२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

दिल्लीमा शिष्टाचार भेट कुर्दै नेपाली राजदूत

भारतका लागि नेपाली राजदूत शंकर शर्माले दिल्लीमा जिम्मेवारी सम्हालेको तीन महिना भइसक्दा पनि विदेश मन्त्रालयमा शिष्टाचार भेटको अवसर पाएका छैनन्
राजेश मिश्र

नयाँदिल्ली — नेपालका लागि नवनियुक्त राजदूत नवीन श्रीवास्तवले काठमाडौं पुगेको एक साता पनि पूरा नहुँदै राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्न भ्याइसक्दा दिल्लीमा भने नेपाली राजदूतले महिनौंसम्म विदेश मन्त्रालयमा शिष्टाचार भेटको अवसर पाएका छैनन् ।

दिल्लीमा शिष्टाचार भेट कुर्दै नेपाली राजदूत

भारतका लागि नेपाली राजदूत शंकर शर्माले दिल्लीमा जिम्मेवारी सम्हालेको तीन महिना पूरा भइसकेको छ । चैत ६ मा राष्ट्रपतिबाट शपथ लिएका शर्मा त्यसको एक सातापछि नयाँदिल्ली आइपुगेका थिए । चैत १८ देखि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रहेको भए पनि उनले नयाँदिल्ली आएको झन्डै डेढ महिनापछि वैशाख २८ मा भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

ओहदाको प्रमाणपत्र बुझाएपछि मात्रै राजदूतले सम्बन्धित देशमा औपचारिक रूपमा कूटनीतिक काम गर्न पाउने अभ्यास छ । शर्माले ओहदाको प्रमाणपत्र बुझाउन डेढ महिना कुर्नुपर्दा, भारतीय राजदूतले भने काठमाडौं पुगेको छैटौं दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाए ।

राष्ट्रपतिकोबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार पुगेका थिए । सरोकारवाला परराष्ट्रमन्त्री वा पदाधिकारलाई भेट्नुअगावै उनले प्रधानमन्त्रीलाई सहजै भेटे । प्रधानमन्त्रीलाई भेटेको भोलिपल्ट परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटे । असार ११ मा काठमाडौं ओर्लिएका श्रीवास्तवले असार १६ मा ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

यता, दिल्लीमा भने राजदूत शर्माले ओहदाको प्रमाणपत्र बुझाएलगत्तै दूतावासले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रालगायत उच्च पदस्थ नेतृत्वसँग शिष्टाचार भेटका लागि समय मिलाइदिन विदेश मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, पत्र पठाएको एक महिना पूरा भइसक्दा पनि कुनै ‘रेस्पोन्स’ प्राप्त नभएको दूतावासले जनाएको छ ।

नयाँ राजदूतले ओहदाको प्रमाणपत्र बुझाइसकेपछि भेटघाटका लागि समय मागर गरी पत्र पठाइएको तर जवाफ नआइसकेको जनाए । ‘मुख्य रूपमा प्रधानमन्त्री, विदेशमन्त्री र विदेश सचिवको समय उपलब्धताको प्रतीक्षामा छौं,’ ती अधिकारीले भने ‘तर, उहाँहरूको व्यस्तताले होला समय प्राप्त भइसकेको छैन ।’

राजदूतको विदेशमन्त्री र सचिवसँगको भेटलाई महत्त्वपूर्ण मानिन्छ । द्विपक्षीय सम्बन्ध र विषयहरूका कुरा कार्यान्वयनका लागि ती भेटहरू नै लाभदायक हुने गर्छ । केही समयअघि भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा पार्टी अध्यक्षले दिल्लीस्थित विदेशी नियोगका प्रमुखलाई डाकेका बेला विदेशमन्त्री जयशंकर पनि उपस्थित थिए । राजदूत शर्माले केही बेर उनीसँग भलाकुसारीको मौका पाएका थिए । तर, औपचारिक भेटको भने अझै टुंगो लागेको छैन ।

यस अवधिमा भने शर्माले केही मन्त्री र सेनाध्यक्षसँग भेटघाट गरिसकेका छन् । शर्माले सरकारी तहको हरेक औपचारिक भेटघाटका लागि विदेश मन्त्रालयको सहमति कुर्नुपर्छ । विदेशमन्त्री र सचिवकै समय उपलब्ध हुन केही समय लागे पनि राजदूत शर्माले नेपाललाई तत्काल आवश्यक रहेको मल आपूर्तिका लागि दुई पटक भारतका रसायन तथा मलमन्त्री मनसुख माण्डविया र मन्त्रालयका अधिकारीहरूसँग भेट गरेका छन् ।

यसअघि तत्कालीन नेपाली राजदूत नीलाम्बर आचार्यले विदेशमन्त्रीमा नियुक्त भएका जयशंकरसँग महिनौंको प्रतीक्षापछि मात्रै भेट्न पाएका थिए । तर, पहिलो भेटमा आचार्यले ईपीजी प्रतिवेदन बुझ्न भइरहेको ढिलाइ र सीमा विवाद वार्ताबाट हल गर्न कुरा उठाएपछि जयशंकरले त्यसलाई रुचाएका थिएनन् ।

राजदूत शर्माको ‘एग्रिमो’ पठाउन नै भारतले ढिलो गरेको थियो । तीन महिनापछि मात्रै शर्माको आगमनलाई भारतले स्वीकृति दिएको थियो । तर, भारतले श्रीवास्तवलाई नियुक्ति गरेको सूचना पाउनासाथ नेपालले उनको एग्रिमो पठाएको थियो । भारत सरकारले जेठ ३ मा श्रीवास्तवलाई नेपालका लागि राजदूत नियुक्ति गरेको हो ।

शर्मालाई भने सरकारले २०७८ कात्तिक ११ मै भारतका लागि राजदूतमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले मसिंर २४ मा उनको नाम अनुमोदन गरेको थियो । त्यसपछि भारतलाई एग्रिमोका लागि आग्रह गरिएको थियो । भारतले तीन महिनापछि (चैत २) मा मात्रै शर्माको एग्रिमो पठाएको थियो ।

प्रकाशित : असार १९, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?