कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खसोग्गी हत्या : साउदी अरबविरुद्ध अमेरिकाले कडा कदम नचाल्ने

‘साउदी अरबसँग सैन्य सम्झौता रद्द गर्ने कुनै मनसाय छैन,त्यसो गरेमा रूस र चीनलाई धेरै फाइदा पुग्नेछ’
एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खसोग्गीको हत्याका लागि साउदी अरब या राजकुमार मोहम्मद विन सलमानविरुद्ध कडा कदम नचाल्ने संकेत गरेका छन् ।

खसोग्गी हत्या : साउदी अरबविरुद्ध अमेरिकाले कडा कदम नचाल्ने

कंग्रेस र आफ्नै पार्टीका सदस्यहरूले कडा प्रतिक्रिया जनाउन दबाब दिइरहेका बेला ट्रम्पले साउदी अरबसँग रणनीतिक सम्बन्ध कायम राख्ने संकेत गरेका हुन् । उनले साउदी राजकुमार सलमानलाई हत्याको योजना थाहा भएको भन्ने अमेरिकी गुप्तचर निकायको रिपोर्टलाई समेत अस्वीकार गरेका छन् ।


मंगलबार विस्मयादिबोधक चिह्नसहितको ‘अमेरिका फस्ट’ शीर्षकमा विज्ञप्ति जारी गर्दै ट्रम्पले भनेका छन्, ‘हाम्रा गुप्तचर निकायले सबै सूचना पत्ता लगाउने प्रयास गरिरहेका छन्, राजकुमारलाई यो घटनाबारे जानकारी हुन पनि सक्छ, नहुन पनि ।’


विज्ञप्तिमा उनले साउदी अरबसँग सैन्य सम्झौता रद्द गर्ने कुनै मनसाय नभएको उल्लेख गर्दै यदि रद्द गरेमा रूस र चीनलाई धेरै फाइदा पुग्ने उल्लेख गरेका छन् । ‘हामी सयौं अर्ब डलरको सम्झौतालाई यसै छाड्न सक्दैनौं,’ उनले भनेका छन् । डेमोक्रेटिक पार्टीका सांसदहरूले भने साउदी अरबलाई हतियार बेच्ने सम्झौता रोक्नका लागि प्रस्ताव लैजाने घोषणा गरेका छन् ।


ट्रम्पले आफूहरूको महत्त्वपूर्ण लक्ष्य पूरै विश्वबाट आतंकवादको खतरालाई अन्त्य गर्नु भएको उल्लेख गर्दै अमेरिका आफ्नो हितका लागि र त्यस क्षेत्रमा रहेका इजरायल तथा अन्य सहयोगीको हितका लागि साउदी अरबको मित्र बनिरहने बताए । विज्ञप्तिमा उनले खसोग्गी हत्याका सबै तथ्य थाहा नभएको उल्लेख गर्दै इरानविरुद्ध लड्न साउदी अरब ठूलो सहयोगी हुने बताए ।


थ्याङसगिभिङको छुट्टीका लागि फ्लोरिडा जानुअघि ह्वाइटहाउसमा संवाददातासँग कुरा गर्दै ट्रम्पले ‘अमेरिका फस्ट’ कै सिद्धान्तअनुसार आफूले निर्णय लिएको बताए । उनले साउदी अरबसँग सम्बन्ध तोडेमा तेलको मूल्यले आकाश छुने उल्लेख गर्दै उनले तेलको मूल्यलाई तल कायम गरिरहन साउदी अरबले आफ्नो सहयोग गरेको बताए ।


साउदी अरबको सम्बन्ध परित्याग गरे भयानक गल्ती हुने उल्लेख गर्दै खसोग्गीको नाममा अमेरिकी अर्थतन्त्रलाई क्षति पुर्‍याउन नसकिने बताए । राष्ट्रपतिको निर्णयको रिपब्लिकनकै सिनेटरहरूले आलोचना गरेका छन् । सिनेटर र्‍यान्ड पौलले ट्वीट गर्दै विज्ञप्तिले अमेरिका फस्ट होइन, साउदी अरब फस्ट हुने प्रतिक्रिया दिए ।


सिनेटका परराष्ट्र सम्बन्धका अध्यक्ष बब कोरकर एवं टेनेसीका रिपब्लिकन सदस्यले

ह्वाइटहाउस साउदी अरबका राजकुमारको जनसम्पर्क संस्थाको रूपमा परिवर्तन हुने दिन आउला भनेर आफूले कहिल्यै नसोचेको बताएका छन् ।


डेमोक्रेटिक पार्टीका सिनेटर डीएन फिन्सिटनले पत्रकार जमाल खसोग्गीको हत्याका लागि साउदी राजकुमारलाई कुनै सजाय नहुने राष्ट्रपतिको भनाइ सुनेर आफू आश्चर्यचकित भएको बताए ।

अमेरिकाले टर्कीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा खसोग्गीको हत्यामा भूमिकाका लागि साउदी अरबका १७ जनामाथि प्रतिबन्ध लगाएका थिए ।

प्रकाशित : मंसिर ६, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?