कतारले श्रमिकको न्यूनतम तलब एक हजार रियाल तोक्यो 

रोजगारदाता आफैं फेर्न पाइने, नयाँ नियमले चार लाख नेपाली लाभान्वित हुने

भाद्र १५, २०७७

होम कार्की

काठमाडौँ — कतारले अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल (३२ हजार रुपैयाँ) तोकेको छ । कतारमा आप्रवासी श्रमिक रोजगारदाता फेर्न पनि स्वतन्त्र हुने भएका छन् । कतारी अमिर शेख तमिम विन हमाद अल्थानीले आइतबार आप्रवासी श्रमिकबीच भेदभाव नरहने गरी न्यूनतम तलब निर्धारण गर्ने तथा रोजगारदाता परिवर्तन गर्न पाउने कानुन स्वीकृत गरेका हुन् ।

राजपत्रमा प्रकाशन भएको ६ महिनामा कार्यान्वयनमा आउने कानुन निजी क्षेत्रमा कार्यरत र घरेलु श्रमिकका हकमा लागू हुनेछ ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कतार सरकारको निर्णय नेपाली श्रमिकका लागि महत्त्वपूर्ण रहेको बताए । ‘नेपाली श्रमिकले भोग्दै आएको न्यूनतम तलबसम्बन्धी समस्या सम्बोधन भएको छ,’ उनले भने । कतारमा ४ लाख नेपाली कार्यरत छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार नयाँ कानुनले कम्तीमा ४ लाख अदक्ष श्रमिकलाई तत्काल फाइदा पुग्नेछ । कतारमा रहेका अदक्ष श्रमिकमध्ये झन्डै ३० प्रतिशत नेपाली छन् ।

यसअघि कतार आफैंले न्यूनतम तलब निर्धारण गरेको थिएन । रोजगारदाता र श्रमिकबीच भएका करारपत्रलाई कार्यान्वयन गर्न नियमनकारी भूमिका मात्रै सरकारको थियो । नेपाल सरकारले एकतर्फी रूपमा पछिल्लो पटक ०६९ माघ १५ देखि कतार जाने अदक्ष श्रमिकको न्यूनतम तलब ९ सय रियाल र खानाबापत ३ सय रियाल निर्धारण गरी कार्यान्वयनमा ल्याएको थियो । 

रोजगारदाताले श्रमस्वीकृतिका लागि मात्रै करारपत्रमा नेपाल सरकारको निर्णयलाई लागू गरेका थिए । नेपाली श्रमिकले ६ सय रियाल मात्र पाउँथे । दुई वर्षअघि कतारले अस्थायी रूपमा ७ सय ५० रियालभन्दा मुनिको करारपत्रलाई प्रमाणीकरण गरेको थिएन । नयाँ नियमअनुसार न्यूनतम तलब एक हजार रियालका अलावा खाना र बसोबासका लागि क्रमशः ३ सय र ५ सय रियाल दिनुपर्नेछ । खाना र आवास सुविधा उपलब्ध गराउने रोजगारदाताले न्यूनतम तलब मात्रै दिए हुन्छ ।

कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्रोले कतारको श्रम बजारलाई आधुनिक र गतिशील बनाउने प्रतिबद्धतालाई आफूहरूले पूरा गरेको बताए । ‘कतारले २०३० का लागि देखेको लक्ष्य प्राप्त गर्न यो कानुन कोसेढुंगा हो । यसले श्रमिक, रोजगारदाता र देशलाई नै फाइदा पुर्‍याउनेछ,’ उनले भनेका छन्, ‘यसको प्रभावकारी कार्यान्वयन गर्न तलब सुरक्षा प्रणालीलाई सुधार गर्नेछौं । श्रम निरीक्षण प्रणाली बनाउनेछौं । कानुन उल्लंघन गर्नेलाई जरिवाना लगाउनेछौं ।’ यो नियम लागू भएपछि अदक्ष श्रमिकका लागि खाडी मुलुक र मलेसियामध्ये कतारमा सबैभन्दा बढी तलब हुनेछ । आईएलओले सबै देशबाट आएका श्रमिकलाई सबै क्षेत्रमा लागू हुने गरी न्यूनतम तलब निर्धारण गर्ने खाडी क्षेत्रको पहिलो देश कतार भएको जनाएको छ । न्यूनतम तलब निर्धारण र स्वतन्त्र रूपमा रोजगारदाता फेर्न पाइने निर्णयलाई आईएलओले ऐतिहासिक कदम भनेको छ ।

