अरूलाई काखा, नर्सलाई पाखा !- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरूलाई काखा, नर्सलाई पाखा !

नवीन पोखरेल

लन्डन — कोभिड–१९ महामारीका बेला अग्रपंक्तिमा दैनिक १४ घण्टासम्म खटिइन् लन्डनस्थित इलिङ हस्पिटलकी आईसीयू म्यानेजर प्रसुना कँडेल । क्रिटिकल केयर आउटरिच नर्स स्पेसलिस्ट पनि भएकाले उनलाई कामको जिम्मेवारीले सास फेर्ने फुर्सद मिल्दैनथ्यो । त्यसमाथि इलिङ हस्पिटलले कोभिड बिरामी थाम्न नसकेर अवस्था भयावह थियो ।

‘हामी नर्सहरू घर परिवार नभनी ज्यानको जोखिम लिएर फ्रन्टलाइनमा खटियौं । कुनै बेला पीपीईबिना नै आफ्नो तन, मन दिएर काम गरियो । बिरामी आएपछि नहेर्ने भन्ने भएन । तर सरकारले अरू पब्लिक सेक्टरलाई काखा र हामीलाई पाखाको व्यवहार गर्‍यो,’ उनको आक्रोश छ । सेन्ट म्यारिज एनएचएस हस्पिटलमा कार्यरत अर्की नर्स रस्मिता दर्लामीको आक्रोश पनि त्यस्तै छ । ‘कोभिड–१९ का बेला मानसिक र भावनात्मक रूपमा विक्षिप्त हुँदासमेत हामीले काम गर्न छाडेनौं तर सरकारले तलब वृद्धिमा भेदभाव गर्‍यो जुन अस्वीकार्य छ,’ दर्लामी भन्छिन्, ‘नर्सबाहेक अन्य एनएचएस कर्मचारीको पनि बढाइनुपर्छ ।’

प्रसुना, रस्मिता जस्ता बेलायतका हजारौं नर्स यतिखेर सरकारसँग आक्रोशित छन् । ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का नर्सहरू तलब वृद्धिको माग गर्दै आन्दोलित भएका छन् । शनिबार लन्डन, वेल्स, स्कटल्यान्डको एडिनबरा, लिभरपुल, न्युकासल, सेफिल्डलगायत देशका विभिन्न ३० ठाउँमा प्रदर्शन भए । लन्डन सेन्ट जेम्स पार्कमा भेला भएका प्रदर्शनकारीहरूले ह्वाइट हल हुँदै प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिट, पार्लियामेन्ट स्क्वायर वरपर प्रदर्शन गरे । वेल्समा मात्र ४ सहर कार्डिफ, स्वान्सी, मर्थर र ब्रिजेन्डमा यस्तो प्रदर्शन भएको जनाइएको छ ।

हजारौं ब्रिटिस नर्स तथा एनएचएस कर्मचारीहरूले कोरोना संकटका कारण सरकारले गर्ने भनेको तलब वृद्धि चाँडै गरियोस् भन्ने माग गर्दै देशभरि विरोध जनाइरहेका छन् । प्रदर्शनमा सहभागी नर्सहरूले सरकारले आफूहरूलाई ‘पछाडिबाट छुरा हाने’ को भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सरकारले हालै चिकित्सक, डेन्टिस्ट, प्रहरी, शिक्षक, आर्मड फोर्सेस्, न्यायालयलगायत सार्वजनिक क्षेत्रमा काम गर्ने करिब ९ लाख कामदारको तलब वृद्धिको घोषणा गरेको थियो । तर कोभिड–१९ महामारीका बेला आफ्नो जीवन र परिवारको वास्ता नगरी काम गरेका आफूहरूलाई बेवास्ता गरिएको भन्दै एनएचएस नर्स र कर्मचारी आन्दोलित भएका हुन् । छुट्टै सम्झौताअनुसार काम गरिरहेका नर्स, सफाइ कर्मचारी, केयर असिस्टेन्टलगायत १० लाखभन्दा बढीको तलब बढेन । उनीहरूको युनियनले सन् २०१८ मा सरकारसँग गरेको तीनवर्षे सम्झौताअनुसार आगामी अप्रिलदेखि ६.५ प्रतिशतदेखि सबैभन्दा कम तलब पाउने कर्मचारीको २९ प्रतिशतसम्म तलब बढ्नेछ । लन्डनस्थित क्विन एलिजाबेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. बच्चुकैलाश कैनी कोभिड–१९ महामारीका बेला नर्सिङ कर्मचारीको काम निकै चुनौतीपूर्ण र महत्त्वपूर्ण भूमिका रहेको बताउँछन् । ‘एनएचएसमा काम गर्ने नर्सिङ कर्मचारीको तलब उनीहरूको कामको तुलनामा कम छ’, कैनी भन्छन्, ‘अस्पतालमा बिरामीसँग सबैभन्दा बढी समय बिताउने कर्मचारी नर्स नै हुन् । त्यसैले पनि अहिलेको अवस्थामा उनीहरूको काम र योगदानको कदर गर्दै सरकारले तत्काल तलबभत्ता बढाउनुपर्ने माग एकदम जायज र समय सान्दर्भिक छ ।’ एनएचएसमा कार्यरत नर्सहरूको ब्यान्ड र अनुभव हेरी वार्षिक करिब २५ हजारदेखि एक लाख ५ हजार पाउण्डसम्म तलब छ । लन्डनमा कार्यरत नर्सहरूले लन्डन अलाउन्स शीर्षकमा वार्षिक करिब ७ हजार पाउण्ड अतिरिक्त तलब पाउँछन् ।

