प्रवासी नेपालीसँग टाढिँदै दिल्ली दूतावास- विश्व - कान्तिपुर समाचार

प्रवासी नेपालीसँग टाढिँदै दिल्ली दूतावास

कार्यवाहक राजदूतसँग सम्पर्क गर्न पनि कठिन रहेको प्रवासी नेताहरूको गुनासो
राजेश मिश्र

नयाँदिल्ली — भारतस्थित नेपाली दूतावास ‘प्रवासी नेपाली’ का समस्या समाधानप्रति उदासीन देखिएको छ । कोरोनाको तेस्रो लहर फैलिएका बेला उनीहरूको अवस्थाबारे जानकारी लिनसमेत दूतावासले कुनै सक्रियता देखाएको पाइँदैन । प्रवासी नेपालीका सरोकारवाला संघसंस्थाले दूतावासको रवैयालाई लिएर रोष प्रकट गरेका छन् । दूतावासले कोभिडको सन्दर्भमा एउटा सूचना जारी सम्पर्क नम्बर दिनुबाहेक केही नगरेको उनीहरूको गुनासो छ ।

संकटकै बेला दूतावासका अभिभावकको भूमिका खेल्नुपर्नेमा कुनै चासो नदिएको उनीहरूले बताए । विगतमा दूतावासले समन्वय मात्र गरिदिँदा प्रवासी संघ/संगठनले सक्रिय भएर काम गर्दै आएका थिए र त्यसको जस दूतावासले नै पाउँथ्यो । तर पछिल्लो समय दूतावासका कर्मचारी प्रवासीका विषयमा गुनासा सुन्न पनि तयार नहुने नेताहरूको भनाइ छ ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे यति बेला दूतावासले प्रवासी संघ/संगठनसँग कुनै सम्पर्क नगरेको बताए । ‘कोभिडको सन्दर्भमा मात्रै होइन, प्रवासी नेपालीका विभिन्न समस्याका विषयमा जुन ढंगले दूतावास सक्रिय भइदिनुपर्ने हो, त्यो हुँदै भएको छैन,’ उनले भने, ‘हामी आफैले भारत सरकार वा प्रदेश सरकारलाई आग्रह गरेर नेपालीको समस्या समाधान गर्ने कोसिस गर्छौं । दूतावास सक्रिय भइदिए समाधान छिटो हुन्थ्यो ।’

कोभिडका सन्दर्भमा दूतावासले जारी गरेको फोन नम्बरसहितको सम्पर्कको सूचना कर्मकाण्डी मात्रै रहेको माओवादीको भ्रातृ संगठन अखिल भारत नेपाली एकता मञ्चका उपमहासचिव आरबी खड्का बताउँछन् । ‘दूतावासबाट केही सहयोग हुन सक्छ भन्ने खालको विश्वास नै बन्न सकेको छैन,’ उनले भने, ‘जारी गरिएका फोनमा कल गरे फोनै नउठ्ने, उठे पनि समस्या समाधानमा कुनै पहलकदमी नहुने अनुभव प्रवासी नेपालीहरूको छ ।’ कोभिडको संक्रमणको दौरान वा अन्य कुनै विषम परिस्थितिका बेला सामूहिक भूमिकाले राम्रो परिणाम दिने गर्छ तर त्यसतर्फ दूतावासले कुनै अग्रसरता नै नदेखाएको उनले गुनासो गरे ।

दूतावास तीन महिनादेखि कार्यवाहक राजदूतको भरमा छ । तत्कालीन राजदूत नीलाम्बर आचार्य कात्तिक ३ मा बिदा भएका थिए । त्यसयता नियोग उपप्रमुख रामप्रसाद सुवेदी कार्यवाहक राजदूतको भूमिकामा छन् । पछिल्लो तीन महिनाको अवधिमा प्रवासी नेपाली संगठनका अगुवाहरूले दूतावासले कुनै सन्दर्भमा पनि समन्वय नगरेको बताउँछन् । ‘हामी आफैंले कार्यवाहक राजदूतलाई भेट्न खोज्दा पनि मुस्किल हुन्छ, विभिन्न समस्या आइरहेका हुन्छन् । कतिपय अवस्थामा तत्कालै उहाँलाई फोनबाटै वा भेटेर जानकारी गराउनुपर्ने हुन्छ । तर, उनी फोन सम्पर्क वा भेट दुवैका लागि अनिच्छुक देखिन्छन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक प्रवासी नेताले भने, ‘उनको फोन उठ्दैन, कल ब्याक आउने त सम्भावना नै हुँदैन ।’

