दस वर्षयता ठप्प श्रीराम सुगर मिल फेरि सञ्चालनमा आउला ?

असार २९, २०८२

शिव पुरी

रौतहट — उखु बेच्न ल्याउने किसानहरुको कलङमलङ । कामदारहरुको भ्याइनभ्याइ । अनि मेसिनहरुको एकोहोरो आवाज । एक दशकअघि रौतहटको गरुडा नगरपालिका–५ स्थित श्रीराम सुगर मिल परिसरको दृश्य यस्तै देखिन्थ्यो । तर अहिले यहाँ पहिलेजस्तो छैन । सुनसान कारखाना परिसर । कामै नलाग्ने भएर झाडीभित्र पुरिएका गाडीहरु । खण्डहर संरचनाहरु । अनि वर्षौंदेखि अलपत्र परेर खिया लागेका मेसिनहरु ।

२०४९ सालमा शिलान्यास भएर ०५१ सालबाट उखु क्रसिङ गर्न थालेको यो उद्योगमा एक समय बारा, पर्सा र रौतहटका सयौं किसानहरु उखु बेच्न आइपुग्थे । जिल्लामा १६ हजार उखु किसानहरुका यो उद्योग हुनुको अर्थ थियो । किनकि स्थानीय उत्पादन यहाँ बिक्री हुने गरेको थियो ।

व्यापारिक घराना गोल्छा समूहको स्वामित्वमा रहेको मिल व्यवस्थापन पक्षले करोडौं घाटामा गएको र बाध्यात्मक परिस्थिति जनाउँदै २०७७ साउन १० देखि मिल बन्द गरेको हो । २६ वर्ष निरन्तर सञ्चालनमा रहेको यो मिल बन्द भएसँगै सिजनल, रेगुलर र करार गरी ३ सय २५ जना कर्मचारी र मजदुरको रोजगारी गुमाए । 

उखु किसान, कर्मचारी र उत्पादित चिनी किन्ने व्यापारीहरुका कारण गुल्जार उद्योग परिसरमा अहिले सन्नाटा बाहेक केही छैन । जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, उखु किसान यो उद्योग फेरि सञ्चालनमा ल्याउनुपर्ने पक्षमा छन् । तर तत्काललाई उद्योग पुन: सञ्चालनको कुनै सम्भावना भने देखिन्न । ‘अहिलेकै अवस्थामा मिल सञ्चालन गर्न सकिँदैन। अब नयाँ प्रविधिमा गएर मात्र सञ्चालन गर्नुपर्छ । त्यसका लागि करोडौं खर्च हुन्छ,’ मिलका प्रतिनिधि रमेश दाहालले भने, ‘तत्कालै सञ्चालन हुने भन्ने केही छैन । तर दायित्वको समस्या हल गर्न सकियो भने निकट भविष्यमा सञ्चालन गरिने योजनामा मालिक छन् । यसका लागि सबै कुरा मिल्नुपर्छ ।’

गत वर्ष मिलको अवस्था बुझ्न संघीय संसद्को श्रम हित उपभोक्ता तथा उद्योग समितिका तत्कालीन सभापति एवम् पूर्वश्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा सरिताकुमारी गिरी, उमाशंकर अरगरियालगायतका पदाधिकारी रौतहट आएका थिए । मधेश प्रदेशका सांसद कृष्ण यादवले आफूहरु हामी अहिले पनि मिल चल्नुपर्छ भन्ने पक्षमा रहेको बताए । उनले भने, ‘किसानका कारणले बन्द भएको होइन । व्यवस्थापनकै कारणले हो । अब सरकारले पनि चाँडै सञ्चालनमा ल्याउन पहल थाल्नुपर्छ ।’

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully