कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताइवानबारे सम्हालिएर बोल्न अमेरिकालाई चीनको चेतावनी

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले ताइवान मुद्दामा वैदेशिक हस्तक्षेप मान्य नहुने चेतावनी दिएको छ । चिनियाा विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार पत्रकार सम्मेलनमा ‘ताइवान चीनको एक अविभाज्य हिस्सा’ भएको उल्लेख गरेका हुन् । उनले ताइवान मुद्दा चीनको आन्तरिक मामिला भएकाले यसमा वैदेशिक हस्तक्षेप मान्य नहुने पनि बताएका छन् । 

ताइवानबारे सम्हालिएर बोल्न अमेरिकालाई चीनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले आक्रमण गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने अभिव्यक्ति दिएपछि चीनको कडा प्रतिक्रिया आएको हो । शुक्रबार राष्ट्रपति बाइडेनले चीनले आक्रमण गरे ताइवानको रक्षा गर्ने अभिव्यक्ति दिएका थिए । तर पछि ह्वाइट हाउसले ताइवानबारे अमेरिकी नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको थियो ।

ताइवानको रक्षाका बारेमा अमेरिकाले लामो समयदेखि ‘रणनैतिक अस्पष्टता’ को नीति अँगाल्दै आएइको छ । यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकी कदम कस्तो हुन्छ भन्ने स्पष्ट नीति नै छैन । अमेरिकाले ताइवानलाई विभिन्न प्रकारका प्रतिरक्षात्मक हतियार भने उपलब्ध गराउँदै आएको छ ।

चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्नेछ : बाइडेन

अमेरिकाले ताइवान रिलेसन्स एक्टअन्तर्गत रहेर ताइवानसँग रक्षा सम्बन्ध कायम गर्दै आएको छ । बाइडेनले चीन, रुसलगायतका मुलुकले सैन्य शक्ति बढाउँदै गएकोमा पनि आफू चिन्तित नरहेको बताएका छन् । ‘चीन, रुस र बाँकी विश्वलाई हामीसँग इतिहासकै सबैभन्दा शक्तिशाली सैन्य शक्ति छ भन्ने कुरा थाहा छ,’ उनले भने, ‘त्यसैले उनीहरू शक्तिशाली बन्दैछन् भन्ने कुरामा चिन्ता लिनुपर्दैन ।’

‘एक चीन’ नीति अन्तर्गत अमेरिकाले ताइवानमाथि चिनियाँ सम्प्रभुताको दाबीलाई स्वीकार गर्दै आएको छ । पछिल्ला दिनमा चीनले ताइवानको आकाशमा युद्धविमान उडाएको थियो । त्यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि ताइवानसँगको एकीकरण अपरिहार्य रहेको बताएका थिए ।

प्रवक्ता वेनबिनले पत्रकार सम्मेलनमा भने, ‘जब चीनको सम्प्रभुता र क्षेत्रीय एकताजस्ता कुरा आउाछन् त्यसमा कुनै प्रकारको छूटका लागि ठाउा छैन ।’ उनले अगाडि भनेका छन्, ‘ताइवान चीनको अविवादित भूभाग हो । ताइवान मुद्दा चीनको आन्तरिक मामिला हो । यसमा कुनै पनि प्रकारको विदेशी हस्तक्षेप मान्य छैन ।’

त्यस्तै उनले ताइवानका बारेमा बोल्दा अमेरिकालाई शब्दमा ध्यान दिन पनि चेतावनी दिएका छन् । ताइवानको स्वतन्त्रताका लागि पृथकतावादी शक्तिलाई कुनै पनि गलत प्रकारको संकेत दिने अभिव्यक्ति नदिन पनि चीनले अमेरिकालाई चेतावनी दिएको छ । ‘एक अर्ब ४० करोड जनसंख्याको विपक्षमा नउभिनुस्,’ प्रवक्ता वेनबिनले भने ।

ताइवानका बारेमा जान्नैपर्ने केही कुरा

  • चीन र ताइवान सन् १९४० को दशकमा गृहयुद्धका क्रममा विभाजित भएका थिए । चीनले ताइवान कुनै न कुनै रूपमा मेनल्यान्डका रूपमा आओस् भन्ने चाहन्छ ।
  • चीनमा गृहयुद्धका क्रममा चियाङ काई शेकका सैनिक माओ त्से तुङका कम्युनिस्ट सैनिकबाट कुटिएका थिए । चियाङ र उनको कुमिन्ताङ सरकार बाँकी रहेका अधिकारीहरू सन् १९४९ मा भागेर ताइवान पुगेका थिए । धेरै समयसम्म ताइवानमा यही समूहको दबदबा रहेको थियो । स्थानीय नागरिकले सरकार तानाशाही भएकोमा व्यापक विरोध गरेपछि चियाङका छोरा चियाङ चिङ कुओले प्रजातान्त्रीकरणको अभ्यास गरेका थिए ।
  • पछि राष्ट्रपति ली तेङ हुईले संवैधानिक परिवर्तन गर्दै प्रजातान्त्रिक राजनीतिक व्यवस्थातर्फ मुलुकलाई लगेका थिए । उनलाई ताइवानको ‘प्रजातन्त्रका पिता’ पनि भनिन्छ ।
  • ताइवानको आफ्नै संविधान रहेको छ । ताइवानमा प्रजातान्त्रिक तरिकाबाट नेताहरू चुनिन्छन् । ताइवानसँग झन्डै ३ लाख सक्रिय सैनिक रहेका छन् ।
  • ताइवानलाई थोरै मुलुकले मात्रै स्वतन्त्र देशका रूपमा मान्यता दिएका छन् । विश्वका धेरै मुलुकले चिनियाँ सरकारलाई नै मान्यता दिएका छन् । अमेरिका र ताइवानसँग आधिकारिक रूपमा सम्बन्ध स्थापित छैन । तर अमेरिकाले ताइवानले आफ्नो रक्षा गर्न पाउने विषयसँग सम्बन्धित कानुन भने बनाएको छ ।

प्रकाशित : कार्तिक ६, २०७८ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?