नेपालका वैदेशिक रोजगार व्यवसायीका अनुसार न्यूनतम तलब निर्धारणबाट श्रमिक भर्ना प्रक्रिया थप पारदर्शी हुनेछ । ‘हामीले पहिलादेखि नै विदेशमा जाने श्रमिकको न्यूनतम तलब नेपाल सरकारले एकतर्फी होइन, कार्यान्वयन हुन मिल्ने गरी दुईतर्फी सहमतिमा तोक्नुपर्छ भनिरहेका थियौं । एकतर्फी तोक्दा गन्तव्य देशमा लागू भएको थिएन,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहण गुरुङले भने, ‘कतारमा भर्ना प्रक्रिया पारदर्शी बनेको छ । अब करारपत्रमा जालझेल गर्नुपर्दैन ।’

श्रमिक कम्पनी रोज्न स्वतन्त्र

कतारले श्रम कानुनलाई संशोधन गरेर श्रमिकलाई आफ्नो क्षमताअनुसार रोजगारदाता परिवर्तन गर्न बाटो खुला गरिदिएको छ । कानुनमा आप्रवासी श्रमिकको प्रवेश, बहिर्गमन र आवासीयसम्बन्धी प्रावधानहरू संशोधन गरिएको छ ।

यसअघि दुई वर्ष र ५ वर्षसम्म लागू हुने दुईवटा करारपत्र थिए । नेपालबाट दुईवर्षे करारपत्रमा श्रमिक भर्ना गरे पनि कतार पुगेपछि ५ वर्षसम्म लागू हुने करारपत्रमा परिणत गरिन्थ्यो । पाँच वर्ष पुगेपछि मात्रै रोजगारदाताले अर्को कम्पनी (रोजगारदाता) सँग काम गर्नका लागि ‘नो अब्जेक्सन सर्टिफिकट’ (रिलिज पेपर) दिनुपर्ने नियम थियो । यो अवधिभित्र श्रमिकसँग विवाद भए करारपत्र रद्द गरी नेपाल पठाउन सक्ने अधिकार रोजगारदातालाई थियो ।

नयाँ कानुनले रोजगारदातालाई सुविधा दिएको छ । रोजगारदातासँग श्रम विवाद भए श्रमिकले कतार छोड्नु पर्दैन । नयाँ रोजगारदाता खोजी गरी काम गर्न पाइने छ । बाध्यकारी रूपमा एउटै रोजगारदातासँग आबद्ध भइराख्नुपर्दैन । दुई वर्षभन्दा कम काम गरेको भए एक महिना र दुई वर्षभन्दा बढी काम गरेको भए दुई महिनाअघि रोजगारदातालाई कम्पनी छाड्ने सक्नेबारे लिखित सूचना भने दिनुपर्नेछ ।

नयाँ कानुनले कफला प्रणालीभित्र रहेको बहिर्गमनको आवश्यकतालाई हटाएको र अब कतारी श्रम बजारमा नयाँ युग सुरु भएको आईएलओको विज्ञप्तिमार्फत जनाएको छ । एमनेस्टी इन्टरनेसनलले श्रमिकलाई शोषण गर्ने कफला प्रणालीको मुख्य आधार मानिएको प्रावधानलाई हटाएको जनाएको छ ।

‘रोजगारदाताको अनुमतिबिना श्रमिकले रोजगारी परिवर्तन गर्न लामो समयसम्म कानुनले रोक्यो, श्रमिकलाई न्यून तलब दिइयो, रोजगारदाताले श्रमिकलाई शोषण गरिराख्न छुट दियो,’ एमनेस्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्यायका प्रमुख स्टेभ कोकवुमले भने, ‘यी प्रावधान हटाउने निर्णयलाई हामी स्वागत गर्छौं । नयाँ प्रावधानअनुसार श्रमिकको रोजगारदाता परिवर्तन गर्न पाउने अधिकारलाई सुरक्षित गर्न कडाइका साथ कार्यान्वयन गर्न कतारी निकायलाई आह्वान गर्छौं ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully