खुल्यो सदर चिडियाखाना

सदर चिडियाखानामा मात्रै ११२ प्रजातिका करिब १२ सय पशुपन्छी छन् । तीमध्ये बर्डफ्लुका कारण चिडियाखानामै जन्मेका र उद्धार गरेर ल्याइएका ८ प्रजातिका ४१ वटा पशुपन्छी मरेका छन् ।

श्रावण ७, २०८३

विशाल कार्की

What you should know

ललितपुर — नेपालकै एकमात्र ठूलो सदर चिडियाखाना २७ दिनको बन्दपछि साउन १ गते खुल्यो । ललितपुरको जावलाखेलस्थित चिडियाखानामा के परिवर्तन आएको छ ? हामीले भिडियो रिपोर्ट तयार गरेका छौँ । 

कुरा जेठ ३० गतेको हो,  सदर चिडियाखानामा अचानक लाटोकोसेरो मर्‍यो । सदर चिडियाखानामै र्‍यापिड टेस्ट गर्दा लाटोकोसेरो बर्डफ्लुले मरेको पत्ता लाग्यो । केही चराचुरुंगी जेठ २९ गते पनि मरेको अवस्थामा भेटिए । 

पशुपन्छी मर्नेक्रम बढेपछि जेठ १ गते त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला (सीभीएल)मा परीक्षणका लागि ३ वटा मरेका चराको नमुना पठाइयो । ७२ घन्टापछि सीभीएलले पनि पीसीआरबाट समेत चराहरू हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एच५एन१)का कारण मरेको पुष्टि गर्‍यो । यो भाइरस बर्डफ्लुमध्येको एउटा प्रकार हो । बर्डफ्लुमै एच५एन१, एच५एन२ र एच७एन९ पशुपन्छीहरूका साथै मानिसमा समेत तीव्ररुपमा संक्रमण गराउने घातक भाइरस हुन् ।

चिडियाखानाका पशुपन्छी मर्नक्रम झन् झन् बढ्न थालेपछि कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चासो देखाइन् । मन्त्री चौधरीको आदेशपछि गठन भएको छानबिन समितिले चिडियाखाना तत्काल सिल गर्न भन्यो । असार ५ गतेदेखि सिल गरेर चिडियाखानाबाट बर्डफ्लु जनस्तरसम्म फैलन नदिन काम भयो । मरेका पशुपन्छीको व्यवस्थापन, संक्रमित खोर निसंक्रमण, बाहिरबाट काग, परेवालगायत पन्छीले संक्रमण जावलाखेलको सदर चिडियाखाना फैलाउन नसक्ने गरी खोर प्लास्टिकले छोपियो, किटानु मार्न खोरको भुँई आगोले पोलियो । 

सदर चिडियाखानामा मात्रै ११२ प्रजातिका करिब १२ सय पशुपन्छी छन् । तीमध्ये बर्डफ्लुका कारण चिडियाखानामै जन्मेका र उद्धार गरेर ल्याइएका ८ प्रजातिका ४१ वटा पशुपन्छी मरेका छन् । 

चिडियाखाना सिल गरेर कर्मचारीले निसंक्रमणको काम गरिरहेका छन् । जीवित पशुपन्छीबाट ६७ वटा स्वाब संकलन गरेर असारको तेस्रो साता त्रिपुरेश्वरको सीभीएलमा पठाइएको थियो । सीभीएलबाट पनि बर्डफ्लु नेगेटिभ आएपछि चिडियाखाना साउन १ गतेदेखि पुन सञ्चालनमा आएको छ । आन्तरिक र बाह्य पर्यटकको टिकटबाट चलिरहेको यस संस्था करिब एक महिना बन्द हुँदा तीन करोड रुपैयाँबराबरको आर्थिक क्षति भएको चिडियाखाना प्रशासनले बताएको छ ।  

बर्डफ्लुले पशुपन्छी मरेपछि खोरमा रातो रिबन बाँधिएको छ । हावाबाट सिधै मानिसमा बर्डफ्लु नसर्ने भए पनि पर्यटकलाई रातो रिबन बाँधिएको खोरमा धेरैबेर नबिताउन भनिएको छ । अनिवार्य मास्क लगाउन र खोर नछुन भन्दै सूचना जारी गरिएको छ । बर्डफ्लुबाट पशुपन्छी मरेपछि तीसदेखि चालीस दिनसम्म खोर खाली राख्न छानबिन समितिले सिफारिस गरेको छ । चिडियाखाना खुल्ने र बन्द हुने सयम पनि परिवर्तन गरिएको छ ।

विशाल

Link copied successfully