मनसुनजन्य विपद् प्रतिकार्य र पूर्वतयारीका लागि सरकारी योजना के छन् ? संघीय स्तरदेखि जिल्ला तहसम्म कसरी समन्वय कसरी हुन्छ ? गत वर्ष पहिरोबाट ठूलो मानवीय क्षति बेहोरेको इलाम र पाँचथरका घटना समेतलाई समेटेर हामीले भिडियो सामग्री तयार गरेका छौं ।
What you should know
काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाले पहाडी भेगमा यस वर्ष कम पानी पर्ने, गर्मी धेरै हुने सूचना जारी गरेको छ । कम पानी पर्ने पूर्वानुमान प्रि-मनसुनमै धेरै पानी परिसकेकाले गरिएको हो ।
प्रत्यक्ष रूपमा प्रि-मनसुन र मनसुनको त्यति धेरै सम्बन्ध नहुने भएकाले कम वर्षा हुने सम्भावना धेरै त छ, तर पूर्वानुमानविपरीत यो वर्ष ठूलो वर्षा हुन पनि सक्छ । धेरै पानी परे बाढी, पहिरो, डुबान, चट्याङ जस्ता विपद्का घटना हुन सक्छन् भने कम परे खडेरी, लुजस्ता विपद् आउन सक्छन् ।
यस्ता विपद्को पूर्वतयारी र प्रतिकार्यमा मौसम पूर्वानुमान महाशाखा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, तीनै सुरक्षा निकायले काम गर्छन् । प्रदेश तह, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा आपत्कालीन कार्य सञ्चालन केन्द्र, मनसुन प्रतिकार्य कमान्ड पोस्ट, निजी क्षेत्र तथा अन्य निकायहरूसँगको समन्वयमा हुने गरेको छ ।
विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि विभिन्न सरकारी कोषमा करिब ७ अर्ब ५६ करोड २३ लाख रुपैयाँ मौज्दात छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै तहका कोषमा मौज्दात रकमको अवस्था के छ ? अपुग भए रकम माग गर्न सूचना जारी गरेको छ । विपद् प्रतिकार्यमा कुनै कमी कमजोरी हुन नदिन प्राधिकरणले कार्ययोजना नै बनाएको छ । जसमा जिम्मेवारी बाँडफाँडदेखि विपद्मा जिम्मेवार व्यक्ति र निकायको सम्पर्क नम्बर पनि सार्वजनिक भएको छ ।
३० वर्षयताको मनसुन हेर्दा नेपालमा वर्षभर पर्ने कुल वर्षाको करिब ८० प्रतिशत पानी मनसुनकै समयमा हुने गर्दछ । तर, यस पटक वर्षा कम हुने त भनिएको छ । तर लु, खडेरीजस्ता विपद् प्रतिकार्यको योजना भने सरकारसँग छैन । निकायहरू बाढी, पहिरो, डुबानमा केन्द्रित हुँदा पनि राजधानीमै उद्धार गर्न चुकेका दृष्टान्त छन् ।
मनसुन सकियो भनेको बेला बर्खाको अन्तिममा खस्ने पहिरोले नेपालमा पछिल्ला वर्षहरूमा ठूलो संख्यामा मानवीय क्षति हुने गरेको छ । यो वर्ष त यही जेठ ८ गते नै बाढी आयो । राति लगातार वर्षा हुँदा पाँचथर र तेह्रथुमलाई जोड्ने निर्माणाधीन पक्की मोटरेबल पुल बगायो । त्यहाँ सञ्चालित हाइड्रो पावर, घरसहित दर्जनौँ संरचनामा क्षति पुग्यो । २०८२ सालमा पोस्ट-मनसुनमा पहिरोले इलाम र पाँचथरमा ३८ जनाको ज्यान गयो । मनसुनमा विपद्बाट क्षति कम गर्न सरकारी निकायले खुबै तदारुकता देखाए पनि पोस्ट-मनसुनमा पहिरोले ठूला घटना हुने गरेका छन् ।
मनसुन विपद् प्रतिकार्य र पूर्वतयारीका लागि सरकारी योजनाहरू के छन् ? संघीय स्तरदेखि जिल्ला तहसम्म कसरी समन्वय कसरी हुन्छ ? गत वर्ष पहिरोबाट ठूलो मानवीय क्षति बेहोरेको इलाम र पाँचथरका घटनासमेतलाई समेटेर हामीले भिडियो सामग्री तयार गरेका छौँ ।