लकडाउनका बेला एनएचएस कर्मचारीले सर्वसाधारणको भने व्यापक समर्थन र हौसला पाएका थिए । प्रत्येक बिहीबार सर्वसाधारणहरू घर बाहिर निस्किएर ती कर्मचारीको योगदानको सम्मान स्वरूप ताली बजाउने गर्दथे । प्रधानमन्त्री बोरिस जोन्सन र अर्थमन्त्री ऋषि सुनाकले पनि बाहिर निस्केर ताली बजाउने गरेका थिए । तर तलब वृद्धिको लायक नसम्झिएकामा उनीहरू आक्रोशित छन् । कोभिड–१९ का कारण ५ सय ४० जना एनएचएस कर्मचारीले ज्यान गुमाएको बताइन्छ ।

कर्मचारीहरूको एउटा युनियन युनिसनले गरेको एक सर्वेक्षणमा करिब ६९ प्रतिशत पब्लिकले तलब वृद्धि गरिनुपर्ने आवाज उठाएका थिए । एउटा अनलाइन पिटिसनमा तलब वृद्धिको माग गर्दै एक लाख १६ हजार हस्ताक्षर भइसकेको छ ।

रोयल कलेज अफ नर्सिङले अहिले नै तलब बढाउन जोडदार माग गरेको छ । उक्त निकायले ४२ हजार नर्सिङ स्टाफमा गरेको सर्वेक्षणमा ३६ प्रतिशतले यो पेसा नै छाड्ने सोच बनाइरहेको बताएका थिए जसको मुख्य कारण तलब रहेको बताइएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाको ‘हटस्पट’ बन्दै भारत

एक दिनमै ९ सय ३३ जनाको मृत्यु
संक्रमितको संख्या २१ लाखनजिक
सीमावर्ती राज्यमा संक्रमण तीव्र
सुरेशराज न्यौपाने

नयाँदिल्ली — पछिल्ला दिनमा नयाँ संक्रमितहरूको संख्यामा भएको वृद्धिलाई हेर्ने हो भने भारत कोरोना भाइरस (कोभिड–१९) संक्रमणका लागि विश्वकै नयाँ ‘हटस्पट’ बन्नेतर्फ उन्मुख रहेको देखिन्छ । भारतमा शनिबार कोभिड–१९ का थप ६१ हजारभन्दा बढी संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै एक दिनमा थपिएको दोस्रो बढी संख्या हो । यसअघि गत बिहीबार कोभिड–१९ का हालसम्मकै बढी अर्थात् ६२ हजार ५ सय ३८ जना थप बिरामी पहिचान भएका थिए ।

पछिल्लो एक दिनमा थपिएका संक्रमितसँगै भारतमा कुल संक्रमितको संख्याले २० लाख ८८ हजार नाघेको छ । त्यसैगरी पछिल्लो एक दिनमा थप ९ सय ३३ जनाको संक्रमणका कारण मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना भाइरसको मृत्यु हुनेको संख्या ४२ हजार ५ सय १८ पुगेको छ ।

भारतमा पहिलो संक्रमण ३० जनवरीमा केरलामा पुष्टि भएको थियो । तर, करिब ६ महिनामै संक्रमितको संख्याले बीस लाख नाघेको छ । भारतमा संक्रमित संख्या पहिलो एक लाख पुग्न साढे तीन महिना लागेकोमा थप पछिल्लो तीन महिनामा उन्नाइस लाख थपिएका छन् ।

