विश्वकप फुटबल ‘स्क्रिनिङ’ : विदेशीहरू नेपालीसँग बसेर हेर्छन् आफ्नो राष्ट्रको खेल

काठमाडौँको रात्रीकालीन जीवन आफैँमा चलायमान छ। त्यसमाथि जारी फुटबल विश्वकपको रौनक थपिएपछि यहाँका क्लब र रेस्टुरेन्टहरू मध्यरातसम्मै गुञ्जायमान हुन थालेका छन्।

असार २०, २०८३

विशाल कार्की

What you should know

काठमाडौँ — विश्वकप फुटबलको नकआउट चरण चलिरहेको छ। खेलको सातौँ मिनेटमै डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोका फरवार्डर ब्रायन सिपेङ्गाले इङ्गल्याण्डविरुद्ध एक गोल गरे।

कङ्गोको खेल कौशलले हलको आधा भागका दर्शक र समर्थकलाई निराश बनाएको छ। सन्नाटा छाएको थियो। कङ्गोले इङ्गल्याण्डलाई दबाबमा राखेपछि चिन्तित देखिएका छन् लिभरपुलका अनन्या, शिवानी र म्यानचेस्टरका माइकल एअर।

उनीहरू आफ्नो राष्ट्रले खेलिरहेको नकआउट चरण विदेशी समर्थकहरूसँग बसेर हेरिरहेका छन्। पहिलो हाफमा कङ्गो इङ्गल्याण्डविरुद्ध हाबी छ। कङ्गोको खेल हेर्दा इङ्गल्याण्ड नकआउटबाटै घर फर्किने अवस्था देखिएपछि उनीहरूमा छटपटी छ। नेपालीलगायत अन्य देशका समर्थक भने उनीहरूलाई चिढ्याएझैँ कङ्गोको हरेक मुभमा स्वर भरिरहेका छन्। फुटबलप्रेमीको यो दृश्य ठमेलको शेर्पा पब एन्ड स्पोर्ट्स क्लबको हो।

काठमाडौँको रात्रीकालीन जीवन आफैँमा चलायमान छ। त्यसमाथि जारी फुटबल विश्वकपको रौनक थपिएपछि यहाँका क्लब र रेस्टुरेन्टहरू मध्यरातसम्मै गुञ्जायमान हुन थालेका छन्। घरको सानो कुनामा बसेर टिभी हेर्नुभन्दा साथीभाइ र अपरिचित फुटबलप्रेमीहरूसँगै बसेर हुटिङ गर्नुको मज्जा नै बेग्लै!

काठमाडौँको ठमेललगायत देशका साना–ठूला होटल, रेस्टुरेन्ट र बारहरूमा अहिले विश्वकपको लाइभ स्क्रिनिङ भइरहेका छन्। खेलको यो उत्साहले खेलप्रेमीलाई मात्र होइन, व्यवसायलाई पनि टेवा पुर्‍याएको छ। स्वदेशी समर्थक एवं विदेशी पर्यटक खेलका कारण लामो समय बस्दा व्यवसाय प्रत्यक्ष रूपमा फस्टाउन सहयोग पुगेको छ।

शेर्पा पबमा अन्तर्राष्ट्रिय खेलको स्क्रिनिङ हुँदा विदेशी पर्यटकसहित खेल हेर्नेको घुइँचो हुन्छ। ७० देखि ८० जना क्षमताको क्लबमा डेढ सय जनासम्मलाई खेल देखाएको क्लबका सञ्चालक शंकर न्यौपानेको अनुभव छ। ठमेलको क्लबमा पुगेर हामीले विश्वकप फुटबल स्क्रिनिङले चलायमान बनाएको खेल पर्यटनको भिडियो तयार पारेका छौँ।

विशाल

Link copied successfully