१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भारतमा स्वतन्त्र मिडियाको मृत्यु भएको भन्दै छापियो ‘समवेदना’

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय मिडियाको भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला स्वतन्त्र मिडियाको निधन भएको भन्दै समवेदना अर्थात् शोकसन्देश प्रकाशित भएको छ । भारतीय अंग्रेजी दैनिक द हिन्दुको शुक्रबारको संस्करणमा भारतमा स्वतन्त्र मिडियाको अवसान भएको भन्दै शोक सन्देशको छापिएको हो ।

भारतमा स्वतन्त्र मिडियाको मृत्यु भएको भन्दै छापियो ‘समवेदना’

विगत केही वर्षयता भारतीय मिडियामाथि स्वतन्त्र पहिचान गुमाउँदै सत्तापक्षको पक्षपोषण गरेको आरोप लाग्दै आएको छ । आमनागरिकका मुद्दालाई भन्दै पनि कुनै निश्चित उद्देश्य र स्वार्थबाट प्रेरित भएर समाचारहरु संप्रेषण गरेको आरोप पनि स्वतन्त्र अलोचकहरुले लगाउने गरेका छन् । केहीले त अनौपचारिक संकटकालसमेत भन्ने गरेका छन् । विशेषगरी भारतीय टीभी च्यानलको भूमिकाप्रति प्रश्न उठ्ने गरेको छ । बलिउडका कलाकार सुशान्तसिंह राजपुतको ‘आत्महत्या’ प्रकरणपछि भारतीय टीभी च्यानलहरु थप आलोचित बनेका छन् ।

शुक्रबार नै अम्मु कन्‍नामपिल्लीले समाचार संस्था एएफपीमा एक जना बलिउड कलाकारको मृत्युपछि भारतीय मिडियाको भूमिकाबारे चर्चा गरेकी छिन् । उनले भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको र चीनसँगको सीमामा तनाव हुँदा पनि भारतीय मिडियाले ती विषयलाई पन्छाएर सुशान्तको मृत्यु कसरी भयो भन्ने विषय खोतल्न कम्मर कसेर लागेको अम्मुले बताएकी छिन् । सुशान्त लागुपदार्थ दुर्व्यसनीमा थिएनन् भन्ने ठोकुवा गर्ने र उनकी प्रेमिका रिया चक्रवर्ती दोषी नै हुन् झैं गरी भारतीय सञ्‍चारमाध्यमले सामग्री प्रकाशन प्रसारण गरेको पनि उनले उल्लेख गरेकी छिन् ।

सुशान्तसिंह मृत्यु प्रकरणमा भारतका तीन प्रमुख जाँच एजेन्सीले अनुसन्धान गरिरहेको भए पनि केही सञ्‍चारमाध्यमले भने 'मिडिया ट्रायल' नै चलाइरहेका छन् ।

शुक्रबार प्रकाशित विज्ञापनलाई हाल भारतीय मिडियामा देखिएको तिनै बेथिति र विसंगतिविरुद्धको प्रहारका रुपमा हेरिएको छ । वर्गीकृत विज्ञापनअन्तर्गत छापिएको उक्त शोक सन्देशमा सांकेतिक रुपमा ‘स्वतन्त्रताकी छोरी एवं सत्यकी पत्नी मिडियाको निधन भएकोमा परिवार तथा मित्रको तर्फबाट समवेदना प्रकट’ गरिएको छ ।

मिडियाको मृत्यु भएको भन्दै द हिन्दुमा छापिएको समवेदना

उक्त विज्ञापन शिक्षा, अर्थतन्त्र, नीति र राजनीतिमा चासो राख्ने कार्तिर्क सहनीले छपाएका हुन् । भारतीय अनलाइनहरुका अनुसार दिल्लीको स्टेफन कलेजका पूर्व विद्यार्थी सहनी पब्लिक पोलिसीमा मास्टर्स गर्न हार्वर्ड जाने तयारीमा छन् । ‘अचम्मित, अलमलमा छु तर पनि प्रकाशित गरेकोमा हिन्दुप्रति आभारी छु,’ कार्तिकले ट्विटमा भनेका छन् ।

करिब ४५ वर्षअघि लोकतन्त्रको निधन भएको भन्दै यस्तै किसिमको मिडियामार्फत् समवेदना प्रकट गरिएको थियो । सन् १९७५ को जुन २८ मा पनि यस्तै किसिमको विज्ञापन छापिएको थियो । भारतीय अनलाइनहरुका अनुसार तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएपछि २६ वर्षीय अशोक महादेवनले टाइम्स अफ इन्डियाको बम्बई संस्करणमा प्रजातन्त्रको २८ जुनमा निधन भएको भन्दै समवेदना छपाएका थिए ।

गान्धीले २५ जुन मध्यरातमा संकटकाल घोषणा गरेकी थिइन् । संकटकाल लागेपछि सरकारले मिडियामाथि अकुंश लगाइएको थियो । संकटकालको विरोधमा त्यस्तो विज्ञापन छपाउने महादेवनपछि गएर चर्चित म्यागजिन रिडर्स डाइजेस्टको सम्पादक बन्न सफल भए ।

प्रकाशित : भाद्र २६, २०७७ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?