विश्वव्यापी रुपमा ८६ मिलियन भेप प्रयोगकर्ता छन् भने ६ मध्ये १ भेप प्रयोगकर्ता १८ वर्षभन्दा कम उमेर समूहका छन् ।
काठमाडौँ — युवा र किशोर किशोरीहरुको माझ भेप नयाँ र नौलो विषय होइन् । किनकि अहिले विश्वव्यापी रुपमा ८६ मिलियन भेप प्रयोगकर्ता छन् भने ६ मध्ये १ भेप प्रयोगकर्ता १८ वर्षभन्दा कम उमेर समूहका छन् । प्राय: भेप प्रयोगकर्ता भने ३० वर्षभन्दा मुनिको उमेर समूहका छन् ।
थाहै नपाइ भेपको लतमा फस्नेहरुको संख्या संसारभर हरेक दिन बढ्दो छ । इलेक्ट्रोनिक चुरोट (ई–सिगरेट) वा भेप भनेको चुरोट पिएको जस्तो अनुभव दिने यन्त्र हो । यसमा हिटर (एटोमाइजर), ब्याट्री र एउटा ट्यांकजस्तो कन्टेनर हुन्छ । यसले धूवाँको सट्टा बाफ दिन्छ । त्यसैले ई–सिगरेट प्रयोग गर्नुलाई ‘भेपिङ’ भनिन्छ । हिटरले ‘ई–लिक्विड’ नामक तरललाई तताएर बाफ बनाउँछ ।
विभिन्न अध्ययनहरूका अनुसार यो बाफमा प्रायः निकोटिन र फ्लेभर दिने पदार्थ हुन्छ । निकोटिन चुरोट र अन्य टोब्याको उत्पादनमा पाइने, अत्यधिक लत लाग्ने, हानिकारक पदार्थ हो । यसमा प्रोपेलिन ग्लाइकोल र ग्लिसेरिन हुन्छ, जुन बाफ बनाउन प्रयोग गरिन्छ । त्यस्तै कति भेपमा थोरै मात्रा क्यान्सर गराउने (कार्सिनोजेनिक) रसायनहरू, जस्तैः एसिटालडिहाइड र फर्मालडिहाइड हुन्छ । फोक्सो रोग गराउने र गहिरो असर पुर्याउने रसायनहरू, एक्रोलिन, डायसिटाइल र डायइथिलीन ग्लाइकोल जस्ता रसायन हुन्छ । मारियोनामा पाइने टीएचसी जस्ता कुराहरू पनि भेपमा हुन्छ, जसले नशा गराउँछ ।
काठमाडौंमा सन् २०२२ को अप्रिलदेखि डिसेम्बरसम्म ४ सय स्नातक तहका विद्यार्थीमाझ भेपको प्रयोगलाई लिएर एउटा अध्ययन गरिएको थियो । नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित उक्त रिपोर्टका अनुसार २१.२ प्रतिशत विद्यार्थीले भेप एक न एक पटक प्रयोग गरेका छन् । त्यस्तै ५.९ प्रतिशतले सक्रिय रूपमा भेपको प्रयोग गर्ने गरेको पाइएको थियो । उक्त अध्ययनका क्रममा ती विद्यार्थीहरूको भेपप्रतिको धारणा पनि सोधिएको थियो । जसमा ३४.८ प्रतिशतले भेपले चुरोटको लत छुटाउन सक्ने अनुमान गरेका थिए । त्यस्तै ६४.७ प्रतिशतले भेप चुरोटभन्दा कम हानिकारक हुने धारणा राख्ने गरेको पाइएको थियो ।
बीबीसीले सन् २०२२ मा प्रकाशित गरेको एक लेखका अनुसार भेप पहिलो पटक व्यावसायिक रूपमा चुरोटको लत छोड्नकै लागि बजारमा आएको थियो । यद्यपि भेपले चुरोट छोड्न मद्यत गर्छ भन्नु भ्रम मात्र भएको विज्ञहरुको भनाइ छ ।
तुलनात्मक रूपमा हेर्ने हो भने भेपमा कम निकोटिन भएकाले राम्रो हो भन्ने तर्क आउने गरेका छन् । तर भेपमा पनि निकोटिन हुन्छ र हानी गर्छ । यसरी एउटा डिपेन्डेन्सबाट अर्कोमा स्विच मात्र हुन्छ ।
कुनै पनि अन्य लागुपदार्थले जस्तै भेपको प्रयोगले पनि एन्जाइटी बढाउँछ । एकपटक कुनै कुरामा एडिक्ट भएपछि जे गर्न पनि त्यसमै भर पर्नुपर्ने हुन्छ । अलिकति नकारात्मक अनुभूति हुनेबित्तिकै त्योसँग डिल गर्ने नभइ लत लागेको कुराको प्रयोग गर्ने बानी पर्छ । दुःख, रिस, खुसी जे महसुस गर्दा पनि पदार्थ प्रयोग बढ्छ । एन्जाइटी पनि बढाउँछ । यसमा सबैभन्दा सहज भेपको प्रयोग हुन्छ । त्यसैले यसको प्रयोग बढेको हो ।
भेपलाई सामाजिक रूपमा पनि स्विकार गरिएकाले पनि यसको प्रयोग बढेको हो । यसले हानी गर्दैन भन्ने बुझाइ भएकाले, समाजमा खुल्लमखुला पनि प्रयोग गरिएको छ । यसैबाट किशोरकिशोरीहरूले नै सिकिरहेका छन्, ख्यालठट्टामा पफ तान्ने गर्दागर्दै लत पनि बस्छ । भेप किन र कसरी स्वाथ्यका निम्ती हानिकार छ भनेर इकान्तिपुरले तयार पारेको भिडियो सामग्री हेर्नुहोस् ।