२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

जो मजदुरबाट मालिक बने

वर्षौंसम्म अर्काको घर, पसल वा उद्योगमा काम गरेका दर्जनौं नेपाली लुधियानामा सफल उद्यमी बनेका छन्
राजेश मिश्र

लुधियान, पञ्जाब — अर्घाखाँचीको पाँडेनी गाउँपालिका–५ का विकास रेश्मी (मगर) १७ वर्षे उमेरमा कामका लागि भारतको पञ्जाबस्थित लुधियना आइपुगेका थिए । अहिले उनी ३६ वर्षका छन् । घरेलु मजुरबाट काम थालेका रेश्मी यतिबेला लुधियानामा नाम चलेको ‘कन्ट्रयाक्टर’ का रूपमा चिनिन्छन् ।

जो मजदुरबाट मालिक बने

यहाँको ठूलो क्रिश्चन मेडिकल कलेजस (सीएमसी) मेडिकल कलेज परिसर भित्रको सवारी पार्किङ र क्यान्टिनहरूको ठेक्का लिएका उनले ६०/७० जनालाई रोजगारी दिएका छन् । वार्षिक करोडौंको कारोबार गर्ने उनले सुरुमा नेपाली भएकै कारण धेरै चुनौतीको सामना गर्नुपर्‍यो ।

‘विशुद्ध कामकै खोजीमा आएको थियो, सुरुवाती दिन त धेरै कष्टकर नै बित्यो,’ उनले भने, ‘क्यान्टिनमा काम गर्दा गर्दै एउटा स्कुलको क्यान्टिनको ठेक्का लिएर आफ्नै काम सुरु गरेको थिए ।’ त्यसपछि स्टेसनरीको पनि काम पाए उनले । हाल उनले ‘रेश्मी क्याटर्स’ नामको कम्पनी चलाइरहेका छन् ।

त्यस्तै यहाँको अर्को ठूलो दयानन्द मेडिकल कलेजका (डीएमसी) सबै क्यान्टिनका सञ्चालक पनि नेपाली नै हुन् । बुटवलका हरिप्रसाद घिमिरेले यहाँको क्यान्टिन सञ्चालनको ठेक्का लिएका छन् । क्यान्टिन र क्याटरिङको क्षेत्रमा घिमिरेको नाम सफलतम सूचीमा लिइन्छ । आउट डोर क्याटरिङका लागि उनको ‘भीआर फुड’ कम्पनीले नाम कमाएको छ । ‘सन् १९८० मै म भारत आएँ । होटलमा भाँडा माजे, चौकीदारी पनि गरे,’ उनले भने ‘तर, निरन्तर मेहनत गर्न छाडिन्, त्यसैको परिणाम हो आज आफ्नै व्यवसाय चलाउन सकेको छु ।’

जुनसुकै उमेरका किन नहोऊन्, हातमा सीप भए कामको समस्या हुन्न । भारतकै प्रमुख अद्यौगिक सहरमध्येको लुधियानाले लाखौंलाई रोजगारी दिएको छ । सहरमा रहेका १२ हजार साना र मझौला उद्योगले मात्रै १० लाख श्रमिकलाई काम दिएको अनुमान छ । ठूला उद्योगहरूको संख्या पनि हजारौमा छ । यही लुधियानाले हजारौं नेपालीलाई पनि रोजगारीको अवसर दिएको छ । यकिन संख्या नभएपनि निकै धेरै नेपाली श्रमिकले यहाँ काम पाएका छन् । उद्योगी, व्यवसायी र मजदुरले भरिएको सहरमा दर्जनौं नेपालीहरू मजदुरबाट सफल उद्यमी बनेका छन् । त्यस्तैमध्येका हुन् रेश्मी । उनले अस्पताल परिसरमा दैनिक रूपमा १ हजार बढी मोटरसाइकल र ५ सय बढी कारको पार्किङ शुल्क उठाउँछन् ।

बैतडीका हिरा चन्द अर्का सफल उद्यमी हुन् । २०४५ सालमा मुम्बईमा रहेका आफ्ना ठूलो बुबालाई भेट्न हिँडेका चन्द उल्टो रेल चढेपछि लुधियाना आइपुगेका थिए । त्यतिबेला ९ कक्षामा पढ्ने चन्दको विद्यालय डेढ महिना छुट्टीको थियो । त्यसैले एउटा उद्योगमा सुई गन्ने काम थाले । पछि कपडाको ब्रान्डेड कम्पनी ‘डुक’ मा काम पाए । त्यता काम गर्न थालेपछि उनी तत्कालै नेपाल फर्किएनन् । तिनै, चन्द यतिबेला करोडौं पुँजीको आफ्नो मझौला उद्योग चलाइरहेका छन् । ‘डुक’ कम्पनीमा काम गर्दैगर्दा उनले देखे कपडामा सम्बन्धित ब्रान्डाको नाम छाप्ने वा सिलाइ गर्नेले पनि ठूलो आम्दानी गर्ने रहेछ । उनले पनि त्यही कामलाई आफ्नै पेसा बनाउन निधो गरे । यतिबेला उनले ‘हिरा प्रिन्टर्स’ नामको कारखाना चलाउँछन् । दर्जनौं मजदुरलाई रोजगारी दिएका छन् । अर्डर अनुसार कपडामा फूल बुट्टा भर्ने, डिजाइनिङ गर्ने र नाम प्रिन्ट गर्ने काम गर्छन् ।

महेन्द्रनगरका नन्दराज भण्डारी पनि विसं. २०४६ सालमा रोजगारीका लागि यहाँ आएका थिए । उनले १७ वर्ष विभिन्न उद्योगमा काम गरे । त्यसपछि सानो पुँजीबाट काम थालेका उनी गार्मेन्ट उद्योगी भएका छन् । उनले आफ्नो कारखानामा जिन्स पेन्ट र ज्याकेट बन्ने गरेको बताए । दुई दर्जनलाई रोजगारी दिएका छन् ।

प्रवासी नेपाली संघका केन्द्रीय सचिव छविलाल भट्टराई लुधियानामा आफ्नै मेहनत र कर्मले सफल उद्यमीका रूपमा दर्जनौं नेपाली स्थापित भएको बताउँछन् । विराटनगरका भट्टराई आफैंले पनि परी ट्राभल्स एन्ड टुर्स चलाउँछन् । लामो समयदेखि लुधियानामा रहेकाहरूका छोराछोरीले अझ विभिन्न खाले नयाँ काम थालेका छन् । नेपाली समाजको नयाँ पुस्ता बजारमा आएसँगै त्यसले नेपालीलाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन आउने भट्टराई बताउँछन् ।

गैंडाकोटका लोकनाथ पाण्डे सन् १९८४ मा लुधियाना आएका थिए । उनले वर्षौं मजदुरी गरेरै बिताए । अहिले उनका दुई छोरामध्ये जेठा शशिले एमबीए र कान्छा मनोजले बीटेक गरेर साइकल उद्योग सञ्चालन गरिरहेका छन् । लोकनाथले वर्षौं साइकल उद्योगमै मजदुरी गरेका थिए । उनले पछि साइकलको पार्टपुर्जा मुख्यतः ‘सिट’ र त्यसको मुनि लाग्ने ‘स्प्रिङ’ उत्पादन गर्ने कारखाना चलाउँछन् । उनको व्यवसायमा कान्छा छोरा मनोजले सघाइरहेका छन् । जेठा छोरा शशिले पार्टपुर्जासँगै साइकल निर्माण गर्ने फ््याक्ट्रीमा हात हालेका छन् । पछिल्लो तीन महिनामा ५० लाखको साइकल बिक्री गरेको शशिले सुनाए । ‘औसतमा महिनामा ५ सय साइकलको बिक्री भएको छ । २ हजार बिक्री गर्ने लक्ष्य राखेको छु,’ उनले भने, ‘बुबाले साइकल उत्पादनकै क्षेत्रमा लामो समय काम गरेकाले आफूले पनि यतै हात हालेको हुँ ।’ हुन पनि लुधियाना एसियामै सबैभन्दा बढी साइकल उत्पादन गर्ने सहरमा चिनिन्छ । यहाँ धेरैजसो नाम चलेका साइकल कारखाना पनि छन् । पाण्डे ट्रेडिङ कम्पनीले उत्पादन गरेका साइकलका पार्टपुर्जा ब्रान्डेड कम्पनीदेखि लोकल उत्पादनले खरिद गर्छन् ।

ठूला उत्पादकले भने धेरै सामानहरू साना र मझौला उद्योगबाटै खरिद गर्छन् । त्यही भएर यहाँ घरघरमा कुनै न कुनै प्रकारको उत्पादनको काम हुने गरेको भट्टराईले बताए । ‘स्टाफ होल्डिङ’ कम्पनीमा सुपरभाइजर रहेका रामबहादुर कुँवर पहिलेभन्दा मजदुरी क्षेत्रमा नेपालीहरूको संख्या कम हुँदै गएको बताउँछन् । उनले अहिले नेपालीहरूले सानो भए पनि स्वरोजगारको काममा बढी ‘इन्ट्रेस्ट’ देखाएको सुनाए । लुधियानामा सयौं नेपालीले आफ्नै फास्टफुड कर्नर

वा ससाना स्टलहरू चलाइरहेकाले पनि त्यो देखाउँछ । तिनै परिश्रमी हातहरू सफल हुँदै गए भविष्यमा लुधियानामा थप नेपाली उद्यमीहरू भेटिने प्रवासी नेपाली संघका सचिव भट्टराईले उल्लेख गरे ।

प्रकाशित : असार १३, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?