चिडियाखानामा अहिले स्तनधारी, चराचुरुंगी गरेर विभिन्न प्रजातीका १४ सय जनावर छन् । यी जनावरहरूका लागि दाना र आहारामा वार्षिक ३ करोड रुपैयाँ खर्च भइरहेको छ ।
काठमाडौँ — अरु बेला पाँचै बजे बन्द हुने जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्षपछि साँझ ७ बजेसम्म खुल्न थालेको छ । वैशाख १० मा श्रीमान् र छोरासहित नयाँदिल्लीबाट काठमाडौं आइपुगेका भारतीय पर्यटक मिशिका रिजवानीले एक साँझ छोरासँग चिडियाखाना घुम्ने मेसो मिलाइन् । हरियाली र शान्त वातावरणमा चिडियाखाना घुम्दाको क्षण बताउँदै उनले भनिन्, ‘यहाँ निकै शान्त छ । हरियाली पनि छ । भिड छैन ।’
सधैं बिहान १० देखि साँझ पाँच बजेसम्म खुल्ने चिडिखाना साँझ अबेरसम्म खुल्ने भएपछि चिडियाखाना घुम्न आउने पर्यटक बढेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव नरेश सुवेदीले सन्ध्याकालिन समयमा चिडियाखाना आउँदा रातमा सक्रिय हुने जनावरको अवलोकन गर्न पाईने बताए । भने, ‘दिनभर काम गरेर थोरै समय परिवारलाई दिन र घुमघामसहित रमाइलो गर्न सन्ध्याकालिन समयमा चिडियाखाना खुला गरिएको हो ।’ शनिबार चिडिखानामा भिड हुने र शान्त वातावरणमा घुम्न मन पराउनेका लागि साँझको समय उपयुक्त हुने उनले बताए ।
सुदुरपश्चिमका कृष्ण ऐर अहिले प्रदेश लोक सेवाको परिक्षा दिन काठमाडौं आएका छन् । साँझमा उनी पनि टहलिदै चिडियाखाना आईपुगेका थिए । भने, ‘साँझमा घुम्दा बेग्लै रमाईलो हुने रहेछ ।’
सदस्य सचिव सुवेदीका अनुसार रातमा सक्रिय हुने निशाचर प्रजातीको आनीबानी साँझ भएपछि झनै सक्रिय हुने बताए । भने, ‘बाघ र बिरालो प्रजातीहरु साँझ बढी सक्रिय हुन्छन् ।’ उनले अहिले परिक्षणका लागि सन्ध्याकालिन समयमा चिडिखाना खुलाइएको बताए । चिडियाखाना व्यवस्थापनले अहिले सानो इलेक्ट्रिक भेहिकलमा बसेर घुम्ने प्याकेज नि ल्याउने तयारी गर्दैछ । सुवेदीले भने, ‘यसरी घुम्नेहरुलाई टुर गाईडले सबै कुरा बताउनेछन् ।’
चिडियाखानाका प्रमुख सत्यनारायण शाहले सामान्य दिनमा करिब २५ सयदेखि ३ हजार जना चिडियाखाना घुम्न आउने गरेको बताए । उनले सन्ध्याकालिन समयमा पनि चिडीयाखाना खुलेसँगै घुम्न आउनेको संख्या बढेको बताए । भने, ‘प्रत्येक साँझ सय जनाको हाराहारीमा अवलोकनकर्ता आएका छन् । हामीलाई यसले उत्साहित गरेको छ ।’
चिडियाखानामा अहिले स्तनधारी, चराचुरुंगी गरेर विभिन्न प्रजातीका १४ सय जनावर छन् । यी जनावरहरूका लागि दाना र आहारामा वार्षिक ३ करोड रुपैयाँ खर्च भईरहेको छ । प्रमुख शाहले चिडियाखाना घुम्न आउनेहरुबाटै सबै खर्च पुगीरहेको बताए । भने, ‘टिकटबाट मात्रै वार्षिक रूपमा हामीले १२ देखि १३ करोड रुपैयाँ आम्दानी हुन्छ ।’
चिडीयाखानामा अहिले ७५ जना कर्मचारी छन् । यिनै कर्मचारीबाटै बिहान र दिउँसोको ८–८ घन्टाको समय बाढेर कर्मचारी व्यवस्थापन गरिएको कोषका सदस्य सचिव सुवेदीले बताए । ‘यसका लागि कुनै खर्च बढेको छैन,’ उनले भने, ‘हामीले भएकै कर्मचारीको समय मिलाएका हौं ।’