लन्डन — कोभिड–१९ महामारीका बेला अग्रपंक्तिमा दैनिक १४ घण्टासम्म खटिइन् लन्डनस्थित इलिङ हस्पिटलकी आईसीयू म्यानेजर प्रसुना कँडेल । क्रिटिकल केयर आउटरिच नर्स स्पेसलिस्ट पनि भएकाले उनलाई कामको जिम्मेवारीले सास फेर्ने फुर्सद मिल्दैनथ्यो । त्यसमाथि इलिङ हस्पिटलले कोभिड बिरामी थाम्न नसकेर अवस्था भयावह थियो ।
‘हामी नर्सहरू घर परिवार नभनी ज्यानको जोखिम लिएर फ्रन्टलाइनमा खटियौं । कुनै बेला पीपीईबिना नै आफ्नो तन, मन दिएर काम गरियो । बिरामी आएपछि नहेर्ने भन्ने भएन । तर सरकारले अरू पब्लिक सेक्टरलाई काखा र हामीलाई पाखाको व्यवहार गर्यो,’ उनको आक्रोश छ । सेन्ट म्यारिज एनएचएस हस्पिटलमा कार्यरत अर्की नर्स रस्मिता दर्लामीको आक्रोश पनि त्यस्तै छ । ‘कोभिड–१९ का बेला मानसिक र भावनात्मक रूपमा विक्षिप्त हुँदासमेत हामीले काम गर्न छाडेनौं तर सरकारले तलब वृद्धिमा भेदभाव गर्यो जुन अस्वीकार्य छ,’ दर्लामी भन्छिन्, ‘नर्सबाहेक अन्य एनएचएस कर्मचारीको पनि बढाइनुपर्छ ।’
प्रसुना, रस्मिता जस्ता बेलायतका हजारौं नर्स यतिखेर सरकारसँग आक्रोशित छन् । ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का नर्सहरू तलब वृद्धिको माग गर्दै आन्दोलित भएका छन् । शनिबार लन्डन, वेल्स, स्कटल्यान्डको एडिनबरा, लिभरपुल, न्युकासल, सेफिल्डलगायत देशका विभिन्न ३० ठाउँमा प्रदर्शन भए । लन्डन सेन्ट जेम्स पार्कमा भेला भएका प्रदर्शनकारीहरूले ह्वाइट हल हुँदै प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिट, पार्लियामेन्ट स्क्वायर वरपर प्रदर्शन गरे । वेल्समा मात्र ४ सहर कार्डिफ, स्वान्सी, मर्थर र ब्रिजेन्डमा यस्तो प्रदर्शन भएको जनाइएको छ ।
हजारौं ब्रिटिस नर्स तथा एनएचएस कर्मचारीहरूले कोरोना संकटका कारण सरकारले गर्ने भनेको तलब वृद्धि चाँडै गरियोस् भन्ने माग गर्दै देशभरि विरोध जनाइरहेका छन् । प्रदर्शनमा सहभागी नर्सहरूले सरकारले आफूहरूलाई ‘पछाडिबाट छुरा हाने’ को भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सरकारले हालै चिकित्सक, डेन्टिस्ट, प्रहरी, शिक्षक, आर्मड फोर्सेस्, न्यायालयलगायत सार्वजनिक क्षेत्रमा काम गर्ने करिब ९ लाख कामदारको तलब वृद्धिको घोषणा गरेको थियो । तर कोभिड–१९ महामारीका बेला आफ्नो जीवन र परिवारको वास्ता नगरी काम गरेका आफूहरूलाई बेवास्ता गरिएको भन्दै एनएचएस नर्स र कर्मचारी आन्दोलित भएका हुन् । छुट्टै सम्झौताअनुसार काम गरिरहेका नर्स, सफाइ कर्मचारी, केयर असिस्टेन्टलगायत १० लाखभन्दा बढीको तलब बढेन । उनीहरूको युनियनले सन् २०१८ मा सरकारसँग गरेको तीनवर्षे सम्झौताअनुसार आगामी अप्रिलदेखि ६.५ प्रतिशतदेखि सबैभन्दा कम तलब पाउने कर्मचारीको २९ प्रतिशतसम्म तलब बढ्नेछ । लन्डनस्थित क्विन एलिजाबेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. बच्चुकैलाश कैनी कोभिड–१९ महामारीका बेला नर्सिङ कर्मचारीको काम निकै चुनौतीपूर्ण र महत्त्वपूर्ण भूमिका रहेको बताउँछन् । ‘एनएचएसमा काम गर्ने नर्सिङ कर्मचारीको तलब उनीहरूको कामको तुलनामा कम छ’, कैनी भन्छन्, ‘अस्पतालमा बिरामीसँग सबैभन्दा बढी समय बिताउने कर्मचारी नर्स नै हुन् । त्यसैले पनि अहिलेको अवस्थामा उनीहरूको काम र योगदानको कदर गर्दै सरकारले तत्काल तलबभत्ता बढाउनुपर्ने माग एकदम जायज र समय सान्दर्भिक छ ।’ एनएचएसमा कार्यरत नर्सहरूको ब्यान्ड र अनुभव हेरी वार्षिक करिब २५ हजारदेखि एक लाख ५ हजार पाउण्डसम्म तलब छ । लन्डनमा कार्यरत नर्सहरूले लन्डन अलाउन्स शीर्षकमा वार्षिक करिब ७ हजार पाउण्ड अतिरिक्त तलब पाउँछन् ।
लकडाउनका बेला एनएचएस कर्मचारीले सर्वसाधारणको भने व्यापक समर्थन र हौसला पाएका थिए । प्रत्येक बिहीबार सर्वसाधारणहरू घर बाहिर निस्किएर ती कर्मचारीको योगदानको सम्मान स्वरूप ताली बजाउने गर्दथे । प्रधानमन्त्री बोरिस जोन्सन र अर्थमन्त्री ऋषि सुनाकले पनि बाहिर निस्केर ताली बजाउने गरेका थिए । तर तलब वृद्धिको लायक नसम्झिएकामा उनीहरू आक्रोशित छन् । कोभिड–१९ का कारण ५ सय ४० जना एनएचएस कर्मचारीले ज्यान गुमाएको बताइन्छ ।
कर्मचारीहरूको एउटा युनियन युनिसनले गरेको एक सर्वेक्षणमा करिब ६९ प्रतिशत पब्लिकले तलब वृद्धि गरिनुपर्ने आवाज उठाएका थिए । एउटा अनलाइन पिटिसनमा तलब वृद्धिको माग गर्दै एक लाख १६ हजार हस्ताक्षर भइसकेको छ ।
रोयल कलेज अफ नर्सिङले अहिले नै तलब बढाउन जोडदार माग गरेको छ । उक्त निकायले ४२ हजार नर्सिङ स्टाफमा गरेको सर्वेक्षणमा ३६ प्रतिशतले यो पेसा नै छाड्ने सोच बनाइरहेको बताएका थिए जसको मुख्य कारण तलब रहेको बताइएको छ ।
