लन्डन — बेलायतमा कोभिड-१९ नियन्त्रणका लागि राष्ट्रव्यापी लकडाउन भइरहँदा प्रधानमन्त्री कार्यालयमै पार्टी गरिएकोबारे छानबिन प्रतिवेदनपछि प्रधानमन्त्री बोरिस जोन्सन थप आलोचित बनेका छन् ।
प्रधानमन्त्री जोन्सनले आफ्नो कार्यालयमा भएका भनिएका त्यस्ता पार्टीहरूबारे छानबिन गर्न वरिष्ठ निजामति कर्मचारी सु ग्रेलाई जिम्मा दिएका थिए ।
ग्रेले सोमबार प्रधानमन्त्री जोन्सनलाई बुझाएको प्रतिवेदनको सार संसद्मा प्रस्तुत भएपछि प्रधानमन्त्रीको राजीनामाको माग झनै बढेको छ । संसद्मा प्रतिपक्ष लेबरसहित सत्तारुढ सांसदहरूले प्रधानमन्त्री जोन्सनको आलोचना गरेका छन् ।
प्रधानमन्त्रीले भने माफी माग्दै आफू र सरकार विश्वास गर्न लायक भएको जिकीरसहित अब उप्रान्त कार्यालय संचालनमा सुधार गर्ने वाचा गरेका छन् ।
बीबीसीका अनुसार सु ग्रे प्रतिवेदनले लकडाउनका बेला सन् २०२० मे १५ देखि १६ अप्रिल २०२१ सम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शिक्षा मन्त्रालयमा गरी १६ वटा पार्टी आयोजना गरिएको बताएको छ । १६ मध्ये १२ वटा पार्टीबारे लन्डन मेट प्रहरीले अनुसन्धान गरिररहेको छ ।
प्रधानमन्त्री जोन्सनको जन्मदिन, उनका विशेष सल्लाहकार डोमिनिक कमिङको बहिर्गमन, क्रिसमस, प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूको बिदाइका अवसरमा त्यस्ता पार्टी आयोजना भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले नेतृ्त्वको असफलता र काममा मादकपदार्थ पिउने संस्कृतिबारे पनि औंल्याएको छ ।
सुले सो प्रतिवेदन तयार गर्न ७० जनाभन्दा बढीसँग अन्तर्वार्ता गरेकी थिइन् । उनले विभिन्न इमेल, तस्बिर, ह्वाट्स एप म्यासेज, टेक्स्ट म्यासेजसमेत जाँच गरेकी थिइन् ।
प्रहरीले अनुसन्धान गरिसकेपछि उक्त प्रतिवेदनको पूर्ण दस्तावेज प्रकाशित गरिने बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
