इजरायलमा कामका लागि जान खुल्यो बाटो

विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता कार्यान्वयन गर्न बिहीबार दुई देशबीच हस्ताक्षर भएको हो ।
होम कार्की

काठमाडौँ — इजरायलको केयरगिभर क्षेत्र (स्याहारसुसार केन्द्र) मा जान रोकिएको नेपाली श्रमिकका लागि झन्डै ११ वर्षपछि बाटो खुलेको छ । आकर्षक सेवासुविधा र मर्यादित कार्यस्थल मानिएको इजरायलमा श्रमिकमाथि अत्यधिक आर्थिक भार परेको भन्दै सन् २००९ देखि नेपाली जान रोकिएको थियो ।

इजरायलमा कामका लागि जान खुल्यो बाटो

इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता कार्यान्वयन गर्न बिहीबार दुई देशबीच हस्ताक्षर भएपछि नेपालीका लागि बाटो खुलेको हो । प्रोटोकलमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गरेका छन् ।

‘श्रम सम्झौतालाई कार्यान्वयन गर्न प्रोटोकलमा भएको हस्ताक्षरले श्रमिक पठाउने बाटो खोलेको छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले कान्तिपुरसँग भने, ‘मन्त्रालयले आन्तरिक कार्यविधि बनाउनासाथ श्रमिक पठाउने प्रक्रिया सुरु भइहाल्छ ।’

उनका अनुसार पहिलो चरणमा ५ सय जना श्रमिकलाई पठाइनेछ । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन् । ‘तत्काल ५ सय जना जाने हो । त्यसपछि पनि थपिँदै जान सक्छ,’ उनले भने, ‘छनोट विधि र लागतको विषय कार्यविधिले तय गर्नेछ ।’ अब जाने श्रमिकले घरमा नभई अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायतमा काम गर्नेछन् । यसअघि घरमै बस्ने गरी कियरगिभरको काममा नेपालीलाई लगिएको हुन्थ्यो । श्रमिकले मासिक खाना र आवाससहित १५ सय डलर पाउने छन् । राजदूत गोडेरले नेपाली श्रमिकले इजरायली नागरिकसरह नै सेवासुविधा तथा पारिश्रमिक पाउने बताए ।

इजरायलले श्रमिक पठाउने स्रोत देशबाट नर्सिङ क्षेत्रमा २५ सय श्रमिक ल्याउने नीति छ । त्यसमा नेपालबाट ५ सय जना लैजान लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘इजरायलमा नेपालीले सम्मानपूर्वक काम गर्न पाउने छन् । निकै मिहिनेतपछि नेपालीका लागि इजरायल खुल्यो । अब इजरायलको मागअनुसार नेपाली जान पाउनेछन्,’ इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले भनिन् ।इजरायलको श्रमिक भर्ना प्रक्रियामा निजी क्षेत्रलाई सामेल गरिएको छैन ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले दुवै देशको सरकारी संयन्त्रमार्फत नै श्रमिक पठाउने सहमति भएको बताए । ‘श्रमिक छनोट प्रक्रिया सरकारी संयन्त्रबाटै हुन्छ । यसका लागि इजरायली पक्षले विभागलाई पूरै जिम्मेवारी प्रदान गरेको छ,’ दाहालले भने, ‘श्रमिक भर्ना प्रक्रियाका लागि विभागमा तोकिएको कर्मचारीले नै काम गर्नेछ ।’

इजरायलले पठाएको मागपत्रका आधारमा विभागले नै रोस्टर तयार गरेर अनुमतिका लागि मात्रै इजरायल पठाउनेछ । ‘छनोटको मापदण्डबमोजिम सूचना प्रकाशन गर्छौं । सर्ट लिस्टमा परेकालाई अन्तर्वार्ता लिई रोस्टर तयार गर्छौं । त्यसरी छनोट भएका रोस्टरलाई इजरायलमा पठाउनेछौं । उनीहरूले अनुमति पठाएपछि हामी श्रमस्वीकृति दिनेछौं,’ उनले भने । एसएलसी उत्तीर्ण गरी १५ महिने स्वास्थ्य सेवासम्बन्धी अध्ययन गरेका वा प्लस टु उत्तीर्ण गरी तीन महिने कियरगिभरसम्बन्धी तालिम लिएका अंग्रेजी बोल्न सक्नेले इजरायल जान योग्य हुने मानिएको छ ।

इजरायल जाने सबै खर्च भने श्रमिक आफैंले बेहोर्नुपर्छ । मेडिकल परीक्षण, कल्याणकारी शुल्क, बिमा, टिकटलगायतको खर्च श्रमिककै हुनेछ । कति रकम लाग्छ भनेर तय भने भइसकेको छैन । एकपटक गइसकेपछि ५ वर्षसम्म काम गर्न पाइनेछ ।

प्रकाशित : माघ ९, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?