बेलायतका विमानस्थलबाटै फर्काइँदै नेपाली विद्यार्थी- विश्व - कान्तिपुर समाचार

बेलायतका विमानस्थलबाटै फर्काइँदै नेपाली विद्यार्थी

झूटा विवरण पेस गरेको, पढ्ने विषयबारे जानकारी नभएको लगायतका कारण देखाउँदै भिसा रद्द
नवीन पोखरेल

लन्डन — बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकसायरमा स्नातक तह (ब्याचलर अफ आर्टस् विथ अनर्स इन बिजनेस म्यानेजमेन्ट) पढ्न आएका चार जना विद्यार्थी जनवरी तेस्रो साता म्यानचेस्टर विमानस्थलमा समातिए । 

सोधपुछ गर्दा ती विद्यार्थीले झूटा विवरण पेस गरेको, आफूले अध्ययन गर्ने विषयवस्तुबारे पर्याप्त ज्ञान नभएको, विश्वविद्यालयलाई तिर्न बाँकी शुल्क र खान बस्नका लागि बैंकमा रकम नभएको, अंग्रेजीसमेत राम्ररी बोल्न नसकेर दोभाषे राख्नुपरेको आदि कारण देखाउँदै अध्यागमन अधिकृतले ‘अध्यागमन ऐन, १९७१’ अन्तर्गत भिसा रद्द गरेर नेपाल फिर्ता पठाइदिएका थिए ।

अचेल यस्ता घटना दोहोरिरहेका छन् । बेलायतले जुलाई १ देखि कुनै पनि ब्रिटिस विश्वविद्यालयबाट स्नातक तह पूरा गरेका विदेशी विद्यार्थीले थप २ वर्ष काम गर्न पाउने नियम लागू गरेपछि नेपालबाट पनि सयौं विद्यार्थी यहाँ पढ्न आएका छन् । तर, अंग्रेजीमा दख्खल नहुनु, आफू पढ्ने विश्वविद्यालय, कोर्स र बेलायती जीवनबारे पर्याप्त जानकारी नराख्नु, एजेन्टमा भर पर्नु र अध्ययनभन्दा कमाइ मुख्य लक्ष्य राख्न थालेपछि विद्यार्थीहरू बिचल्लीमा पर्ने गरेका हुन् ।

हडर्सफिल्ड युनिभर्सिटीका एसोसिएट डिन (इन्टरनेसनल) प्रा. डा. पदम सिम्खडा विशेषगरी दक्षिण एसियाबाट आउने विद्यार्थीमा समस्या पाइएको बताउँछन् । ‘मेरो जिम्मेवारी नै अन्तर्राष्ट्रिय विद्यार्थीका समस्या सुल्झाउन प्रयास गर्ने भएकाले हरेक दिन नेपाली विद्यार्थी अप्ठेरोमा परेको सुन्नमा आउँछ । विद्यार्थीमा तयारी नहुनु नै यो समस्याको प्रमुख कारण हो,’ डा. सिम्खडाले कान्तिपुरसँग भने, ‘विद्यार्थी आफूले केही काम नगरी एजेन्टमा भर पर्ने गर्छन् । कतिपयलाई कोर्स के, कहाँ र कहिले सुरु गर्ने ? मोड्युल के हो ? बेलायत आएर कसरी सर्भाइभ गर्ने जस्ता सामान्य ज्ञान पनि हुँदैन । पढ्न बेलायत आउने भएपछि गृहकार्य त चाहियो नि ।’

डा. सिम्खडा यूकेभिआईले अक्टोबर २० देखि यूके पढ्न आउन आईएलटीएस अनिवार्य गरेको जनाउँदै पहिले नै अंग्रेजीबिना आवेदन दिएका विद्यार्थी अहिले यता आएर अध्यागमनमा समस्या झेल्न बाध्य भएका बताउँछन् ।‘यसमा नेपालस्थित शैक्षिक कन्सल्टेन्सीको पनि दोष छ । कन्सल्टेन्सीले कमिसनको प्रलोभनमा जस्ता विद्यार्थी पनि भर्ना गरिदिने, आईएलटीएस नभए पनि विश्वविद्यालयको आन्तरिक अंग्रेजी परीक्षाले चल्छ भनेर प्रोत्साहित गर्ने, कमाइन्छ भनेर सपना देखाउने अनि लन्डनमा जति पनि काम छ भनेर म्यानचेस्टर 
र लिभरपुल पठाइदिने गर्दा विद्यार्थी बिचल्लीमा पर्छन्,’ उनले भने ।

ब्राइटनस्थित युनिभर्सिटी अफ ससेक्समा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा मास्टर्स गरिरहेकी चिभिनिङ स्कलर हुन् सरिता सुवेदी । बेलायत आएर पढ्नु आफैंमा राम्रो भए पनि आउनुअघि यहाँको अवस्था र आएपछि कलेजलाई तिर्ने शुल्क, खानेबस्ने प्रबन्ध कसरी गर्ने भन्नेबारे राम्रोसँग जानकारी लिएर आए दुःख पाउनबाट बचिने उनको बुझाइ छ ।

‘म आफू पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको भए पनि यहाँको विद्यार्थी जीवन सहज छैन भन्ने महसुस गरेकी छु,’ चार महिनाअघि बेलायत आएकी उनले कान्तिपुरसँग अनुभव साटिन्, ‘बेलायतमा धेरै सिक्ने अवसरका बाबजुत पनि कतिपय नेपाली विद्यार्थीले बीचमै अध्ययन छोड्ने गरेको देखें । त्यसको प्रमुख कारण नेपालबाट आउनुअघि कुन विश्वविद्यालय र विषय आफ्ना लागि अनुकूल छ भनेर नबुझ्नु, पैसा कमाउने मात्र उद्देश्य राखेर आउने गर्दा धेरैले दुःख पाएका छन् ।’

बेलायतमा विद्यार्थीका लागि धेरै प्रकारका छात्रवृत्ति पनि भएकाले बुझेर आवेदन दिए आर्थिक रूपमा समेत सहज हुने उनको सुझाव छ । ‘यहाँका विश्वविद्यालयको पढाइ र बेलायती जीवनयापन नेपालभन्दा धेरै फरक छ । यहाँ पढेर कति अंक ल्यायौ भन्दा पनि के सिक्यौ भन्ने कुरामा धेरै ध्यान दिइन्छ । दुःख नगरी केही पनि प्राप्त गर्न सकिँदैन भन्ने कुरा बुझ्न यहाँ धेरै समय लाग्दैन,’ उनले भनिन् ।

लन्डनस्थित नेपाली दूतावासले विद्यार्थीका समस्या सोसल मिडिया र समाचारमार्फत थाहा पाएपनि आधिकारिक रूपमा कसैले सम्पर्क नगरेको जनाएको छ । ‘हामीले सोसल मिडियातिर विद्यार्थी फिर्ता पठाइएको चाल पायौं । तर, कसैले पनि यो समस्या पर्‍यो भनेर दूतावासमा फोन गरेको छैन,’ कार्यवाहक राजदूत रोशन खनालले भनिन्, ‘हामी वास्तविक तथ्य बुझ्न प्रयासरत छौं ।’

प्रकाशित : माघ १९, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्

हुलाकलाई नयाँ जीवन

विश्वभरि नै वाणिज्य बैंक नभएका ठाउँहरूमा हुलाकहरूले वित्तीय सेवा दिँदै आएका छन् । एटीएम मेसिन, रेमिट्यान्स लगायतका आधुनिक सेवा दिने हो भने गाउँगाउँमा नेटवर्क भएको हुलाकले धेरै सेवाग्राहीलाई आकर्षित गर्न सक्छ ।
मैना धिताल

