कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकले मच्चाए हिंसा, वासिङ्टनमा कर्फ्यु

सामाजिक सञ्जालबाट ट्रम्पको भिडियो हटाइयो, पूर्वराष्ट्रपतिहरुद्वारा ट्रम्पको आलोचना
एजेन्सी

वासिङ्टन — अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसा भड्काएका छन् । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टन डीसीमा कर्फ्यु लगाइएको छ । स्थानीय समयअनुसार बुधबार साँझदेखि बिहीबार बिहानसम्म कर्फ्यु लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकले मच्चाए हिंसा, वासिङ्टनमा कर्फ्यु

ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका थिए । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् । अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार अहिले क्यापिटल हिल्समा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बुधबार अमेरिकी कंग्रेसले डेमोक्रेटक उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गर्ने कार्यक्रम थियो । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीका अनुसार बुधबार राथि इलेक्टोरल भोटको गणना हुनेछ । उनले भनिन्, ‘डेमोक्रेट नेताहरुका साथै पेन्टागन, न्याय विभाग र उपराष्ट्रपतिसँगको कुराकानीपछि हामीले आज राति प्रक्रिया पूरा गर्नेछौं ।’ यसैबीच अमेरकी क‌ंग्रेसमा बहस सुरु भएको छ ।

राष्ट्रपति ट्रम्पका समर्थकहरुले चुनाव रद्द हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप पनि भएको छ । स्थिति बिग्रँदै गएपछि नेसनल गार्डलाई पनि क्यापिटल हिल्स पठाइएको छ ।

१३ जना पक्राउ

क्यापिटल हिल्समा हिंसा मच्चाएको आरोपमा प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ । वासिङ्टन डीसी महानगरीय प्रहरीका अनुसार ५ थान बन्दुक पनि बरामद गरिएको छ । प्रहरी प्रमुख रोबर्ट कोन्टीका अनुसार पक्राउ पर्ने व्यक्तिहरु डीसी क्षेत्रका भने होइनन् । उनले झडपमा घाइते भएकाहरुको उपचार भइरहेको पनि बताएका छन् ।

एक महिलाको मृत्यु

बुधबार साँझ वासिङ्टन डीसीमा भएको झडपमा परी एक महिलाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार झडपमा प्रहरीको गोली लागी एक जना महिला घाइते भएकी थिइन् । स्थानीय अस्पतालमा उपचाररत उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालबाट ट्रम्पको भिडियो हटाइयो

क्यापिटल हिल्समा हिंसा मच्चिएपछि फेसबुक, युट्युब र ट्विटरले राष्ट्रपतिको सन्देशसहितको भिडियो हटाएका छन् । ट्रम्पले समर्थकलाई शान्ति कायम गर्न र घर फर्किन आग्रह गरे पनि चुनावी नतिजाका बारेमा गलत दाबी गरेका थिए । फेसबुकले भिडियो हटाएको बारे भनेको छ, ‘हामीले सन्तुलन कायम गर्नका लागि हटायौं किनकी यसले हिंसा घटाउनेभन्दा पनि बढाउने खतरा थियो ।’

तस्बिर : एएफपी

हिंसा भड्किनुभन्दा पहिले ट्रम्पले वासिङ्टनका नेसनल मलमा आफूहरुबाट चुनावी नतिजा चोरिएको गलत दाबी गरेका थिए । त्यसको केही घण्टापछि ट्रम्पले पुन: चुनावी नतिजाबारे गलत दाबी गर्दै भिडियो सन्देश सेयर गरेका थिए । युट्युबले चुनावका बारेमा अफवाह फैलाएका कारण भिडियो हटाएको स्पष्टीकरण दिएको छ ।

त्यस्तै पहिले भिडियोमा लाइक, कमेन्ट र रिट्वीट गर्न नमिल्ने बनाइए पनि ट्विटरले पनि पछि उक्त भिडियो हटाइदिएको छ । यसैबीच ट्विटरले ट्रम्पको एकाउन्ट रियल डोनाल्ड ट्रम्पलाई आगामी १२ घण्टाका लागि लक गरिदिएको छ । ट्रम्पले आचारसंहिताविपरीत गरेका ३ वटा ट्वीट नहटाए उनको एकाउन्ट लक भइरहने पनि ट्विटरले चेतावनी दिएको छ । त्यस्तै लगातार यस्तै झूटो दाबी गरिरहे उनको ट्विटर एकाउन्ट नै बन्द हुने सम्भावना रहेको पनि उसले चेतावनी दिएको छ ।

उपराष्ट्रपति पेन्सद्वारा हिंसाको कडा निन्दा

उपराष्ट्रपति माइक पेन्सले हिंसाको कहिल्यै जित नहुने भन्दै वासिङ्टनमा भएको प्रदर्शनको निन्दा गरेका छन् । ‘आज जसले क्यापिटलमा हिंसा मच्चाएका छन्, तिमीहरुले जितेका छैनौ । हिंसाको कहिल्यै जित हुँदैन,’ पेन्सले भने । उनको बुधबारको दिनलाई अमेरिकी इतिहासको कालो दिन भएको पनि प्रतिक्रिया दिएका छन् ।

त्यस्तै ट्रम्पले नै हिंसा भड्काउन सघाएको भन्दै रिपब्लिकन सांसदका साथै पूर्वराष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टनलगायतले पनि कडा आलोचना गरेका छन् । पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले त एक वक्तव्य जारी गर्दै यस प्रकारको ‘राजद्रोह’ पागलपन भएको प्रतिक्रिया दिएका छन् । उनले यस प्रकारको विवाद अमेरिकामा नभएर बनाना रिपब्लिक(असफल गणतान्त्रिक मुलुक) मा मात्र देखिने ताएका छन् । बुसले आफ्नो वक्तव्यमा ट्रम्पको नाम नलिए पनि केही नेता हिंसाका लागि जिम्मेवार रहेको बताएका छन् ।

प्रकाशित : पुस २३, २०७७ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?