अहिले भारत विश्वका भाइरसले संक्रमित मुलुकहरूमध्ये अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतको दैनिक संक्रमणको वृद्धिदर भने अमेरिकाको १.२ र ब्राजिलको १.६ प्रतिशतभन्दा निकै बढी अर्थात् ३ प्रतिशत छ । यो वृद्धिदर कायम रहने हो भने भारतले केही दिनमै ब्राजिललाई उछिन्ने देखिन्छ । पछिल्लो ६ दिनमा (अगस्ट महिना सुरु भएयता) भारतमा नयाँ संक्रमितको संख्या अमेरिका र ब्राजिलको भन्दा बढी देखिएको छ । जबकि परीक्षण दर भने भारतको यी दुई मुलुकको तुलनामा अझै निकै कम छ । भारतमा परीक्षण दर प्रतिदस लाखमा साढे सोह्र हजारको मात्र छ भने अमेरिकामा करिब दुई लाख र ब्राजिलमा साठी हजारभन्दा बढी छ ।

पछिल्लो समय भारतका आन्ध्रप्रदेश, बिहार, पश्चिम बंगाल, महाराष्ट्र, उत्तरप्रदेश, बिहार र कर्नाटकलगायत राज्यमा संक्रमितको संख्यामा उच्च वृद्धि देखिएको छ । विशेषगरी दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशमा संक्रमण तीव्र रूपमा बढेको देखिन्छ । त्यहाँ शनिबारसम्ममा संक्रमितहरूको संख्याले दुई लाख छ हजार नाघेको छ । उक्त राज्यमा गएको नौ दिनमै त्यहाँ एक लाख नयाँ संक्रमित थपिएका छन् ।

यस अवधिमा अर्को दक्षिण भारतीय राज्य तमिलनाडुमा पचास हजारभन्दा बढी नयाँ संक्रमित पहिचान भएका छन् । त्यसबाहेक महाराष्ट्रमा पनि संक्रमण दिन प्रतिदिन फैलिरहेको छ । महाराष्ट्र भारतको सबैभन्दा बढी संक्रमण हुने राज्यमा पर्छ । त्यहाँ हालसम्म ४ लाख ९० हजारभन्दा बढी संक्रमित भएका छन् । जसमध्ये करिब एक लाख त पछिल्लो दस दिनमै थपिएका हुन् । त्यसबाहेक सबै संक्रमण हुनेमा तमिलनाडु, कर्नाटक र दिल्ली पनि छन् ।

भारतमा संक्रमण बढ्दै गएपछि यहाँ रहेका नेपालीहरूमा पनि संक्रमणको जोखिम बढ्दै गएको छ । संक्रमण उच्च देखिएका महाराष्ट्र, तमिलनाडु, आन्ध्रप्रदेश, दिल्लीलगायत राज्यहरूमा नेपाली कामदारहरूको बाक्लो उपस्थिति छ । पछिल्ला दिनमा संक्रमणको जोखिम बढेकै कारण नेपाली कामदारहरू घर फर्कने क्रम बढेको प्रवासी नेपाली संगठनका प्रतिनिधिहरूले बताएका छन् ।

यसैगरी भारतीय सीमावर्ती राज्यहरू उत्तरप्रदेश, पश्चिम बंगाल र बिहार बढ्दो संक्रमणले पनि नेपालमा जोखिम बढाएको छ । गएको २४ घण्टामा उत्तरप्रदेशमा ४ हजार ४ सय ४ र बिहारमा २ हजार ५ सय ६५ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै उत्तरप्रदेशमा हालसम्म कुल संक्रमितको संख्या १ लाख १३ हजार र बिहारमाा ७१ हजार नाघेको छ ।

त्यसैगरी अर्को सीमावर्ती राज्य पश्चिम बंगालको अवस्था पनि दिनैपिच्छे भयावह बन्दै गएको छ । पछिल्लो एक दिनमा त्यहाँ करिब २ हजारले बढेर ८९ हजार ६ सय ६६ पुगेको छ । नेपालसँग सीमा जोडिएका यी राज्यहरूमा संक्रमण बढ्दै जाँदा नेपालमा संक्रमण फैलने खतरा छ ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा बन्द गरिए पनि दुवैतर्फबाट मानिसहरूको लुकीछिपी आउजाउ गर्ने क्रम जारी छ । जसले गर्दा नेपालका सीमावर्ती क्षेत्रमा पनि जोखिम स्वतः बढेको छ ।