इन्टरनेट र डिजिटल क्षेत्रमा आएको क्रान्तिले सञ्चार र व्यापार–व्यवसाय क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ । केही दशकअघिसम्म विदेशमा भएका आफन्त र परिवारसँग सम्पर्कको मुख्य माध्यम भनेकै चिठीपत्र हुन्थ्यो । अहिले अनुहारै हेरेर कुरा गर्न पाइन्छ । घरमै बसेर औंलाले थिचेका भरमा सामान घर आइपुग्छ ।

यसले वस्तु र सेवालाई सजिलो, छिटो र सस्तो पनि बनाएको छ । विश्व सञ्चार क्षेत्रमा प्रविधि र डिजिटाइजेसनको क्रान्तिसँगै थुप्रै मुलुकका हुलाकले आफूलाई परिवर्तन गर्दै लगेका छन् । नेपालको हुलाक सेवा भने अहिले पनि पुरानै बाटामा घिस्रिरहेको छ ।

विश्वासको खडेरी
नेपालको हुलाक सेवाप्रति जनतामा विश्वासको खडेरी छ । नहोस् पनि किन, हुलाकमार्फत पठाइएका चिठीपत्रहरू सम्बन्धित पत्रवाहककहाँ प्रायः पुग्दैनन् ! पुगिहाले पनि जतनसाथ र समयमा पुग्दैनन् । अझ चिठीपत्र खसाल्न सडकपेटीमा राखिएका पत्रमञ्जुषाप्रति त जनतालाई एकरत्ती विश्वास छैन । मन्दिर आकारका यी पत्रमञ्जुषाका बाकसहरू हुलाक सेवाको विश्वसनीय मन्दिर हुनुपर्ने हो । तर, यी ‘मन्दिर’ बटुवाले पान खाएर थुक्ने भाँडाचाहिँ बनेका छन् । ती मन्दिर के प्रयोजनले राखिएका हुन् भनेर थाहा नपाउने नयाँ पुस्ताका पनि धेरै छन् ।

नेपालको हुलाकले जनतामा विश्वास जगाउनुपर्ने खाँचो छ । क्षतिपूर्तिको व्यवस्था गरेर र सम्बद्ध कर्मचारीलाई जवाफदेह बनाएर गुमेको त्यो विश्वास फेरि आर्जन गर्न सकिन्छ । सामान हराए वा बिग्रेमा क्षतिपूर्तिका लागि बिमाको व्यवस्था हुन सके हुलाकप्रतिको जनविश्वास बढ्ने थियो ।

कोभिडकालमा धेरै कुरिअर र पोस्टल सेवाप्रदायकले कारोबार बढाए । नेपालको हुलाकले भने कोभिडपछि भएको अन्तर्राष्ट्रिय सेवा पनि बन्द गर्‍यो । बन्द भएको एक वर्ष हुँदा पनि सेवा सुचारु गर्ने कुनै छाँटकाँट छैन । त्यो खाली ठाउँ डीएचएल र फेडेक्सजस्ता बहुराष्ट्रिय कुरिअर कम्पनीले भरेका छन् । नेपालमा त्यसै पनि हुलाकभन्दा निजी कुरिअर र कार्गो अपरेटर अग्रस्थानमा देखिन्छन् ।

केही वर्षयता हुलाकबाट हुने चिठीपत्र र प्याकेज सम्बन्धी सेवामा पनि निकै कमी आएको छ । ‘काठमाडौं पोस्ट’ मा २ मार्च २०२१ मा प्रकाशित समाचार अनुसार, आर्थिक वर्ष २०१८–१९ मा हुलाक कार्यालयले करिब ९ लाख चिठीपत्र र पार्सल डेलिभरी गरेकामा २०१९–२० मा १ लाखमा सीमित रह्यो । यो पछिल्लो आर्थिक वर्षमा झनै घट्दो क्रममा छ । त्योसँगै हुलाकको आम्दानी पनि घट्दो छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा आम्दानी ४ करोड रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिका तुलनामा ५ करोडले कम हो ।

