कमजोर पटकथामा अल्झिएको 'माग्ने राजा'

कुबेर शर्माको जीवनको आरोह-अवरोह चित्रण गर्ने 'माग्ने राजा'मा पटकथाको कमजोरीले दर्शकलाई आकर्षित गर्न असफल भएको छ।

भाद्र १२, २०८२

रीना मोक्तान

What you should know

काठमाडौँ — तपाईंसँग यस्तो पक्कै भा होला ! जस्तै, तपाईं कुनै कथा सुनाउन बस्नुभा’छ  । तर, चरित्र, अरु घटनाबारे भन्दै जाँदा,  कथाचाहिँ के विषयमा थियो भन्ने नै बिर्सनुहुन्छ । अथवा भनौं तपाईं मूल कथालाई छाडेर अन्तै बहकिनुहुन्छ । त्यसपछि कम्ता गाह्रो हुन्न, कथा सक्न ! हलमा चलिरहेको 'माग्ने राजा' मा भएको यही हो । 

'माग्ने राजा'को कथा सामान्य पात्र कुबेर शर्माको हो । कुबेर शर्मा बनेका छन्, कलाकार केदार प्रसाद घिमिरे, 'उर्फ माग्ने' । भारी ऋणमा डुबेको माग्नेको जीवनमा, भाग्ने बाहेक अरु काम छैन । बाउ-बाजेले खाएको ऋण माग्दै, गाउँले घरको दैलो टेक्न आइपुग्छन्, अनि माग्ने कुलेलाम ठोक्छन् ।

पैसाले भरिएको ठूलो सुटकेसबाट बाक्लो बिटो निकाल्दै ऋण चुक्दा गर्नु त माग्नेको दिवास्वप्न मात्रै हो । विपनामा त माग्ने, भाग्ने काम मात्रै गरिरहन्छन् । यसरी नै भाग्ने क्रममा एकदिन माग्नेको हात लाग्छ - गाडधन । अब गाडधनले माग्नेको जीवनमा कस्ता परिवर्तन ल्याउलान् त ? ऋषि लामिछानेको निर्देशनमा बनेको फिल्म 'माग्ने राजा', धनी बन्ने सपना बुनेका यही कुबेर पात्रको धनी हुने र त्यसपछिको कथा हो । 

खासमा फिल्मको कथासार निकै रोचक छ, ऋणमा डुबेको व्यक्ति अचानक धनी बन्ने ।  आहा ! सबै गरिब यसरी नै धनी भइदिए ? क्या गजब्ब हुन्थ्यो । तर, वास्तविकता कहाँ त्यस्तो हुनु ?

तर, फिल्ममा त्यस्तो शक्ति हुन्छ, जहाँ एउटा यस्तो संसार निर्माण गरिन्छ त्यहाँका पात्र, घट्ना हामीलाई वास्तविक लाग्छन् । तर, पटकथा नै कमजोर बनिदियो भने त्यही संसारमाथि विश्वास गर्न हम्मेहम्मे पर्छ । माग्ने राजाको समस्या पनि त्यही हो । पटकथा नै कमजोर हुँदा 'माग्ने राजा'को जीवनमा आउने आरोह-अवरोह त्यति विश्वासिलो लाग्दैन ।

जस्तै, गाउँ हुँदा माग्नेले गर्ने दु:ख, आमासँगको सम्बन्ध सुन्दर ढंगले कथामा बग्छ । जसै, माग्ने सहर पस्छ, तब कथामा द्वन्द्व सिर्जना गर्न जबरजस्त मेयर धनबहादुर(शिशिर वाङ्देल)लाई फिल्ममा घुसाइन्छ । मेयरको चरित्र स्थापनामै चुकेको छ, माग्ने राजा ।

अब मेयर आएपछि राजनीति जोडिने नै भयो । चरित्र स्थापनामा ध्यान पुर्‍याउन नस्कदा, कथामा द्वन्द्व चाहिएपछि मात्रै यो पात्र फिल्ममा टुप्लुक्क देखिन्छ । फेरि यो चरित्र खासै नौलो पनि छैन । धनबहादुर कान्तिपुरको मेयर । मेयर भन्नेबित्तिकै सामाजिक सञ्जाल फेसबुक, डोजर कान्ड जोडिदिनु क्लिसे देखिन्छ ! कथा वाचनले यो चरित्रलाई कथामा घोल्न जानिएको भए, क्लिसे लाग्ने विषय पनि बलियो व्यंग्य बन्ने थियो । 