प्लाज्मा थेरापीको प्रभावकारितामा प्रश्न

नेपालमा कोरोना भाइरसका बिरामीहरूको उपचारहरूका लागि प्लाज्मा थेरापी सुरु गर्नेबारे बहस जारी रहेका बेला यता भारतमा भने यसको प्रभावकारितामाथि वरिष्ठ चिकित्सकले नै प्रश्न उठाएका छन् ।

दिल्लीस्थित अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्स (एम्स्) का निर्देशक डा. रणदीप गुलेरियाले प्लाज्मा थेरापीबाट खासै चिकित्सकीय लाभ नभएको उल्लेख गरेको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

‘तीस जना कोभिड–१९ का बिरामीमा परीक्षण गर्दा प्लाज्मा थेरापीको प्रस्ट प्रभावकारिता देखिएन, थेरापी गरिएका र नगरिएका समूहबीच मृत्युदर पनि उस्तै रह्यो र बिरामीको स्वास्थ्यमा सुधार पनि खासै देखिएन,’ उनले भने । साथै उनले यो प्रारम्भिक विश्लेषण मात्र भएको र प्लाज्मा थेरापीबाट लाभ भएको छ कि छैन भन्ने हेर्नका लागि थप विस्तृतमा मूल्यांकन गर्नुपर्ने बताएको पीटीआईले जनाएको छ । गुलेरियाको पछिल्लो भनाइपछि प्लाज्मा थेरापीको प्रयोगमाथि नै बहस सुरु भएको छ । प्लाज्मा थोरापीका लागि सबैभन्दा पहिले निको भइसकेका बिरामीको रगत निकालिन्छ । र, त्यसपछि त्यो रगतमा रहेको कोभिड–१९ एन्टीबडिज भएको प्लाज्मा निकालिन्छ । प्लाजमा निकालेपछि निकालिएको रगतलाई पुनः दातालाई चढाइन्छ । निकालिएको कोभिड–१९ एन्टीबडिजयुक्त प्लाज्मा संक्रमति व्यक्तिलाई दिइन्छ । जसबाट संक्रमितमा व्यक्तिमा रहेका कोभिड–१९ भाइरसविरुद्ध ती एन्टीबडिज लड्छन् । जसका कारण बिरामीको रोगविरुद्धको प्रतिरोध क्षमता बढ्दै जान्छ । फलस्वरूप भाइरसको संक्रमण कम हुँदै जान्छ र बिरामी तंग्रिँदै जान्छ । यद्यपि प्लाज्मा थेरापीले भाइरसको उपचार गर्ने भने होइन । यसले भाइरसविरुद्ध लड्न शरीरको प्रतिरोध क्षमता बढाउने मात्र हो ।

त्यसरी प्रतिरोध क्षमता बढ्दा कोभिड–१९ संक्रमित बिरामी चाँडै निको हुने दाबी गरिएको थियो । यही भएर कोरोना भाइरसका बिरामीहरूमा संक्रमण कम गर्नका लागि प्लाज्मा थेरापी प्रभावकारी हुने भन्दै यसलाई कार्यान्वयनमा ल्याइएको थियो । भारतको केन्द्र सरकारले हाललाई दिल्ली, पन्जाब, कर्नाटक, गुजरात, महाराष्ट्र र केरलालाई मात्र प्लाज्मा थेरापीको परीक्षण गर्न अनुमति दिएको थियो ।

दिल्लीमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले अप्रिल तेस्रो साता संक्रमणबाट निको भएकाहरूलाई प्लाज्मा दान गर्न अनुरोध गरेका थिए । दिल्लीकै केही अस्पतालमा भर्ना गरिएका कोभिड–१९ भाइरसबाट संक्रमित बिरामीहरूमा गरिएको परीक्षणमा प्लाज्मा थेरापी सफल देखिएपछि उत्साहित बनेका केजरीवालले त्यस्तो आग्रह गरेका थिए । उपचारपछि घर फर्केकाहरूमध्ये प्लाजा दान गर्न इच्छुक दाताहरूका लागि अस्पताल आउने/जाने प्रबन्धसमेत मिलाइएको थियो । सबै खर्च सरकारले व्यहोर्ने घोषणा गरिएको थियो । तर, गुलेरियाजस्ता कहलिएका चिकित्सकले नै यसको प्रभावकारितामाथि नै प्रश्न उठाए पछि प्लाज्मा थेरापीलाई निरन्तरता दिने नदिने भन्ने अन्योल सिर्जना भएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ ०७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×