ठेगानाको छैन ठेगान
दुई वर्षअघि अमेरिकाबाट एउटा डकुमेन्ट नेपाल पठाउनुपर्ने भयो । छिटो चाहिएकाले यूएस पोस्टल सर्भिस (यूएसपीएस) को एक्सप्रेस मेलमार्फत पठाइएको उक्त डकुमेन्ट ६ देखि १० दिनभित्र पुग्छ भनिएको थियो । भने अनुसार नै त्यो काठमाडौं ओर्लियो । तर, काठमाडौं पुगेपछि हुलाक कार्यालयमै केही दिन थन्कियो । सामान्यतः कुरिअर गरेर पठाइएका डकुमेन्टहरू घरमै पुगेर सम्बन्धित व्यक्तिलाई बुझाउने गरिन्छ । तर हुलाकले भने लिनलाई कार्यालयमै बोलायो । हुलाकले दिएको कारण थियो, ‘पोस्ट बक्स नम्बर हुलाकको उल्लेख गरेको हुँदा घरमा पुर्‍याउन मिल्दैन । यहीँ लिन आउनुपर्छ ।’

विदेशबाट चिठीपत्र वा कुनै पनि डकुमेन्ट पठाउँदा अनिवार्य रूपमा पोस्टल कोड वा जिप कोड चाहिन्छ । तर, नेपालमा घर नम्बर र टोल अनुसार त्यस्तो कोड छैन । त्यसैले काठमाडौंकै पोस्टल कोड राखेर पठाउनुपर्ने बाध्यता हुन्छ । भरपर्दो ठेगानाको अभावमा चिठीपत्र वा डकुमेन्ट पठाइहाल्न सजिलो छैन । अझ भनूँ, विश्वसनीय छैन । निजी कुरिअर सर्भिसहरूले फोन गरेर पुर्‍याउन जान्छन् । सामान्य चिठीपत्र हुलाकबाट पठाउन खोज्नेले त्यो सुविधा कहाँ पाउनु !

हुलाक सेवालाई सुधार गर्ने हो भने त्यसको सुरुआत जोन विभाजन र पोस्टल वा जिप कोड विभाजन गरेर हुनुपर्छ । अमेरिकामा जिप कोड र अन्य मुलुकमा पोस्टल कोड चल्तीमा छन् । एकताका राजधानीको महानगरभित्र घर नम्बर र टोल नम्बर राखिँदा धेरै सजिलो भएको थियो । नयाँ बनेका टोल र घरहरूमा त्यसलाई निरन्तरता दिइएको छैन । वैज्ञानिक किसिमले हरेक क्षेत्रको नक्सांकन र नामकरण हुन जरुरी छ । अहिले भरपर्दो ठेगाना नहुँदा गुगल एपहरू चलाउन पनि मुस्किल छ ।

गल्लीगल्लीभित्रका घरहरूमा पहुँच पुर्‍याउन पोस्टल वा जिप कोडको प्रयोग हुनुपर्‍यो । हरेक घरको विशेष नम्बरसहित वडा र टोल छुट्याएर कोडिङ व्यवस्था गर्ने र चिठीपत्र खसाल्ने बाकस प्रयोगमा ल्याउन सके घरघरमा चिठीपत्र र पार्सल पठाउन धेरै सजिलो हुने थियो ।

सेवामा विविधीकरण र डिजिटाइजेसन
नेपालमा इन्टरनेटसँगै बढेको डिजिटल पत्र (इमेल इन्टरनेट) ले हुलाक सेवालाई ओझेलमा पारेको र व्यापार घटाएको भन्दै विभागकै अधिकारीहरू चिन्ता पोख्छन् । तर, डिजिटल मिडिया र व्यापारले दिएको अवसरबाट लाभ लिनतिर भने खासै ध्यान दिन सकेको देखिँदैन । मान्छेहरूले चिठीपत्र लेख्न छाडे भनेर टाउको समाएर बस्ने हैन, त्यसको विकल्पमा अरू के गर्न सकिन्छ भनेर सोच्ने हो । गर्न सक्ने काम थुप्रै छन् ।

