भेनेजुएला संविधानसभा चुनाव: मडुरोद्वारा जित दाबी

श्रावण १७, २०७४

एजेन्सी

काराकस — भेनेजुएलामा विपक्षीहरूको विरोधबीच भएको संविधानसभाको चुनावमा राष्ट्रपति निकोलस मडुरोले विजयी भएको दाबी गरेका छन्।

उनले इतिहासकै सफल चुनावमा विजयी भएको भन्दै खुसी व्यक्त गरेका छन्। चुनाव वहिष्कार गरेकाले निर्वाचित ५ सय ४५ सदस्यीय संविधानसभा सदस्यमध्ये एकजना पनि विपक्षी दलबाट छैनन्। 

मडुरोले ‘भेनेजुएलाका जनता बहादुर’ भएको बताए। साथै उनले नयाँ संविधानसभा भएकोमा जनतालाई बधाई दिए। भेनेजुएलाको नयाँ संविधान लेख्न भएको चुनावमा ८० लाखभन्दा बढी मतदाताले मतदान गरेको अधिकारीहरूले बताएका थिए। उनले आफ्ना पूर्ववर्ती हयुगो चाभेज सत्तामा पुगेपछिको सबैभन्दा सफल चुनाव भएको प्रतिक्रिया दिएका थिए। 

विपक्षीहरूले सरकारी विवरण झूटो भएको बताए। उनीहरूले ८८ प्रतिशत जनताले निर्वाचन वहिष्कार गरेको दाबी गरे। विपक्षीहरूले आइतबारको चुनावलाई मान्यता नदिने बताइरहेका छन्। उनीहरूले अनौपचारिक जनमतसंग्रहमा ७० लाख मतदाताले संविधानसभालाई अस्वीकृत गरेकाले यसको औचित्य नभएको दाबी गरेका छन्। राष्ट्रपति मडुरोका विपक्षीहरूले नयाँ सभाले आफूहरूको बहुमत रहेको कंग्रेसलाई छायामा पार्ने बताएका छन्। उनीहरूले निर्वाचनलाई मडुरोको सत्ता कब्जाको कुटिल चालको संज्ञा दिए। 

विपक्षी तथा प्रहरीबीच भएका झडपमा एक उम्मेदवारसहित १० जनाको मृत्यु भएको हो। राजधानी काराकस र अन्य सहरमा विरोध प्रदर्शन भएका थिए। मृत्यु हुनेमा संविधानसभाका उम्मेदवार र विपक्षी नेता छन्।  अमेरिकी विदेश मन्त्रालयले निर्वाचनले ‘जनताको आत्मसम्मानको अधिकार उल्लंघन’ भएको बताएको छ। युरोपेली संघले लोकतन्त्रका नाममा भेनेजुएलामा भएको विवादास्पद निर्वाचनमा सत्यता मरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। युरोपेली संघका प्रवक्ता मिना एन्ड्रिभाटले भनिन्, ‘चौबीस घण्टाका घटनाले भेनेजुएलाको लोकतन्त्रको खराब स्थितिप्रति युरोपेली संघ चिन्तित छ।’

 उनले हिंसाबाट टाढा रहनुपर्ने बेलामा असन्तुलित र अनावश्यक शक्ति प्रयोग गरेकोमा मडुरोको आलोचना गरिन्। निर्वाचनको क्यानडा, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र मेक्सिकोले निन्दा गरेका छन्। उनीहरूले निर्वाचन परिणामलाई मान्यता नदिने बताएका छन्। 

विपक्षीहरूले दसौं लाख भेनेजुएलका जनताले चुनाव वहिष्कार गरेकाले मडुरोको जित खोक्रो भएको बताए। मडुरोले विरोधको शान्तिपूर्ण समाधानको एकमात्र विकल्प चुनाव भएको बताएका थिए। छिमेकी देश कोलम्बियाले चुनावलाई मान्यता नदिने बताएको छ। 

फ्रान्स, स्पेन, अमेरिका र युरोपेली संघले चुनाव रद्द गर्न गरेको आग्रह मडुरोले अस्वीकार गरेका थिए। संविधानसभा निर्वाचन गराउने घोषणापछिको हिंसामा भेनेजुएलामा एक सयभन्दा बढीले ज्यान गुमाएका छन्। 

एजेन्सी

Link copied successfully