कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुसी खोप ‘९२ प्रतिशत प्रभावकारी’

एजेन्सी

मस्को — रुसले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप स्पुतनिक–५ खोप ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ ।

रुसी खोप ‘९२ प्रतिशत प्रभावकारी’

रुसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा खोपको प्रभावकारिता ९२ प्रतिशत देखिएको बताएको हो । अमेरिकी कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको दुई दिनमै रुसले उक्त खोपबारे विवरण सार्वजनिक गरेको हो । रुसले गत अगस्टमै स्पुतनिक खोपलाई स्वीकृति दिएको थियो ।

संसारका अरू मुलुकभन्दा पहिला कोभिड–१९ को खोप बनाउने लक्ष्यका साथ रुसले तेस्रो चरणको परीक्षणबिनै खोपलाई स्वीकृति दिएको थियो । बुधबार सार्वजनिक गरिएको नतिजा १६ हजार मानिसमा गरिएको परीक्षणमा आधारित हो । उनीहरूलाई खोपका दुवै डोज लगाइएको थियो ।

खोप विकासमा महत्त्वपूर्ण भूमिका खेलेको र संसारभर वितरणको जिम्मा पाएको रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले खोपका दुई डोज लगाएका मानिसलाई कोभिड–१९ को संक्रमण हुने सम्भावना ८ प्रतिशत मात्र भएको बताएको छ ।

‘हामीले तथ्यमा आधारित भएर एउटा प्रभावकारी खोप देखाइरहेका छौं,’ फन्डका प्रमुख किरिल दिमित्रिएभले भने । अमेरिकाको फुड तथा ड्रग एडमिनिट्रेसनले ५० प्रतिशत प्रभावकारिता भएको खोपलाई स्वीकृति दिन्छ ।

प्रकाशित : कार्तिक २७, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?