कहिले सकिन्छ नारायणगढ–बुटवल सडकको काम ?

१ सय १३ किलोमिटर सडकमध्ये अहिलेसम्म १ सय किलोमिटर सडकमात्रै कालोपत्रे भएको छ । जसमा दुईतर्फी कालोपत्र भने ८० किलोमिटर मात्रै भएको छ ।

श्रावण १, २०८२

विमल खतिवडा

What you should know

काठमाडौँ — पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ - बुटवल सडक खण्डको काम थालेको ठ्याक्कै ७ वर्ष पुग्यो । तर यसको निर्माण प्रगति जम्मा ६९ प्रतिशतमात्रै छ । १ सय १३ किलोमिटर सडकमध्ये अहिलेसम्म १ सय किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । जसमा दुईतर्फी कालोपत्र भने ८० किलोमिटर मात्रै भएको छ ।

समयमै काम नसकिँदा यो सडक भएर यात्रा गर्ने हजारौ यात्रुहरु हरेक दिन सास्ती र हैरानी बेहोर्न बाध्य छन् । यो सडकलाई दुई खण्डमा बाढेर ठेक्का गरिएको छ । दुवै खण्डको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो । १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँमा ठेक्का पाएको कम्पनीले कहिलेसम्म काम सक्ने हो सडक विभागकै अधिकारीहरु स्पष्ट भन्न सक्दैनन् । 

पहिलो पटक २०७५ चैतमा  ठेक्का सम्झौता भएअनुसार यसको काम ०७९ साउनभित्र सकिसक्नुपर्ने हो । तर, कोभिड–१९ र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक ०८० साउन ११ गतेसम्मका लागि म्याद थप भएको थियो । तर, उक्त समयभित्र पनि काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्म म्याद थप गरियो, काम सकिएन । पटक–पटक म्याद थपिरहँदा पनि कामले गति लिन सकेन । कामै नसक्ने ठेकेदारलाई सरकारले पटकपटक म्याद थप्ने काम भने गरिरह्यो । तेस्रो पटक ०८२ साउन ८ सम्मका लागि यसको म्याद थपिए पनि समयमै यसको काम सकिनेमा शंकै छ । 

यो वर्ष दाउन्ने खन्ड हिलाम्मे हुने र विनयी खोला पुल भाँचिनाले यात्रुहरुले महिनौंसम्म सास्ती खेपे । अहिले पनि ठूलो वर्षा हुनेबित्तिकै कि त यहाँ लामो जाम हुन्छ कि त सडक नै पुरै अवरुद्ध हुन्छ । विनयी खोलामा पुल बने पनि दाउन्ने खन्डको समस्या अझै उस्तै छ । 

आयोजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक चुँडाराज ढकालका अनुसार अहिले सबैभन्दा बढी समस्या दाउन्ने खण्डमा छ । दाउन्नेमा विश्वकर्मा मन्दिरबाट दुम्किवासतर्फ कल्भर्ट बनाउन गहिरो खाडल खन्दा समस्या भएको उनले बताए । उनले बर्दघाट नजिकै पनि पहिरो खसेर बेला बेलामा समस्या हुने गरेको बताए । 

सडक विभागका अनुसार वर्षाका बेला कालोपत्रको काम नहुने भएकाले समस्याग्रस्त दाउन्नेको दशैभित्र सकिनेछ भने पूरै आयोजनाको काम सकिन अझै एक वर्ष लाग्नेछ । नारायणगढ - बुटवल सडक खण्डको दुर्दसा र यसको प्रगतिबारे इकान्तिपुरले तयार पारेको भिडियो सामाग्री हेर्नुहोस् । 

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully