कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

इटालीको सरकारले दिन थाल्यो घरमै चेक

ददी सापकोटा

पेरिस — कोरोना भाइरसको संक्रमणले घरमै सीमित भएका विपन्‍न नागरिकहरुका लागि इटालीको सरकारले घरघरै चेक बाँड्न थालेको छ । न्यून आय भएका, विपन्‍न परिवारको दैनिक जीवन चलाउन पुगोस् भनेर सरकारले त्यस्ता नागरिकहरुको पहिचान गरी तिनका घरैमा खाना किन्‍नका लागि चेक दिन थालेको हो ।

इटालीको सरकारले दिन थाल्यो घरमै चेक

कोरोनाको संक्रमणपछि हजारौं नागरिकहरु रोजगारविहीन भएपछि तिनलाई दैनिक जीवन गुजाराका लागि आर्थिक सहयोग गर्ने घोषणा इटालीका प्रधानमन्त्री गिसेप कन्तले एक साता अघि गरेका थिए । उनको घोषणासँगै इटालीका विभिन्न प्रान्त, कम्युन र नगरपालिकाहरुले आफ्नो बजेट, आर्थिक क्षमता र नागरिकको अवस्था अनुसार खाद्यान्न वस्तु किन्न सकिने खाद्य चेक वितरण गर्न लागेका हुन् ।


सरकारी निकायमा दर्ता भएर साना साना व्यापार गर्दै आएका व्यापारी, बेरोजगार नागरिक र कोरोनाको संक्रमणपछि रोजगार गुमाएकाहरुले दैनिक उपभोग्य सामान किन्न सकिने चेक पाउने छन् ।


कम्युन, नगरपालिका र आफ्ना वडामा गएर आफ्नो स्थिति अनुसार फर्म भरेपछि खाद्यान्न वस्तु किन्ने यस्तो चेक पाइन्छ । असहायहरुका लागि घरघरै चेक पुर्‍याइदिने व्यवस्थासमेत सरकारले गरेको छ । 'जागिर नभएका, व्यापारपनि सुकेको अवस्थामा नागरिकको जिवन चलोस, लुटपाट नहोस् भनेर इटालीभरि कुपन जस्तो चेक बाँड्न थालेका हुन्,' इटालीको बिजेभानो निवासी शिव रिजालले कान्तिपुरसित भने ।


यस्तो चेक परिवार संख्या, क्षेत्र अनुसार महँगीको स्तर र कम्युन वा नगरपालिकाको आर्थिक स्तर अनुसार बाँड्ने गरिएको छ । राजधानी रोमको नगरपालिकाले जनही पाँच सय युरो दिने घोषणा गरेको छ । तर उता बिजेभानोको कम्युनले भने जनही दुई सय युरो दिने र परिवार संख्या बढ्दै जाँदा जनही थप एक सय ५० युरो दिन थालेको छ । 'धनी नगरपालिका र कम्युनले अलि बढी र अलि कम बजेट भएका नगरपालिका र कम्युनले अलि कम दिन्छन्,' रिजालले बताए ।


दैनिक उपभोग्य वस्तुसमेत किन्न नसक्ने र बेरोजगार बनेर घर धान्नै नसक्ने अवस्थामा पुगेकाहरुलाई आर्थिक सहयोग गर्न इटालियन सरकारले ४० करोड युरो घोषणा गरेको छ ।


'मेरो लागि कोहि छैन भन्ने महसुस हुन दिने छैनौं । यो बेला राष्ट्रिय रुपमै एक अर्काबीच ऐक्यबद्धता, सहयोग र समर्थनको खाँचो छ । सरकारले कुनैपनि नागरिकलाई एक्लो भएको महसुस हुन दिने छैन।,' ४० करोड डलरको राहत कोष घोषणा गर्दै इटालियन प्रधानमन्ती गिसेप कँतले भनेका थिए ।


यस्तो चेक इटालीमा बिहीबार साँझबाटै बाँडन थालिएको हो ।

प्रकाशित : चैत्र २२, २०७६ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?