सगरमाथा आधारशिविरको ७ घन्टाको बाटो ड्रोनले ६ मिनेटमा झार्‍यो

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — सगरमाथा आधार शिविर रहेको ५२ सय मिटर उचाईदेखि ६ हजार मिटर उचाईसम्मको बाटो हिँडेर ७ घन्टासम्म लाग्छ । आरोही तथा उनीहरुका सहयोगीहरुलाई भारी बोकेर हिँड्न निकै कठिनाई हुने यो बाटोलाई अब अत्याधुनिक डेलिभरी ड्रोनले ५ देखि ६ मिनेटको हवाई दूरीमा झारीदिएको छ ।

पहिलो शिविरसम्म आरोहीहरुका सामान ओसार्न ड्रोन उपयोगी सावित भएको छ । गत वर्ष काठमाडौंको एयरलिफ्ट टेक्नोलोजीले सामान ढुवानी गर्ने डीजेआईको फ्लाईकार्ट–३० ड्रोन सगरमाथा क्षेत्रमा उडाएको थियो ।  

‘गत वर्षको वसन्तकालीन सगरमाथा आरोहण सिजनमा हामीले ६ हजार मिटर उचाईसम्म ड्रोन उडाउन सफल भयौं’, नेपाल ड्रोन एशोसिएसनका अध्यक्षसमेत रहेका एयरलिफ्टका संचालक राजविक्रम महर्जनले कान्तिपुरसँग भने,‘५२ सय मिटर उचाईको सगरमाथा आधार शिविरदेखि आरोहीहरुको पहिलो शिविरसम्म सामान ढुवानी गर्न सक्यौं ।’  

एरोनटीकल इन्जिनियरसमेत रहेका महर्जनले त्यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका र सगरमाथा पोलुसन कन्ट्रोल कमिटी (एसपीसीसी) सँगको सहकार्यमा पहिलोपटक सगरमाथा क्षेत्रमा सामान ढुवानी गर्ने ड्रोन प्रयोगमा ल्याएको थियो ।

‘गत वर्ष २ सय ५० किलोग्राम फोहोर आधार शिविरमा झार्‍यौं । भरियाले ६–७ घन्टा हिँड्नुपर्ने खुम्बु आइसफल क्षेत्रको बाटोमा ड्रोनले ६ मिनेटमै सामान ओसार्‍यो ।’ त्यस्तै आधार शिविरबाट करिब ५० किलोग्राम बोतल अक्सिजन, डोरी, भर्‍याङ ड्रोनले बोकेर पहिलो शिविरमा पुर्‍याएको थियो । नेपाल ड्रोन एशोसिएसनका अध्यक्ष महर्जन यसपालीको आरोहण सिजनका लागि बिहीबार सगरमाथा क्षेत्र जाँदैछन् । त्यहाँ डीजेआईको फ्लाईकार्ट–३० ड्रोनले सामान ओसार्ने छ । उनका अनुसार, यो ड्रोनको मूल्य नेपालमा १ करोड हाराहारी पर्छ । यस्लाई चार्ज गर्न तीन घन्टा लाग्छ । एयरलिफ्ट टेक्नोलोजीले त्यहा इन्धनबाट संचालन हुने जेनेरेटरबाट ड्रोनमा प्रयोग हुने ब्याट्री चार्ज गर्ने गरेको छ ।

नेपाल सरकारले ड्रोनलाई चार किसिममा वर्गिकरण गरेको छ । यो सबैभन्दा ठूलो मध्यको हो । सगरमाथा क्षेत्रमा ६ हजार मिटर भन्दामाथि यो ड्रोन उड्दैन । महर्जनले सगरमाथामा भइरहेको ड्रोनको प्रयोग लगायतका विषयमा कान्तिपुरसँग भिडियो कुराकानीमा विस्तृतमा बताएका छन् । 

कान्तिपुर

Link copied successfully