कोरोना प्रकोप : अमेरिकामा दोस्रो चरण संक्रमणको चेतावनी

वैशाख १०, २०७७

एजेन्सी

वासिङ्टन — रोगसम्बन्धी एक वरिष्ठ विज्ञले अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरण संक्रमणको चेतावनी दिएका छन् । 

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का प्रमुखसमेत रहेका स्वास्थ्य विज्ञ रोबर्ट रेडफिल्डले दोस्रो चरणको संक्रमण फ्लु सिजन सुरु हुने समयसँगै मिल्ने हुँदा अमेरिकाको वर्तमान अवस्थाभन्दा झनै खराब हुनसक्ने रस्थिति भयावह हुने चेतावनी दिएका हुन् । ‘हाम्रो देशमा आउँदो हिउँदमा भाइरसको आक्रमण अहिलेकोभन्दा अझै बढी हुने सम्भावना छ,’ रेडफिल्डले ‘द वासिङ्टन पोस्ट’ सँग बताए । उनले कोरोना भाइरस र फ्लूजस्ता श्वासप्रश्वाससम्बन्धी संक्रमण एकैसाथ फैलनाले अमेरिकाको स्वास्थ्य प्रणालीमा अकल्पनीय तनाव उत्पन्न हुनसक्नेतर्फ पनि औंल्याएका छन् । 

अमेरिकाका कैयौं राज्यले कोभिड–१९ का कारण सञ्चालनमा नरहेका आर्थिक गतिविधि पुनः सुचारु गर्ने तयारी गरिरहेकै बेला वरिष्ठ स्वास्थ्यविज्ञ रेडफिल्डको चेतावनी आएको हो । उनले सबैलाई आउँदा केही महिना सचेत रहन र सामाजिक दूरीलाई निरन्तरता दिन आग्रह पनि गरेका छन् । 

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिएको कोभिड–१९ का कारण विश्वमै सबैभन्दा प्रभावित अमेरिकामा बुधबार बिहानसम्म संक्रमित संख्या ८ लाख २५ हजार नाघेको छ भने ४५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । 

एजेन्सी

Link copied successfully