भेनेजुएलालाई सहयोगको अपिल

फाल्गुन ९, २०७६

एजेन्सी

कराकस — भेनेजुएलामा जारी मानवीय संकट समाधानमा सहयोग गर्न अपिल गरिएको छ ।  दक्षिण अमेरिकी क्षेत्रीय समूह लिमाका सदस्य राष्ट्रले लामो समयदेखि राजनीतिक र आर्थिक समस्याले ग्रस्त भेनेजुएलालाई सहयोग गर्न विश्व समुदायसँग आह्वान गरेको हो । 

क्यानडाको क्युबेकमा आयोजित लिमा समूहको बैठकमा सम्बोधन गर्दै क्यानेडाली विदेशमन्त्री फ्रान्स्वाँ–फिलिप चपागले भेनेजुएलामा जारी आन्तरिक द्वन्द्वका कारण ५० लाख मानिस अर्को देशमा शरणार्थी जीवन बिताउन बाध्य भएको प्रति विश्वले ध्यान दिनुपर्ने बताए । ‘भेनेजुएलामा भइरहेको मानवीय पीडा कम गर्न विश्व एकै ठाउँमा उभिनुपर्छ र त्यसका लागि लिमा समूहले अग्रणी भूमिका खेल्नुपर्छ,’ उनले भने । 


‘भेनेजुएला संकट समाधानका लागि तत्काल उपाय खोजिनुपर्छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग हामी मिलेर काम गर्न तयार छौं,’ पेरुका विदेशमन्त्री नेस्टर पोपालिजियोले बैठकमा बताए । 


भेनेजुएलामा राष्ट्रपति निकोलास मादुरो र विपक्षी नेता ह्वा गुआइदोबीचको राजनीतिक संघर्षका कारण लाखौं मानिस आन्तरिक रूपमा समेत विस्थापित भएका छन् । लिमा समुदायले विपक्षी नेता गुआइदोलाई समर्थन गर्दै आइरहेको छ । गुआइदोले गत वर्ष आफूले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । अवैधानिक निर्वाचनमार्फत मादुरो राष्ट्रपति निर्वाचित भएकाले राष्ट्रिय सभाको अध्यक्षका हैसियतमा आफू देशको संविधानअुनसार राष्ट्रपति भएको उनको दाबी रहँदै आएको छ । मादुरोले वैधानिक निर्वाचनमार्फत आफू देशको राष्ट्रपति भएको भन्दै विदेशी शक्तिको आडमा विपक्षीले राष्ट्रघाती काम गरिरहेको आरोप लगाउँदै आएका छन् । 


स्वघोषित राष्ट्रपति गुआइदोलाई ५० भन्दाबढीले मान्यता दिएका छन् भने मादुरोको पक्षमा चीन, रुस र टर्कीजस्ता राष्ट्र देखिएका छन् । लिमा समूहले पनि मादुरोलाई राजीनामा दिएर देशको राजनीतिक निकास खोज्न आग्रह गर्दै आएको छ । समूहमा ब्राजिल, चिली, कोलम्बिया, कोस्टारिका, ग्वाटेमाला, होन्डुरस, पानामा, पाराग्वे, बोलिभिया, मेक्सिको, हाइटी, अर्जेन्टिना र सेन्ट लुसिया आबद्ध छन् ।

एजेन्सी

Link copied successfully