प्रवासी नेपालीका संघ/संगठनका नेतृत्वलाई भेट्ने सन्दर्भमा कार्यवाहक राजदूतले जहिले पनि आफूलाई व्यस्त देखाउँदै पन्छिने गरेको गुनासो उनीहरूको छ । संघ/संगठनहरूले भारतमा करिब २० लाख नेपाली कामदार रहेको दाबी गर्दै आएका छन् । तर, त्यसको यकिन तथ्यांक दूतावाससँग छैन । भारतमा रहेका कामदारले गत वर्ष सवा खर्ब रेमिट्यान्स नेपाल पठाएका संगठनहरूको दाबी छ । कतारपछि सबैभन्दा बढी रेमिट्यान्स भारतबाट नेपाल भित्रिन्छ । तर, भारतमा रहेका कामदारका विषयमा भने दूतावासले कुनै जिम्मेवारी नै बोध नगर्नु विडम्बना भएको खड्काले बताए ।

संक्रमण फैलिएका बेला प्रवासी नेपालीले कोरोनाविरुद्धको खोप लगाउन चाहेका छन् । तर, धेरैसँग भारतीय आधार कार्ड नहुँदा समस्या छ । ‘व्यक्तिगत सम्पर्क र भनसुनका आधारमा हामीले त्यस्ता समस्या समाधान गर्ने प्रयत्न गरिरहेका छौं,’ खड्काले भने, ‘तर, दूतावासलाई यस्ता कैयन् समस्याबारे जानकारी हुँदा पनि संस्थागत पहल गर्न सकेको छैन ।’ राजदूत नहुँदा कार्यवाहकले त्यसअनुसारको जिम्मेवारीबोध नगरेको पनि खड्काले बताए । दूतावासमा प्रवासीका विषयमा प्रभावकारी ढंगले काम गर्ने गरी केही कर्मचारीसहित श्रम डेस्कको स्थापना गरिनुपर्ने खड्काको सुझाव छ ।

दूतावासका एक अधिकारीले पनि नेपाली संघ/संगठनका नेतृत्वलाई कार्यवाहक राजदूतले महत्त्व नदिँदा भारतका अन्य सहरका नेपालीसँग टाढा रहेको दूतावास पछिल्लो समय दिल्लीका प्रवासीसँग पनि टाढिँदै गएको बताए । कार्यवाहक राजदूत सुवेदीले भने कोरोनाको तेस्रो लहरले कोही नेपाली अप्ठ्यारोमा परेको सूचना दूतावासलाई प्राप्त नभएको दाबी गर्छन् । ‘हामीले फोन नम्बर दिएर सार्वजनिक सूचना जारी गरेका छौं । वेभसाइटमा पनि राखिएको छ । कोही कसैलाई अप्ठ्यारो परे सम्पर्कमा आउन आह्वान गरिएको हो,’ उनले भने, ‘तर, कसैले सम्पर्क गर्नु भएको छैन ।’ आम नेपाली, श्रमिक, विद्यार्थी, व्यवसाय गरेर बस्नेहरुको समस्यामा अग्रसरता लिन र सहकार्य गर्न दूतावास तत्पर रहने उनको भनाइ छ ।

एमालेको भ्रातृ संगठन प्रवासी नेपाली संघका भारत अध्यक्ष लोकनाथ भण्डारीले दिल्लीमा नेपाली दूतावास छ र त्यसले प्रवासी नेपालीको हितमा काम गर्छ भन्ने आश्वस्त पार्न नसकेको बताउँछन् । ‘संकटकै बेला अभिभावकत्व खोज्ने हो । संक्रमण फैलिएका बेला संघसंस्थामार्फत पनि नेपालीको हालखबर बुझ्ने कोसिस गरेको भए दूतावासप्रति राम्रो सन्देश जान्थ्यो,’ उनले भने, ‘तर, त्यसतर्फ दूतावासले सामान्य सक्रियता पनि देखाएको छैन ।’

भारतमा ठूलो संख्यामा नेपाली रहेकाले तिनका व्यावहारिक समस्या कूटनीतिक नभई व्यावहारिक रूपमै समाधान गर्न दूतावास अग्रसर हुनुपर्ने उनले बताए । ‘दूतावासले समन्वय गरिदेऊ, धेरै विषयमा हामी संघसंस्थाहरूले भारतभरि नै काम गर्न सक्छौं भन्दा पनि सुनुवाइ हुँदैन,’ उनले भने । दुई देशबीचको सन्धिअनुसार नेपाली नागरिकताका आधारमा नेपालीले सबै सुविधा पाउनुपर्नेमा त्यो नभइरहेको उनले बताए । भारतीय आधार कार्ड बनाउन नपाउँदा नेपालीले अनेकन समस्याको सामना गर्नुपरेकोतर्फ दूतावास जानकार भए पनि मौन रहेको उनले बताए ।

पछिल्लो समय नेपाली पासपोर्टका आधारमा सिमकार्ड दिन बन्द गरिएको छ । अन्य सबै देशका यात्रुले विमानस्थलमै आफ्नो देशको पासपोर्टका आधारमा सिमकार्ड पाउँछन् । तर, नेपालको पासपोर्टमा भिसाको छाप वा अवधि नलेखिएकाले नेपालीलाई सिमकार्ड दिन रोकिएको छ । यो पछिल्लो समय दिल्ली आउने सबै नेपालीले भोगेको साझा समस्या हो । यस विषयमा दूतावास जानकार भए पनि समाधान गर्नेतर्फ सक्रियता छैन ।

‘यस्ता साना–ठूला कामहरूको चाङ छ, जसलाई दूतावासले समाधान गराउन सक्छ,’ जनसम्पर्क समितिका अध्यक्ष पाण्डेले भने, ‘तर, त्यो काम गर्ने वा समन्वय गरिदिने इच्छा शक्ति नै दूतावासमा देखिँदैन ।’


प्रकाशित : माघ ११, २०७८ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्

सेवा वारि, बास पारि

भारतबाट आउनेको स्वास्थ्य जाँचका लागि झुलाघाटको पुलमा बिहानदेखि खटिने स्वास्थ्यकर्मी बास बस्न भने पारि पुग्छन्
तृप्ति शाही

बैतडी — डिलाशैनी गाउँपालिका–३ सिमारकी अनमी सिर्जना बोहरा नेपाल–भारत नाकाको झुलाघाटस्थित हेल्थ डेस्कमा कार्यरत छिन् । एक वर्षयता कोरोना कहरमा भारतबाट आउनेको स्वास्थ्य परीक्षणमा खटिइरहेकी छन् । नेपालतर्फ नाकामा बिहानैदेखि खटिने उनको बसाइ भने भारतीय बजारमा छ । उनलाई हरेक साँझ बासका लागि पारि जाने हतारो पर्छ ।

महाकाली नदी किनारको झुलाघाट नाकामा वार भीरमाथि सानो बजार छ । त्यहाँ बस्नलाई कोठा नपाउँदा बोहरा गत वर्षदेखि नै भारतीय बजारमा बस्दै आएकी हुन् । नाकास्थित झोलुंगे पुलमा साँझ दुवैतर्फका सुरक्षाकर्मीले ताला लगाउँछन् । हरेक बिहान झिसमिसेमै जब पुलको ताला खुल्छ, बोहरा स्वदेश आउँछिन् । नाका पार गर्ने र कालापारबाट फर्केकाहरुको जाँच गर्न थाल्छिन् । सीमाको हेल्थ डेस्कमा कार्यरत भएबाटै उनी भारतीय बजारमा कोठा लिएर बस्न थालेकी हुन् । ‘नेपालतर्फ बस्ने ठाउँ नै छैन, पसलहरु मात्र छन्,’ उनले भनिन् ।

नेपाल–भारत सीमाको झुलाघाट बजारलाई झोलुंगे पुलले जोडेको छ । वारिपारि आउजाउ टाढा र असहज नभए पनि भारतीय बजारमा बस्दा गाह्रो लागिरहने उनले बताइन् । एक्लै बिनाचिनजानका छिमेकीसँग बस्नुभन्दा गाह्रो उनलाई त्यहाँको वारिपारि गर्ने पुलको गेटले गराउँछ । हिउँदमा साँझ सवा ५ बजे नै पुलको गेट बन्द हुन्छ, बिहान पौने ८ बजे मात्र खुल्छ । उनले भनिन्, ‘अरूको समयमा चल्नु परिरहेको हुन्छ । गेट बन्द हुने समयमा काम नसक्दै पनि दौडिनुपर्छ । साँझ पर्दा गेट बन्द भइहाल्ने डरले समय हेर्दै बस्नुपर्छ ।’ सुरुमा दैनिकजसो पारिको गेटमा भारतीय सुरक्षाकर्मीले सोधपुछ गर्थे । अचेल उनलाई चिन्छन्, सोधपुछ गर्दैनन् ।

त्यहीँ कार्यरत हेल्थ असिस्टेन्ट सुरज धामीको बसाइ पनि भारतीय बजारमै छ । पुलको ढोका बन्द हुनुअघि पारि पुग्नुपर्ने र खोल्नासाथ वारि आउने गत असारबाट गरिरहेको धामीले सुनाए । ‘वारि बस्ने ठाउँ नभएकाले पारि बस्नुपरेको हो । कोरोनाको पोजिटिभि केस हेरिरहेको समयमा पनि गेट बन्द हुने बेला भए छाडेर दौडिनुपर्ने हुन्छ,’ उनले भने, ‘बेलामा नहिंडे अलपत्र परिन्छ ।’ गेट बन्द हुने बेला भारतबाट फर्कनेहरु बढी आउने भए पनि आफूहरु पारि जानुपर्ने हतारमा हुने गरेको उनले सुनाए ।

झुलाघाटमा आगन्तुकको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी ।

सीमा नाकास्थित हेल्थ डेस्कमा ४ जना स्वास्थ्यकर्मी छन् । पुल बन्द हुँदा पारि जाने हतारोले शंकास्पद बिरामीको परीक्षण नै प्रभावित हुन थालेपछि पछिल्लो समय अन्य दुई स्वास्थ्यकर्मी महाकाली भन्सार कार्यालयको एउटा कोठामा बस्न थालेका छन् । तीन महिनायता २ जना वारि नै बस्न थालेपछि केही राहत महसुस भएको उनीहरु बताउँछन् । ‘कोरोना धेरै बढ्यो भने बासका लागि पारि जानै बन्द हुन्छ कि भन्ने चिन्ता छ,’ धामीले भने, ‘दुई जना यतै बस्न थालेपछि साँझ केही सहज त भएको छ तर स्वास्थ्य जाँचको भीड हुने बेला साझ सधैं हतारो हुन्छ ।’

नाकामा खटिएका स्वास्थ्यकर्मीहरुले कोरोनाको जोखिम भत्ता भने पाउन सकेका छैनन् । गत असारमा जोखिम भत्ता पाए पनि अहिले नपाएको धामीले बताए । निकासा नै ढिला भएकाले स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिन नसकेको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए ।

गत शनिबार नाकाको अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसमक्ष पनि स्वास्थ्यकर्मीले बसाइको समस्या राखेका थिए । काम सकेर बस्न पारि जानुपर्ने समस्या सुनेपछि वारि नै बसोबासको व्यवस्थापनका लागि ठाउँ खोज्ने प्रतिबद्धता प्रजिअ पाण्डेले जनाएका थिए । भन्सार कार्यालयमै बसोबासको व्यवस्थापन गर्न ठाउँ अभाव भएकाले केही दिनभित्र अन्यत्र मिलाउने उनले बताए ।

प्रकाशित : माघ ११, २०७८ ०६:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×