आम्स्टर्डम — कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको रोकथामका लागि नेदरल्यान्डमा लकडाउन गरिएको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको समयमा गरिने भोजभतेरका क्रममा मानिसहरूको जमघट बढ्ने भएकाले त्यसलाई रोक्न लकडाउन गर्नुपरेको अधिकारीहरूले जनाएका छन् ।
अत्यावश्यकबाहेकका पसलहरू, मदिरालय, जिमखाना, सैलुनलगायतका सार्वजनिक स्थानहरू जनवरी मध्यसम्मका लागि बन्द गरिएको छ । बिदाका दिनहरूमा प्रत्येक घरले दुई जनासम्म पाहुना डाक्न पाउने बताइएको छ । क्रिसमसको समयमा तीन र नयाँ वर्षमा दुई दिन भने यो संख्या बढाएर ४ पुर्याइएको छ ।
यसैबीच इसाईहरूको प्रमुख चाड क्रिसमसका बेला हुने यात्राले कोभिडविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरूमा पनि भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलन सक्ने विज्ञहरूले बताएका छन् ।
‘यसमा कुनै शंका छैन कि ओमिक्रोन फैलन सक्ने असाधारण क्षमता छ,’ अमेरिकी संक्रामक रोगविज्ञ डा. एन्थोनी फाउचीले एक पत्रकार सम्मेलनमा भने । कोभिड–१९ को संक्रमण र जोखिमबारे अमेरिकी सरकारलाई सुझाव दिने क्रममा फाउचीले ओमिक्रोन हाल ‘विश्वभर फैलिइरहेको’ बताए । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यो भेरिएन्टलाई जोखिमपूर्ण सूचीमा राख्दै थप सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।
ओमिक्रोन कोभिड–१९ को हालसम्मकै उच्च रूपमा उत्परिवर्तित भेरिएन्ट हो । यसलाई थप फैलन नदिन कैयौं राष्ट्रहरूले कडा नियमहरू लागू गर्दै छन् ।
