श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

एजेन्सी

काठमाडौँ — श्रीलंकामा आर्थिक संकटका कारण हिंसा बढ्दै जाँदा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । देशव्यापी रुपमा उनको विरोधमा प्रदर्शन भइरहँदा सोमबार राजीनामा आएको हो ।

राजापाक्षेको राजीनामाले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद् गठनका लागि मार्ग प्रशस्त हुने सम्भावना देखिएको अन्तर्राष्ट्रिय मिडियाहरूको टिप्पणी छ ।

यसअघि राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार एक विशेष बैठकमा प्रधानमन्त्रीलाई देशको राजनीतिक संकट समाधानका लागि राजीनामा दिन आग्रह गरेका थिए ।

यससँगै राष्ट्रपति राजापाक्षेले संयुक्त मन्त्रिपरिषद्‍ गठनका लागि सर्वदलीय बैठक आह्वान गर्नसक्ने अपक्षा गरिएको छ । तर यसअघि विपक्षी दल समगी जन बालवेगयाका नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने पुष्टि गरेका थिए ।

सोमबार बिहान भने प्रधानमन्त्री निवास नजिकै टेम्पल ट्रीसको अगाडि प्रधानमन्त्रीका समर्थकहरूले उनलाई राजीनामा नगर्न आग्रह गर्दै प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा विरोधीहरूसँग झडप हुँदा उत्पन्न तनाव कम गर्न प्रहरीले कर्फ्यू समेत घोषणा गरेको थियो ।

प्रकाशित : वैशाख २६, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्

एक सातामा बैंकहरूको निक्षेप ५ अर्ब बढ्दा कर्जा रकम भने घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — वैशाख महिनाको पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ५ अर्ब निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार वैशाख १६ गतेसम्म कुल ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २३ गतेसम्म ४३ खर्ब ७३ अर्ब कायम भएको छ । यहीं अवधिमा कर्जा प्रवाह भने ४ अर्ब घटेको छ ।

वैशाख १६ गतेसम्म कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २३ गतेसम्म ४१ खर्ब ९३ अर्बमा झरेको छ । वैशाख महिनाको २३ दिनमा कुल १६ अर्ब निक्षेप घटेको छ भने ४ अर्ब कर्जा घटेको छ । चैत मसान्तसम्म यी बैंकमा ४३ खर्ब ८९ अर्ब निक्षेप थियो भने ४१ खर्ब ९७ अर्ब कर्जा प्रवाह भएको थियो । बैंकहरुले असार मसान्तसम्म निक्षेपमा कर्जा अनुपात (सीडी रेसियो) ९० प्रतिशतमुनि झार्नुपर्ने छ । हाल सबै बैंकको औसत सीडी रेसियो ९०.५२ प्रतिशत छ । ९० भन्दा माथि पुगेका बैंकहरु थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामै छन्, जसले गर्दा समग्र कर्जा प्रवाहमा शिथिलता देखिएको छ ।

प्रकाशित : वैशाख २६, २०७९ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×