कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रकोप : कोरियामा ७ जनाको मृत्यु, ७ सय बढी संक्रमित  

देशैभर उच्च सतर्कता घोषणा
गोकुल थोकर

सोल — दक्षिण कोरियाले कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि सतर्कता बढाएको छ । राष्ट्रपति मुन जाय–इनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ‘अभूतपूर्ण र शक्तिशाली कदम’ मा जोड दिँदै देशैभर उच्च सतर्कता बढाइएको घोषणा गरेका हुन् । 

कोरोना प्रकोप : कोरियामा ७ जनाको मृत्यु, ७ सय बढी संक्रमित  

दक्षिण कोरियाको थेगुस्थित एउटा स्थानीय बजारमा आइतबार कीटाणुनाशक पदार्थ छर्दै सुरक्षात्मक पोसाक लगाएका कामदार । तस्बिर ः एपी


‘सरकारले विज्ञका सुझावका आधारमा भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता बढाएको छ,’ राष्ट्रपति मुनले भने । सन् २००९ को सार्स महामारीका बेला पनि सरकारी तवरमै सतर्कता बढाइएको थियो । सरकारी घोषणासँगै अस्थायी रूपमा विद्यालय बन्द गर्न र सार्वजनिक यातायातका साधनका साथै उडानका संख्या कटौती गर्न अधिकारीहरुलाई सजिलो हुनेछ । दक्षिण कोरियामा सोमबार बिहानसम्म ७ सय ६३ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने ७ जनाको मृत्यु भएको छ । आइतबार मात्रै थप १६१ जनामा काेराेनाकाे सक्रमण देखिएको छ ।


नेपालीको दैनिकी प्रभावित

कोरोना संक्रमण फैलिन थालेदेखि दक्षिण कोरियामा बस्ने नेपालीको दैनिकी प्रभावित भएको छ । चीनबाट कच्चा पदार्थ आयात गर्ने र उत्पादन निर्यात गर्ने केही कम्पनी बन्द भएका छन् भने केही साताको दुई तीन दिन मात्रै सञ्चालित छन् । यस्ता कम्पनीमा काम गर्ने नेपाली दिनभर कोठामै बस्नुपर्दा वाक्क लागेको बताउँछन् । कम्पनीमै दिन कटाउनेमध्येमा पर्छन्, चितवनका शिवशंकर महतो । गाडीमा तेल हाल्ने पाइप निर्माण हुने उनी कार्यरत कम्पनीमा चीनबाट कच्चापदार्थ आयात हुने गरेकामा कोरोना संक्रमण फैलिएसँगै रोकिएको छ ।

कुनै सामान आयात भएका छैनन् । त्यसैले कम्पनीमा काम छैन । ‘काम नगरेको दुई साताभन्दा बढी भइसक्यो । बस्दा बस्दा वाक्क लाग्छ । बाहिर जान पाइएको छैन,’ महतोले भने । कम्पनीले काम नभएका दिनलाई कामदारको भइपरी आउँदा पाउने बिदामा कटौती गर्ने भनेकाले उनलाई चित्त नबुझे पनि उनले केही भनेका छैनन् ।

कोरोना भाइरसको केन्द्र मानिएको छाङ्दोस्थित एउटा कम्पनीमा काम गर्छन्, यम श्रीसमगर । उनको कम्पनी र छाङ्दो थेनम अस्पताल २० मिनेट पैदल दूरीमा छ । केही दिनअघि एकजना कोरोना संक्रमितको मृत्यु भएको उक्त अस्पताल नजिकैको छाङ्दो बजार उनीहरूको सामान किन्ने ठाउँ हो । यसकारण पनि उनको मनमा एक खालको डर प्रवेश गरेको छ । ‘हावा चल्दा पनि रोगको कीटाणु आयो कि जस्तो हुन्छ । वनको बाघले नखाए पनि मनको बाघले खान्छ भनेजस्तै भइरहेको छ ।’

महतोको कम्पनीजस्तो यमको कम्पनी पूर्ण रूपमै बन्द भइसकेको भने छैन, बेसिक काम भइरहेका छन् । कम्पनीले भाइरस नफैलियोस् भनेर रोकथामका विविध उपाय पनि अपनाएको छ । बिहान जाँदा सबैको ज्वरो हेरिन्छ । काम सुरु गर्नुअघि अल्कोहलयुक्त झोलले हात धुनु लगाइन्छ । काम गर्दा माक्स अनिवार्य छ । खाना खाँदा एउटै टेबलमा दुई जनाभन्दा बढी बस्न पाइँदैन । कोठामा पनि अनिवार्य मास्क लगाउनैपर्छ । सातामा एक पटक कोठा र कम्पनीमा भाइरसविरुद्धको ‘ग्यास’ छर्किने गरिएको छ । ‘यो सबै देख्दा रोग नलाग्ला जस्तो लाग्छ तर समाचार हेर्‍यो कि डर लाग्छ,’ उनी बताउँछन् ।

महतोको जस्तै हाल छ, युद्ध सलामीको पनि । बुसान नजिकै रहेको उनको कम्पनीमा गत साता तीन दिन मात्रै काम भयो । ‘हाम्रो कम्पनीलाई चाहिने सामान चीनबाट आउँछ रे । त्यही भएर काम छैन भन्छन् ।’ छुट्टी बसेको दिन कामदारले पाउने भइपरी बिदाबाट कटौती हुन्छ । ‘हामीलाई चाहिएको बेलामा प्रयोग गर्न पाइने बिदा कम्पनीले जबरजस्ती सही गराएर लगेको छ । कहिलेसम्म यसरी चल्छ थाहा छैन,’ सलामीले बताए । दक्षिण कोरियामा कामदारले वार्षिक रूपमा १५ दिन भइपरी बिदा पाउँछन् ।


सुरक्षित बस्न आग्रह

दक्षिण कोरियास्थित नेपाली दूतावासले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै सबै नेपालीलाई सुरक्षित तरिकाले बस्न आग्रह गरेको छ । उसले अवैधानिक रूपमा बसेकालाई पनि कोरोनाको शंका लागेमा स्वास्थ्य परीक्षणमा जान भनेको छ ।

‘हामीलाई यहाँको अध्यागमन विभागले अवैधानिक रूपमै बसेको भए पनि कोरोनाको उपचारमा कुनै प्रकारको अप्ठ्यारो नहुने व्यवहोराको पत्र पठाएको थियो । हामीले त्यही आधारमा विज्ञप्ति निकालेका हौं,’ दक्षिण कोरियाका लागि कार्यबाहक नेपाली राजदूत रामसिं थापाले भने, ‘अवैधानिक बसोबास गरेकालाई उपचारमा जाँदा कुनै परिचयपत्र आवश्यक नहुने र उनीहरूलाई कानुनी हैसियतबारे पनि सोधपुछ नहुनेअध्यागमन विभागले हामीलाई जानकारी दिएको छ ।’ नेपालीले काम गर्ने कुनै पनि कम्पनीमा हालसम्म कोरोना संक्रमण नफैलिएको दूतावासले जनाएको छ । कुनै नेपाली घर बिदामा जान चाहे दूतावासले सहयोग गर्ने पनि थापाले बताए । ‘अहिलेसम्म कोरियाबाट घर बिदा जान केही समस्या छैन । कम्पनीले जान दिएन भने हामीलाई भन्दा हुन्छ । हामी सकेको सहयोग गर्छौं,’ थापाले भने ।


इरानमा मृत्यु हुनेको संख्या ८ पुग्यो

कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको संख्या आठ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या ४३ पुगेको छ । भाइरस संक्रमितमध्ये धेरै कोम सहरका रहेका र चीनबाट आउने यात्रु हुँदै संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपोरले राज्य सञ्चालित टेलिभजनलाई बताए । भाइरस नफैलियोस् भनेर कोम सहरका सम्पूर्ण विद्यालय र धार्मिक सभासम्मेलन बन्द गरिएका छन् भने अन्य क्षेत्रका मानिसलाई त्यहाँ नजान भनिएको छ ।

यसैबीच, इटालीमा कोरोना संक्रमितको संख्या सय नाघेको छ । राज्य सञ्चालित टेलिभजनका अनुसार कोरोना भाइरसबाट इटालीमा आइतबारसम्म ११५ जना संक्रमित भएका छन् । इटालीको उत्तरी क्षेत्र लम्बार्डीमा मात्रै ८९ जना संक्रमित पाइएको गभर्नर एट्टिलियो फोन्टानाले आइतबार जानकारी दिएका छन् । संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि सरकारले देशको उत्तरी क्षेत्रका लगभग दर्जनभन्दा बढी सहर बन्द गरेको छ ।

चीन, दक्षिण कोरिया, इरान र इटालीबाहेक जापानको योकोहामा तटीय क्षेत्रमा रोकिएको क्रु पानीजहाजमा ६९० भन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् । आइतबारसम्म कोरोनाका कारण विश्वभर ७८ हजारभन्दा बढी संक्रमित पुष्टि हुँदा चीनकै मात्र ७६ हजार ९३६ जना संक्रमित छन् । कोरोनाका कारण हालसम्म चीनमा सबैभन्दा धेरै दुई हजार ४४२ जनाको मृत्यु भएको छ ।

साेमबार बिहानसम्‍म चीनमा काेराेना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ४ सय ४२ जना पुगेको छ । चीन बाहिर दक्षिण कोरियामा ७, इरानमा ८, जापानमा ४, इटालीमा २, हङकङमा २, ताइवानमा १, फ्रान्समा १, फिलिपिन्समा १ गरी २ हजार ४ सय ६८ जनाकाे मृत्यु भएको छ । चीन बाहिर काेराेनाकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २६ जनाकाे मृत्यु भएको छ । अहिलेसम्‍म विश्वभर ७९ हजार १ सय ४० जना कोरोना भाइरसबाट सक्रमित बनेका छन् भने चीनमा मात्रै ७६ हजार ९ सय ३६ जना सक्रमित बनेका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?