भारतमै पनि हुलाकले सेवामा विविधीकरण गर्दै लगेको छ । उसले साना बचत योजना अन्तर्गत डिपोजिट लिने, पोस्टल लाइफ इन्स्योरेन्स अन्तर्गत जीवन बिमा, ग्रामीण हुलाक जीवन बिमाजस्ता वित्तीय सेवा दिने गर्छ (आउटलुक इन्डिया डटकम, ६ अक्टोबर २०२१) । बिल संकलन, फारम बिक्री, आधार कार्ड अद्यावधिक आदि सेवा पनि गर्छ । रोजगार ग्यारेन्टी योजना अन्तर्गत ज्याला वितरण र वृद्धभत्ता वितरणमा पनि संलग्न छ ।

विदेशतिरका हुलाकहरूले सामान पुर्‍याउने मात्रै हैन, चिठीका खाम, पार्सल बक्स, स्टेसनरी आदि सामान पनि बेच्छन् । पार्सल, पत्रपत्रिका, मनी अर्डर, क्रेडिट कार्ड, बैंकको चेक र स्टेटमेन्ट, लाइसेन्सदेखि घरघरमा पठाइने प्रवर्द्धनात्मक सामग्री आदि ओसारपसार गर्छन् । अमेरिकाको उदाहरण दिनुपर्दा, अनलाइनबाट हुने सामानको डेलिभरी सबैभन्दा बढी यूएसपीएसले नै गर्छ । नेपालमा पनि पछिल्ला वर्षहरूमा अनलाइन र इन्टरनेटमा आधारित ई–कमर्स बिजनेस बढेको छ । फेसबुक लगायतका सामाजिक सञ्जाल र दराज, सस्तोडिल लगायतका अनलाइन स्टोरमार्फत उपभोक्ताले घरमै बसेर अर्डर गर्न थालेका छन् । विभिन्न कम्पनीसँग सहकार्य गरेर हुलाकले त्यसको डेलिभरीको जिम्मा लिन सक्थ्यो, तर गर्न सकेको छैन ।

बैंकिङ कारोबारमा हुलाक
धेरै मुलुकमा हुलाकहरूले नियमित चिठीपत्र ओसारपसारबाहेक बैंक तथा वित्तीय सेवा पनि दिन थालेका छन् । आउटलुक इन्डियाकै अनुसार, भारतमा सन् २०१८ मा हुलाक कार्यालयमै इन्डिया पोस्ट्स पेमेन्ट बैंक र एटीएम सुरु भए । त्यसमा घरदैलो बैंकिङ, मोबाइल बैंकिङ, फोन बैंकिङ र मिस्ड कल बैंकिङजस्ता सेवा उपलब्ध छन् । अमेरिकामा यूएसपीएसले बैंकिङ कार्यक्रमलाई गत सेप्टेम्बरमा पुनः सुरु गरेको छ ।

मकेन्सीको अध्ययनले पनि विश्वभरि नै अधिकांश हुलाक कम्पनीलाई वित्तीय सेवा सञ्चालनको अवसर रहेको देखाएको छ । उनीहरूको भौतिक सञ्जाल ठूलो रहेकाले बैंकहरूभन्दा हुलाकलाई पहुँच पाउन राम्रो अवसर छ । उक्त अध्ययनले फ्रान्सको उदाहरण दिँदै उल्लेख गरेको छ, ‘केही वर्षअघि फ्रान्सको ‘ला बन्क पुस्ताल’ ले युवा सेवाग्राहीका लागि छुट्टै कार्यक्रम ल्यायो । त्यस अन्तर्गत सन् २०१९ मा मोबाइल बैंक सुरु गर्‍यो । डिजिटल सेवा भए पनि हुलाकका कर्मचारीले सेवाग्राहीलाई प्रत्यक्ष रूपमा भेटेर अनलाइन एपबारे जानकारीसँगै उनीहरूलाई उपयुक्त अकाउन्ट कुन हुन्छ भनेर परामर्श दिए । पन्ध्र महिनापछि साढे २ लाख जनाले त्यस बैंकमा खाता खोले ।’

त्यसो त नेपालमा पनि हुलाक बचत बैंक आर्थिक वर्ष २०३३–३४ देखि नै सुरु भएको हो । चार दशकदेखि काम गरे पनि धेरै मानिसलाई हुलाक बचत बैंक छ भन्नेसमेत थाहा छैन । धेरै ठाउँमा यसको उपस्थिति पनि छैन । वाणिज्य बैंकहरूको उपस्थिति हुन नसकेका गाउँबस्तीमा यसलाई विस्तार गर्न सके गतिलो विकल्प बन्न सक्थ्यो । गाउँघरमा विदेशमा काम गर्न गएका सदस्य नभएका परिवार छैनन् । हरेक पालिकामा यस्ता बैंकलाई विस्तार गरी रेमिट्यान्स कारोबारमा पनि लगाउन सकिन्छ । विश्वभरि नै वाणिज्य बैंकको उपस्थिति नभएका ठाउँमा हुलाकहरूले वित्तीय सेवा दिँदै आएका छन् । एटीएम मेसिन, रेमिट्यान्स लगायत अरू खालका आधुनिक सेवा दिने हो भने हुलाकले धेरै सेवाग्राहीलाई आकर्षित गर्न सक्छ । देशभरि र गाउँगाउँमा भएका नेटवर्कबाट हुलाकले धेरै लाभ उठाउन सक्छ ।

संकटको साथी
हुलाक सार्वजनिक सेवा त हुँदै हो, देशलाई जोड्ने महत्त्वपूर्ण पूर्वाधार पनि हो । यसको सामाजिक महत्त्व पनि उत्तिकै छ । यसले परिवार, आफन्त र साथीभाइलाई जोड्छ । संकटका बेला हुलाक सेवा नै एक मात्रै लाइफलाइन बन्ने कुरा इकोनमिक पोलिसी इन्स्टिच्युट (२०२०) लगायतका अध्ययनहरूले देखाएका छन् । भूकम्पजस्ता ठूला प्राकृतिक विपत्ति र युद्धका बेला सञ्चारका आधुनिक प्रविधिहरूले काम नगर्न सक्छन् । त्यस्ता बेला जनतामा सम्पर्क बनाइराख्ने माध्यम भनेको हुलाक नै हो । त्यसैले पनि राज्यले हुलाकलाई जोगाउन आवश्यक छ ।

त्यसो त नेपालको हुलाकका आफ्नै समस्या छन् । सरकारनियन्त्रित हुनाले व्यावसायिक र स्वायत्त रूपमा काम गर्न पाउँदैन । सरकारी बजेट विनियोजनमा पनि हुलाक खासै प्राथमिकतामा पर्दैन । पछिल्ला बजेट भाषणहरूमा हुलाक प्रणालीको पुनःसंरचना गरी आधुनिक र प्रविधियुक्त बनाउने उल्लेख छ । नागरिकता र राहदानी लगायतका डकुमेन्टलाई सुरक्षित रूपले पुर्‍याउन हुलाकको परिचालन गर्ने पनि भनिएको छ । त्यस अनुसार कार्यान्वयनमा भने तदारुकता लिइएको छैन ।

हुलाकलाई साँच्चिकै बचाउने हो भने समयसापेक्ष प्रविधिमा सुधार र सेवा विविधीकरणमा ध्यान दिन जरुरी छ । अमेरिकामा सरकारी हुलाकलाई जनगणनाको सर्वेक्षणमा लगाइन्छ, चुनावका मतपत्रहरू पनि हुलाकमार्फत नै घरघर पठाइन्छन् । लाखौं नेपाली विदेशमा काम गरिरहेको अवस्थामा नेपाल सरकारले पनि हुलाकमार्फत यस्ता सेवा दिनेतिर सोच्नुपर्छ ।

प्रकाशित : माघ १९, २०७८ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×