सावधान ! तपाई ट्राफिक प्रहरीको निगरानीमा हुनुहुन्छ

ट्राफिक प्रहरीको कन्ट्रोल रुमबाटै भइरहेको ‘रियल टाइम’ निगरानीमा तपाईंले ट्राफिक नियम मिच्नासाथ चिट काटिहाल्छ ।

असार २२, २०८३

शिखा श्रेष्ठ

What you should know

काठमाडौँ — सडकमा ट्राफिक प्रहरी नभएको मौका छोपेर तपाई कतै ट्राफिक नियम उल्लंघन त गरिरहनु भएको छैन ? वा मध्यरात सुनसान बाटो देखेर रातो ट्राफिक बत्ती बलिरहेकै बेला पनि नरोकि हुईंकिनु भएको छ ? यदि त्यस्तो हो भने तपाई कारबाहीको दायरामा पर्ने निश्चित प्रायः छ । किनकी काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा राखिएका २ सय ९७ क्यामेराबाट ट्राफिक प्रहरीले तपाईंलाई सडकमा चौबिसै घण्टा निगरानी गरिरहेको छ । ट्राफिक प्रहरीको कन्ट्रोल रुमबाटै भइरहेको ‘रियल टाइम’ निगरानीमा तपाईंले ट्राफिक नियम मिच्नासाथ चिट काटिहाल्छ ।

ट्राफिक प्रहरी नभएको मौका छोपेर रातो बत्तीमा पनि गाडी हुईक्याइ हाल्ने, जाम देख्नासाथ फुटपाथमा बाइक चढाइ हाल्ने अनि स्पिड लिमिटलाई वास्ता नगर्ने बानी छ भने पनि सुधारिहाल्नुस् । किनकि, तपाईंले ट्राफिक प्रहरीलाई नदेखे पनि ट्राफिक प्रहरीले तपाईंलाई निरन्तर निगरानी गरिरहेको छ ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र स्वचालित प्रणालीमा ढाल्न अहिले ट्राफिक कन्ट्रोल रुमबाटै ‘रियलटाइम’ निगरानी र कारबाहीलाई तीव्रता दिइएको हो । हाल काठमाडौं उपत्यकाका ९ सय ५० सार्वजनिक स्थानका सीसीटीभी क्यामेरामध्ये २ सय ९७ वटाको लिंक ट्राफिक प्रहरीको कन्ट्रोलरुममा सीधै पुग्छन् । जसबाट ट्राफिक प्रहरीले चौबिसै घण्टा सडक, सवारीको निगरानी गरिरहेका हुन्छन् । पछिल्लो समय मासिक ४ हजारदेखि ५ हजार सवारीसाधनलाई सीसीटीभीकै सहायताले कारबाहीको दायरामा ल्याइएको छ ।

‘स्मार्ट ट्राफिक लाइटको सिस्टम र एआई जेनेरेटेड क्यामेराको माध्यमबाट भ्यालीभित्रको ट्राफिक व्यवस्थापन हुन्छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्ले भन्छन्, ‘कुनै पनि सडक प्रयोगकर्ताले ट्राफिक नियमको उल्लंघन गर्नुभयो भने त्यसको आधारमा कारवाही भईरहेको छ । कन्ट्रोल रूमबाट तपाईंको घरसम्म बील पठाउने हैसियतमा ट्राफिक प्रहरी जाँदैछ । प्रविधिको निगरानीबाट बच्ने मौका कमै हुन्छ, यसले कसैलाई भेदभाव पनि गर्दैन ।’

उपत्यकामा जडित २९७ मध्ये ६ वटा विशेष प्रविधियुक्त एएनपीआर अर्थात सवारी साधनको नम्बर प्लेट र गति पत्ता लगाउन सक्ने क्यामेरा हुन् । यसले तीव्र गतिका कारण हुने सडक दुर्घटना न्यूनीकरणमा ठूलो मद्दत पुगेको ट्राफिक प्रहरीको भनाइ छ ।

‘हामीले स्क्रिनमा रियल टाइम हेरेर फिल्ड प्रहरीमार्फत दैनिक कारवाही चलाईरहेका छौं,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी अमरेन्द्र सिंहले कान्तिपुरसँग भने, ‘संभावित दूर्घटनाहरूलाई न्यूनीकरण गर्न हामीले सधैं नै निगरानी गरिरहेका हुन्छौं ।’

प्रविधिलाई अँगाल्न थालेयता सडकमा दिनभरि उभिने ट्राफिक प्रहरीको संख्या पनि घटाइएको छ । अब क्रमशः सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थिति बिना प्रविधिको माध्यमबाट ट्राफिक व्यवस्थापन अर्थात फेसलेस ट्राफिक सिस्टम कार्यान्वयन गर्ने तयारी भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।

ट्राफिक प्रहरीले आवश्यकता अनुसार चोकको चारैतिर ३६० डिग्री घुमाउन मिल्ने र जुम गर्न मिल्ने क्यामेरा पनि प्रयोग गरिरहेको छ । सडकको चाप हेरेर कन्ट्रोलरुमबाटै तत्कालै ट्राफिक व्यवस्थापन गर्न यो क्यामेराले मद्दत गर्ने विश्वास गरिएको छ ।

यसका साथै ट्राफिक प्रहरीले अब ट्राफिक प्रणालीलाई पूर्ण स्वचालित बनाउने योजना बनाएको छ । जसअन्तर्गत ट्राफिक प्रहरीको डेटाबेसमा कैद हुने फुटेज र यातायात व्यवस्था विभागको डेटाबेसलाई एकीकृत गरिनेछ । यो प्रविधि लागू भएपछि नियम उल्लंघन गर्ने सवारीधनीको मोबाइलमा सीधै जरिवाना र कारबाहीको मेसेज जानेछ ।

साथै कन्ट्रोलरुमलाई थप विस्तार गरी अत्याधुनिक ट्राफिक म्यानेजमेन्ट सेन्टर स्थापना गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ । प्रविधि र सफ्टवेयरहरू एकीकृत गरी उपत्यकाको ट्राफिकलाई पूर्णरूपमा डिजिटल नियन्त्रणमा राख्ने योजना ट्राफिक प्रहरीको छ ।

शिखा श्रेष्ठ कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।

Link copied successfully