अनिवार्य खोप र प्रतिबन्धको विरोध गर्दै पेरिसमा विशाल प्रदर्शन

माघ २८, २०७८

ददि सापकोटा

पेरिस — आफूलाई स्वतन्त्र आन्दोलनका पक्षधर बताउनेहरू शुक्रबार फ्रान्सभरबाट कोरोना प्रतिबन्ध र खोपको विरोध गर्न पेरिसमा भेला भएका छन् । फ्रान्सभरका प्रदर्शनकारीहरूले शुक्रबार क्यानडाबाट प्रेरित 'स्वतन्त्रता संरक्षण' को नाममा पेरिसमा देशको कोभिड-१९ खोप र सार्वजनिक स्वास्थ्य नीतिहरूको विरोधमा आवाज उठाउने योजनास्वरुप भेला भएका हुन् ।

आयोजकहरूले शान्तिपूर्ण रूपमा स्वतन्त्रता र मौलिक अधिकार उल्लङ्घनको विरोधमा आवाज उठाउने आफ्नो लक्ष्य रहेको दाबी गरेका छन् ।

तर देशभरबाट खोप र स्वास्थ्य प्रतिबन्धका विरोधीहरूले पटक पटक पेरिसको सार्वजनिक स्थल, यातायात बन्द गर्ने, घेराबन्दीको प्रयास गर्ने गरेकाले शुक्रबार मन्यान्हमा प्रधानमन्त्री जँ कास्टेक्सले राजधानीलाई 'ब्लक' गर्ने कुनै पनि र्‍यालीमाथि बन्देज लगाइने घोषणा गरेका छन् ।

'स्वतन्त्र रुपमा कुनै पनि कुराको, सरकारको, पार्टीको, पद्दतिको विरोधी बन्न पाइन्छ । तर आफ्नो अधिकार लिन खोज्दा अरुको अधिकारमाथि हनन् गर्न पाइन्न । त्यसैले राजधानीको स्वास्थ्य, ब्यापार, यातायात बन्द गर्ने र राजधानीलाई अप्ठेरोमा पार्ने र्‍याली गर्न बन्देज लगाइएको छ । सुरक्षाकर्मीले त्यसको पालना गराउने छन्' प्रधानमन्त्रीले शुक्रबार राष्ट्रिय टेलिभिजन मार्फत् घोषणा गरेका हुन् ।

अधिकारीहरूले आन्दोलनको उद्देश्य राजधानीलाई अवरुद्ध गर्नु भएकाले पेरिसमा नियोजित प्रदर्शनलाई प्रतिबन्ध लगाएको दाबी गरेका छन् । फ्रान्सको आन्दोलनलाई प्रेरित गर्ने ट्रकहरूको विरोधले क्यानाडाको राजधानी ओटावालाई पक्षघात बनाएको अधिकारीहरुको भनाइ छ । आन्दोलनकारीले आफ्ना पक्षका गाडी खासमा ट्रक ल्याएर राजधानीको नाकामा राखिदिने र राजधानी प्रवेश नै रोकिदिने गरेकाले फ्रान्स सरकारले यस्तो आन्दोलनमाथि प्रतिबन्ध लगाएको हो ।

आन्दोलनकारीले शुक्रबार बिहानसम्म ३ लाखभन्दा बढी व्यक्ति आन्दोलनमा सहभागी हुने फेसबूकमार्फत् घोषणा गरेपछि फ्रान्सको सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

शुक्रबार रातिसम्म राजधानी पुग्ने लक्ष्य राख्दै दक्षिणमा निस, ब्ययोन,  पर्पिन्यियँबाट धेरै आन्दोलनकर्मी पेरिसतर्फ प्रस्थान गरेका थिए । उनीहरूले शुक्रबार रातिदेखि राजधानी पेरिसलाई 'ब्लक' वा घेराबन्दी गर्ने निर्णय गरेको मेडियाले उल्लेख गरेका छन् । 

तिनै आन्दोलनकारीहरू सोमबार बेल्जियमको राजधानी ब्रसेल्स पुग्ने कार्यक्रम छ । तिनले 'युरोपियन कन्भर्जन्स' को नाममा ब्रसेल्समा यस्तै कार्यक्रमको घोषणा गरेका छन् ।

ददि

Link copied successfully