दैलेखमा भेटिएको ग्यासको उत्पादन र वितरण कहिलेबाट होला ?

दैलेखमा भेटिएको १ सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यासको उत्पादन कसरी होला र यो कहिलेसम्म सर्वसाधरणको पहुँचमा पुग्ला भन्नेमा धेरैको जिज्ञासा छ ।

भाद्र १९, २०८२

विमल खतिवडा

What you should know

काठमाडौँ — दैलेखको भैरवी गाउँपालिका–१ मा भेटिएको प्राकृतिक ग्यासको नमुनाको विस्तृत प्रतिवेदन (रिपोर्ट) डिसेम्बरसम्म आइपुग्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम् प्रवक्ता जितेन्द्र बस्नेतले पहिलो चरणमा ड्रिलिङ गरेर निकालेको नमुना चिनियाँ प्राविधिकहरूले लिएर गएको बताउँदै परीक्षणको रिपोर्ट आएपछि मात्रै दोस्रो चरणको काम हुने बताए ।

खानी तथा भूगर्भ र चाइना जियोलजिकल सर्भेले गरेको अन्वेषण र चीनकै शिबु ड्रिलिङ इन्जिनियरिङले गरेको अध्ययनपछि तयार पारिएको  प्रारम्भिक प्रतिवेदनमा यहाँ १ सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको छ । चिनियाँ टोलीले दिएको प्रारम्भिक प्रतिवेदनअनुसार नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको अनुमान छ । 

प्रवक्ता बस्नेतले परीक्षण उत्पादन भएपछि कुन मोडालिटी (ढाँचा) मा सञ्चालन गर्ने भन्ने सन्दर्भमा सरकारले छलफल अघि बढाएको बताउँदै यसबारे थप बुझ्नकै लागि आयल निगमका निर्देशकको संयोजकत्वमा चार सदस्यीय समितिसमेत गठन गरिएको र यसले स्थलगत अध्ययनसमेत सकेको बताए । 

धेरैको जिज्ञासा नभने सरकारले ग्यास उत्पादन कसरी गर्छ र यसको वितरण कसरी गर्छ भन्नेमा छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम् प्रवक्ता जितेन्द्र बस्नेतले सरकारले परीक्षण उत्पादनका लागि चीनसँग गरेको सरकार–सरकार (जीटूजी) कै मोडालिटीबाट प्रक्रिया अघि बढाइरहेको बताए ।

उनले भने, 'प्रारम्भिक रिपोर्टअनुसार काम थालेको तीन महिनामै परीक्षण उत्पादन गर्न सकिने रैछ । व्यावसायिक उत्पादनमा जान धेरै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।' उनले सिधै ग्यास वितरण गर्ने भए भण्डारण र पाइपलाइनको कुरा आउने बताउँदै कसरी उत्पादन र वितरण गर्ने भन्ने कुरामा अध्ययन भइरहेको र यो काम सरकारले गर्ने कि निजी क्षेत्रबाट गर्ने भन्नेबारे यकिन भइनसकेको बताए । 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully