगी सहित उनी ग्रेटवालमा चढेका थिए। नेपाल फर्किने बित्तिकै उनले आफ्नो प्रथम भ्रमण त दक्षिणी छिमेकी भारतबाट हुने भनेर आफैंलाई निस्तेज पारेका थिए। अर्थात् ग्रेटवाल चढ्ने बित्तिकै सबै आरोही 'बहादुर' हुन्छन् भन्ने भाष्य सर्वकालिक नहुन पनि सक्छ।

भ्रमणमा पत्नी सीतासहित दाहाल ।

चीनमा राज्य अतिथिहरूको लागि एक महत्त्वपूर्ण स्वागत स्थलको रूपमा ग्रेटवालले ऐतिहासिक, सांस्कृतिक र दृष्यावलीसहित आध्यात्मिक भावना समेट्दछ। चीनले ग्रेटवाल नीतिमार्फत् समग्र अन्तर्राष्ट्रिय कूटनीतिक प्रभाव छोडेको हुन्छ।

सन् १९५४ अक्टोबरमा चिनियाँ प्रधानमन्त्री चौ एनलाईले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई पातालिङ ग्रेटवालमा चढाएपछि हालसम्म अनेकौं सरकार प्रमुखहरूले त्यहाँ पाइला टेकेका छन्। त्यहाँ पुगेपछि पुस्तिकामा केही शब्द कोरेर संसारका नेताहरूले गहिरो सन्देश प्रवाह गरेका छन्। सन् १९९५ जुलाई यता विभिन्न देशका सरकार प्रमुखबाट कूल २६० भन्दा बढी लेखोटहरू संकलन भएका छन्। विभिन्न ८ वटा शीर्षकमा उनीहरूले भावना पोखेका छन्। मित्रता र शान्तिको पर्याय बनेको ग्रेटवालप्रतिको गहिरो भावना, चिनियाँ प्राचीन संस्कृतिप्रतिको सम्मान, चिनियाँ जनताको बहादुरी, धैर्य र लगनशीलता अनि वर्तमानमा चीनको आत्मविश्वास र दृढता जस्ता विषयलाई मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ। यस्तै प्रशंसकमध्ये एक दाहालले पुस्तिकामा लेखेका थिए, 'इतिहासले वर्तमानको सेवा गर्छ, यस्को उच्चतम उदाहरण चीनको ग्रेटवाल हो। यो वास्तवमै अदभूत छ।'

सन् २००८ को अगष्ट २६ तारिख पहिलो पटक ग्रेटवालमा चढ्दा प्रधानमन्त्री (१५ अगस्ट २००८-२५ जुलाई २००९) दाहालमा अलग्गै जोसजाँगर थियो। त्यसताकाको भिडियो फुटेजमा हेर्दा पुटुस्स पेट भएपनि फुर्तिलो ढंगले फटाफट हिँड्ने दाहाल निकै छरितो तवरले ग्रेटवाल चढेका देखिन्छन् । आफ्नी पत्नी सिता दाहालसहित २० जनाको समूहका साथ ग्रेटवाल उक्लिएका दाहालका उतिखेरका सारथीहरू अहिले छिन्नभिन्न छन्।

दोश्रो पटक सन् २००९ को अक्टोबरमा पार्टी अध्यक्ष दाहालसहित मोहन वैद्य, कृष्णबहादुर महरा, पुत्र प्रकाश दाहाल लगायतले ग्रेटवाल चढे। उनीहरूमध्ये छोरा दाहाललाई सदाका लागि गुमाएका दाहालको साथ वैद्यले पनि छोडिसकेका छन् ।

तेस्रो पटक २६ मार्च २०१७ मा पत्नीसहित ग्रेटवाल चढेका प्रधानमन्त्री (४ अगष्ट २०१६ - ७ जुन २०१७) दाहालले फेरि पनि पुस्तिकामा लेखेको भावसार यस्तो थियो, 'ग्रेटवालले आक्रमणको प्रतिरोध गर्न, शान्ति र स्थिरता कायम गर्न बहादुरीपूर्वक बलिदान गर्ने जनताको भावनालाई इंगित गर्छ र यसको इतिहासले वर्तमानलाई प्रेरणा दिन्छ।'

तीन पटकका भ्रमणमा दाहालले ग्रेटवाल विजयभाव व्यक्त गरेका थिए । अब तेश्रो पटक सत्ताको बागडोर सम्हालेपछि पनि उनले विगत भन्दा फरक काम गर्ने उद्घोष गरिरहेका छन् । विशेषतः सशस्त्र संघर्ष जुन सपनाका बाँडेका थिए त्यो मर्मबाट दाहाल अलगथलग भएका छन् ।

दशक लामो सशस्त्र द्वन्दका कारण न्याय नपाएकाहरू, सपना बोकेर युद्धमा होमिएकाहरू, युद्धमा लागेकोमा आत्मग्लानि गर्दै खाडीतर्फ भौतारिइरहेकाहरू, उजाडिएका सिउँदोहरू र टुटफुट अंग लिएर जिन्दगी घिसारिरहेकाहरूको जीवन अझै पनि उस्तै छ ।

प्रधानमन्त्री बन्ने बित्तिकै भावुक भएका दाहालले काम गरेर देखाउँछु नै भनेका छन् । ग्रेटवालमा चढेको एक बहादुरका रुपमा दाहाल स्वयंले काम गरेर देखाउने बेला हो । अब तेस्रोपटक प्रधानमन्त्री बनेका उनी चीन भ्रमणमा पक्कै आउनेछन् । यसपटक ग्रेटवालमा चढ्दा उनले लेख्ने सन्देश के होला ?

प्रकाशित : पुस २९, २०७९ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?