सिस्नेखोला, धादिङ — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माण समयावधि आगामी कात्तिकसम्म भएपनि सुरुङ सञ्चालन भने पुसबाट गर्ने सरकारको तयारी छ । कारण, सुरुङ सञ्चालन गर्ने निकाय ठेक्का प्रक्रियाबाट टुंग्याएपछि सुरुङ सञ्चालनमा आउने छ ।
अहिले ९० प्रतिशत निर्माणको काम सकिइसकेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए ।
अहिले धादिङतर्फ सुरुङको मुख अगाडीको पहाड सुधारको काम भइरहेको छ । काठमाडौंतर्फ भौतिक संरचना निर्माणको काम पनि भइरहेको छ । बलम्बुको किसिपीडिमा सुरुङ मार्ग जानेगरी नेपालकै पहिलो फ्लाईओभर निर्माण गरिएको छ । यसको निर्माणको काम सकिसकेको पन्थीले बताए । उनका अनुसार काठमाडौंबाट सुरुङमार्ग जाने सवारी साधनले फ्लाईओभर प्रयोग गर्ने छन् । धादिङबाट काठमाडौंतर्फ आउने सवारीसाधनका लागि भने फ्लाईओभरको साइडमा छुट्टै सडक बनाइएको छ । त्यस्तै फ्लाईओभरबाट सुरुङमार्गसम्म पुग्ने २ दशमलव ६ किलोमिटरको दुई लेन सडकको निर्माण सकिसकेको छ ।
२०७६ कात्तिक ४ मा निर्माण सुरु भएको सुरुङमार्ग ४२ महिनाभित्र सकिनुपर्ने थियो । तर काम भने ६७ महिना बित्दा पनि सकिसकेको छैन । सुरुमा कोभिड र पछि स्थानीयको अवरोधका कारण आयोजना सम्पन्न गर्न ढिला भएको आयोजनाको दाबी छ । अहिले पटक–पटक स्थानीयको अवरोधले काममा ढिलाइ भएको सडक विभागले जनाएको छ ।
सिस्नेखोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न ३३ र बाहिरिँदा २३ मिनेट समय लाग्ने आयोजनाको भनाइ छ । तर सुरुङमार्ग सञ्चालनमा आएपछि ७ मिनेटमै सिस्नेखोलाबाट बलम्बुको किसिपिडी आइपुगिने आयोजनाले बताएको छ । आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएका छन् । सुरुङभित्र अहिले रंगरोगनको काम अन्तिम चरणमा छ । आतपकालिन सुरुङमार्गको केही खण्डमा फिनिसिङको काम हुँदै छ ।
मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । परियोजनाको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ, जसमा जापानको १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । सुरुङ निर्माणमा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले काम गरिरहेको छ ।