१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चीनियाँ पर्यटकलाई अस्ट्रेलिया आउन प्रतिबन्ध

अस्ट्रेलियाका नेपालीहरु सबै सुरक्षित
नारायण खड्का

काठमाडौँ — अस्ट्रेलियाले चीनियाँ पर्यटकलाई आफ्‍नो देश आउनमा प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री स्कट मरिसनले उक्त घोषणा गर्दै चीनको मुख्य भू–भाग हुँदै अस्ट्रेलिया आउने अन्य पर्यटकहरुलाई समेत बन्देज लगाइएको छ । यो नियम आफ्‍ना नागरिक तथा स्थायी बासिन्दाको अनुमति लिएकाहरु र उनीहरुकाे नजिकका आफन्तलाई भने लागू हुने छैन ।

चीनियाँ पर्यटकलाई अस्ट्रेलिया आउन प्रतिबन्ध

विश्वमा कोरोना भाइरसको प्रकोप बढिरहेको सन्दर्भमा सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै यो घोषणा गरिएको जनाइएको छ ।

अस्ट्रेलिया सरकारले आफ्‍ना नागरिकलाई समेत चीन भ्रमण नगर्न सुझाव जारी गरेको छ । सुझावमा चीनमा रहेका आफ्‍ना नागरिकलाई समेत छिटो देश छाड्‍न आग्रह गरिएकाे छ । शनिबार प्रधानमन्त्री मरिसनले चीनको मुख्य भूभाग हुँदै अस्ट्रेलिया प्रवेश गर्ने विदेशी नागरिकलाई प्रवेश नदिइने उल्लेख गरेका छन् । शनिबारपछि चीनबाट अस्ट्रेलिया आइपुगेका आफ्‍ना नागरिकहरुले १४ दिनसम्म आफूलाई अलग राख्‍नुपर्नेछ ।

अस्ट्रेलियाका विभिन्न राज्यहरुमा रहेका मुख्य स्वास्थ्य अधिकृतहरु सम्मिलित ‘अस्ट्रेलियन हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटी’ले शनिबार बिहान गरेको छलफलपछि कोरोना भाइरसको संक्रमणलाई राेक्‍न कडा नियमकाे सुझाव दिएपछि प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् । मरिसनले एयरर्पोटमा कार्यरत कर्मचारीलाई थप ५ लाख मास्कहरु समेत वितरण गरिने बताएका छन् ।

यसका साथै अस्ट्रेलियाका सबै मुख्य एयरर्पोटमा अत्याधुनिक तथा विशेष जाँचको व्यवस्था गरिएको छ । अस्ट्रेलियाको घरेलु विमान सेवा कम्पनी क्वान्टासले पनि फेब्रूअरी ९ पछि सिड्‍नीबाट चीनको बेइजिङ तथा सांघाईमा सञ्‍चालन गर्दै आएको सिधा उडान सेवा बन्द गर्ने निर्णय गरेको छ । साथै अस्ट्रेलियाले ६ सय बढी आफ्‍ना नागरिकहरुलाई चीनको प्रभावित क्षेत्रबाट उद्दार गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।

विदेशमन्त्री मरिस पाइनले आफ्‍ना नागरिकहरुलाई उक्त क्षेत्रहरुबाट उद्दार गर्ने कार्यको तयारी भइरहेको बताएकी छन् । चीन सरकारको अनुमति आउने बित्तिकै आफ्‍ना नागरिकलाई क्वान्टासको जहाजबाट ल्याउने तयारी सरकारले गरेको समाचारमा जनाइएको छ ।


नेपालीहरु सबै सुरक्षित

अस्ट्रेलियामा अहिलेसम्म यस भाइरसका संक्रमितहरुको संख्या ११ पुगिसकेको छ । अहिलेसम्म सिड्नी, मेलबर्न, ब्रिसबन र एडिलेडमा यस भाइरसबाट संक्रमितहरु पाइएको स्वास्थ्य अधिकारीलाई उल्लेख गर्दै समाचारहरुमा जनाइएको छ ।

यसैबीच क्यानबेरास्थित नेपाली दूतावासले अहिलेसम्म कुनैपनि नेपाली यस भाइरसबाट प्रभावित नभएको जनाएको छ । उनले विभिन्‍न राज्यमा रहेका अवैतनिक वाणिज्य दूतावासमार्फत् यसबारेमा आवश्यकता अनुसार जनचेतना फैलाउने र सुझाव दिने कार्य गरिरहेको जानकारी दिँदै यस भाइरसको संक्रमणबाट नेपालीले अहिल्यै चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए । ‘यस भाइरसबाट बच्‍नका लागि यहाँका स्वास्थ्य निकायहरुले जारी गरेको सल्लाह र सुझावलाई गहनताका साथ पालना गर्न सबैलाई आग्रह गर्न चाहन्छु ।’ राजदूत दहालले भने ।

प्रकाशित : माघ १८, २०७६ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?