फिल्ममा अन्य घटनाक्रम पनि मेयर धनबहादुर जसरी नै जबर्जस्ती जोडिएको भान हुन्छ । जस्तै, सम्पत्ति शुद्धीकरण, सूचना दिएको केहीबेरमै कान्तिपुरका मेयरले माग्नेको आलिसान घर भत्काएदिएको घट्ना,  सहकारीदेखि मिटरब्याज पीडित अनि चुनावको तामझाम/जालझेललगायतका उपकथाहरूले माग्ने राजाको कथालाई अगाडि बढाउनुको साटो, त्यसै पट्यारलाग्दो बनाइदिन्छ । पटकथाले यी विषयलाई बुन्न नजाँन्दा दर्शक फिल्ममा बाँधिदैनन् ।

रमाइलो त,  मेयर धनबहादुर र माग्नेबीच टसल देखाइरहँदा बीच्चमा एकपटक आर्यन सिग्देलको चरित्र देखाइन्छ । तर, लामो समयसम्म यो चरित्र फिल्मभरी कतै देखिँदैन । उक्त पात्र फिल्ममा किन, कहाँबाट आए ? पृष्ठभूमि खासै खुल्दैन । त्यतिञ्जेल सहजै अनुमान लगाउन सकिन्छ कि यो पात्रलाई अन्तमा कतै अटाउनका लागि मात्रै बीच्चतिर चुस्स देखाइदिएको हो, जस्तै विपदपछि हुने व्यवस्थापन ! कुबेरको कथा भन्दै जाँदा राजनीति र प्रेमतिर अलमलिएको 'माग्ने राजा'को कथालाई सफल रूपले अवतरण गर्न यो पात्रको प्रयोग भएको छ । यो चरित्रको प्रवेश पनि सहजै अनुमान लगाउन सकिने किसिमले प्रयोग गरिएको छ । 

फिल्मको संवाद पनि खासै पेचिला छैनन् । केही दृश्यमा व्यंग्य मिसिएका डायलग त छन्, तर अधिकांश दृश्यमा पात्रहरुले ठूल्ठूला संवाद मात्रै बोलिरहेका हुन्छन् । पात्रको संसार, घट्ना, संघर्षसँग मिल्दै नमिल्ने संवादको प्रयोग बढी छ, जसले संवादको अतिरञ्जना झल्काइदिन्छ ।

फेरि संवादपिच्छे, 'गडप्प' दोहोर्‍याइरहने अनि माग्ने राजाले आफ्नो परिचय दिँदा सुनाउने वृतान्त पनि झर्को लाग्ने किसिमले दृश्यमा प्रस्तुत भएका छन् । यो फिल्मको सबैभन्दा बिझाउने पक्ष हो, यसमा प्रयोग ध्वनि । फिल्मभरl यति चर्को ध्वनl प्रयोग भएको छ, कि त्यसले कर्कस मात्रै पैदा गरिरहन्छ । खासमा चरित्रको मूडतर्फ यसले डोर्‍याउन सक्दैन । तसर्थ, फिल्मको ध्वनि, कथाको लय र गतिभन्दा धेरै विपरीत सुनिन्छ । 

खासमा यो फिल्मले नेपाली समाजमा व्याप्त वर्गीय खाडल र यसले भूइँमान्छेको जीवनमा पारेको प्रभावलाई मज्जाले देखाउन सक्थ्यो । धनप्रतिको लोभ/लालचको कथालाई पनि सशक्त ढंगले भन्न सक्थ्यो । तर, कमजोर पटकथा, कमजोर निर्देशनले फिल्मलाई 'राइट टु रिजेक्ट' अनि 'राइट टु सेलेक्ट'जस्ता राजनैतिक बहसको दोबाटोमा पुर्‍याएर छोडिदिएको छ ।

हुन त कथालाई कसरी भन्ने अनि कसरी समापन गर्ने ? निर्देशकको निर्णय हो । तर, कथाले डोर्‍याउने बाटो छोडेर 'माग्ने राजा' अन्त-अन्तै मोडिएको छ । विषयवस्तुको सतहीमै अलमलिएको 'माग्ने राजा' हेरेपछि यतिचाहिँ भन्न मिल्छ, फिल्म राजनैतिक बहसको दोबाटोमा होइन, कमजोर पटकथामै अल्झिएको छ !

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully